नेपाल सम्वत् ११४४, दिल्लागाः पञ्चमी, (२०८१ साउन ११) शुक्रवार, बाँपीझ्याला, दोलखा । प्रसिद्ध दोलखा भीमेश्वरमा पसिना आएपछि शुक्रबार क्षमा पूजा गरिएको हो । २०८१ साल साउन ५ गते भीमेश्वरको शिलामा शनिबार दिउँसो १ः४७ बाट पसिना आउन सुरु भएर ३ः५१ मा रोकिएको थियो । लगतै ३ः५१ पछि एकैछिन रोकिएर फेरि आउन सुरु गरेको पसिना ४ः१५ मा रोकिएको थियो । यसै गरी एक हप्ता नपुग्दै २०८१ साल साउन ९ गते बुधबार पनि दिउँसो १२ः४५ देखि ३ः१५ सम्म पसिना आएको थियो ।

यसरी दोलखा भीमेश्वरमा एक हप्ताभित्र नै तीन पटक पसिना आएपछि संकट टार्नका लागि आज शुक्रबार राष्ट्रपति कार्यालयबाट पठाएको कालो बोका र पूजा सामग्रीसहित क्षमा पूजा गरिएको छ । भीमेश्वरको पसिना पुछिएको कपास “महाप्रसाद” का रूपमा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति कार्यालय पठाएपछि राष्ट्रपति कार्यालयबाट क्षमा पूजा पठाउने चलन रहेको छ ।
यसै गरी राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्री र जनताको तर्फबाट भीमेश्वरमा शुक्रबार बिहान ८ः३० बजेबाट क्षमा पूजा गरिएको थियो । सरकारका तर्फबाट राष्ट्रपति कार्यालयबाट उपसचिव, प्रमुख जिल्ला अधिकारी, जनताकातर्फबाट भीमेश्वर नगरपालीकाका प्रमुख ईस्वरनारायण मानन्धर, वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष नविनकुमार लामा, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा नागरिकहरूको प्रतिनिधीहरुबाट क्षमा पूजा गरिएको हो । शुक्रवार विहान राष्ट्रपती कार्यालयबाट दुईवटा कालोबोका र पूजा सामग्रीसहित जिल्ला प्रशासन कार्यालय दोलखा मार्फत पूजाका लागि पू¥याईएको थियो ।

साउन ५ गते शनिबार सुरुमा शिलाको बायातर्फबाट पसिना आउन सुरु गरेकोमा पछि शिलाको बीचबाट पसिना आएको थियो भने बुधबार सबैतिरबाट पसिना आएको थियो भनी गुठी व्यवस्थापनका सचिव राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो । भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुखलाई असर गर्ने र बायाँ पट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहँदै आएको छ ।

शिलामा पसिना आउँदा शुभ या अशुभ दुवै खाले प्रभाव पर्न सक्ने मन्दिर गुठी व्यवस्थापन समितिका सचिव श्रेष्ठको भनाइ छ । भीमेश्वरको पसिना पुछिएको कपास ‘महाप्रसाद’ राष्ट्रपति कार्यालयमा गत आइतबार जिल्ला प्रशासन कार्यालयका प्रशासकिय प्रमुख विकल श्रेष्ठको नेतृत्वमा भीमेश्वर मन्दिर व्यवस्थापन समितिका पदाधिकारीसहित १० जना राष्ट्रपति कार्यालयमा पुगेका थिए ।
यसै गरी क्षमा पूजा गरेको महाप्रसाद भोली शनिवार राष्ट्रपती कार्यालय शितल निवासमा पू¥याउन जाने तयारी रहेको छ भनी गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो ।