११४४ दिल्लाथ्वः १५, आइतबार (०६ साउन ,२०८१ ) बाँपीझ्याला, काठमाण्डौँ । राष्ट्रिय महिला भलिबल टोलीले रुसी टोलीसँग आइतबार र सोमबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा दुई मैत्रीपूर्ण म्याच खेल्ने भएको छ । नेपालको रुसी महिला भलिबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलबारे शनिबार जानकारी गराइँदै । तस्बिर : ग्राफिक्स आर्टस
साउन १७ देखि काठमाडौंमा हुने काभा नेसन्स लिग तयारीका लागि नेपालले यो मैत्रीपूर्ण म्याच खेल्न लागेको हो । काभा लिगमा भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउने तय भएको नेपाल भलिबल संघले जनाएको छ । नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल हुन लागेको हो ।
उक्त खेलका लागि नेपालले १४ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिसकेको छ । टोलीमा अरुणा शाही (कप्तान), सरस्वती चौधरी, सलिना श्रेष्ठ, साफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी छन् । प्रशिक्षकमा जगदीश भट्ट, सहायक प्रशिक्षकमा भरत यादव र रुपेश विष्ट छन् । कप्तान अरुणाले काभा नेसन्स लिगका लागि रसियन टोलीसँगको मैत्रीपूर्ण खेलले राम्रो तयारी हुने बताएकी छन् ।