Search

दोलखा कांग्रेसका युवा नेता काफ्ले मन्त्री बनेपछि कांग्रेसमा उर्जा

दोलखा कांग्रेसका युवा नेता काफ्ले मन्त्री बनेपछि कांग्रेसमा उर्जा

नेपाल सम्वत् ११४४, गुँलाथ्व, तृतिया (२३ साउन, २०८१), बुधबार, बाँपीझ्याला, दोलखा । काँग्रेसका दिवंगत नेता भिम बहादुर तामाङ मन्त्री बनेको करिब ३० वर्षपछि दोलखा काँग्रेस पार्टीका युवा नेता केन्द्रिय सदस्य काफ्ले बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि दोलखा कांग्रेसमा उत्साह छाएको छ ।

कम्युनिष्टको लाल किल्ला मानिने दोलखा जिल्लामा नेपाली कांग्रेस र माओवादीको गठबन्धनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका काफ्ले मन्त्री मात्रै बनेनन्, मुख्यमन्त्री पछि सबैभन्दा आकर्षक मानिने आर्थिक मामिला तथा योजना मन्त्रालयकै जिम्मेवारी पाएका छन् ।

प्रदेशको आर्थिक मामिला मन्त्री बने लगत्तै आइतबार गृहजिल्ला दोलखा आएका काफ्लेलाई नेपाली कांग्रेसका नेता–कार्यकर्ताले सदरमुकाम चरिकोटमा बाजागाजा सहित स्वागत गरी बजार परिक्रमा गराएका थिए ।

दोलखा जिल्ला पार्टी नेपाली कांग्रेसले पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको थियो । मन्त्री काफ्ले सोमबार विहान चरिकोट कारागार पुगेर त्यहाँ रहेका कैदी र थुनुवालाई भेटघाट पनि गरेका छन् । काफ्ले एकाएक कारागार पुगेर थुनुवा र कैदी भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

दोलखा जिल्ला प्रदेशसभा ‘क’ बाट निर्वाचित भएका कांग्रेस युवा नेता काफ्ले मन्त्री बनेपछि मतदाता र पार्टीका नेता तथा कार्यकर्तालाई भेट गर्न दोलखा आएका थिए । आइतबार दोलखा आएका काफ्लेको स्वागत र सम्मानमा जिल्लाका विभिन्न पालिकामा छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरिएको थियो ।

काफ्लेको गृहपालिका तामाकोशी गाउँपालिकाले उनको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । जिल्ला आएलगत्तै नेपाली कांग्रेस दोलखाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका मन्त्री काफ्ले सोमबार तामाकोशी र बैतेश्वर गाउँपालिका हुँदै जिरी पुगेका थिए ।

यसै गरी तामाकोशी गाउँपालिकाले नै बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरेको थियो । गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसी र उपाध्यक्ष सृजना खड्का सुवेदी लगायतले स्वागत गरेका थिए ।

तामाकोशीमा भव्य स्वागतपछि नाम्दु हुँदै बैतेश्वर प्रवेश गरेका काफ्लेले मिर्गेसम्म पुगेर मतदाता र पार्टीका नेता–कार्यकर्तासँग नाचगानमा सम्मीलित भएका थिए । बैतेश्वरको नाम्दु र मिर्गेमा पनि उनलाई कांग्रेस नेता–कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए । पालिकामा पनि उनलाई अध्यक्ष छवि लामा र उपाध्यक्ष कल्पना उप्रेती लगायतका जनप्रतिनिधिले स्वागत गरेका थिए ।

बैतेश्वर हुँदै जिरी आएका मन्त्री काफ्लेलाई जिरीमा नगरपालिका र कांग्रेस जिरी नगरसमितिले स्वागत तथा शुभकामना प्रदान गरेका छन् । जिरी नगरपालिका–१ पुम्पामा कांग्रेसले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहभागी भएर उनी जिरी नगरपालिकाको कार्यालय पुगेर फर्किएका थिए । जिरी नगरपालिकामा नगरप्रमुख मित्र बहादुर जिरेल र उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का लगायतले मन्त्रीको स्वागत गरेका थिए ।

स्वागत र सम्मानमा आयोजित कार्यक्रमहरुलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले निर्वाचनको बेला आफुले गरेको बाचा र प्रतिवद्धता पूरा गर्न सक्रियताका साथ लाग्ने समेत बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!