नेपाल सम्वत् ११४४, दिलाथ्व, १२, द्वादशी (३ श्रावण, २०८१) बाँपिझ्याला । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट विभाजित भएको समूहले नयाँ पार्टी गठन गर्ने भएका छन् । धर्मेन्द्र बास्तोलाको नेतृत्वमा अलग भएको समूहले ‘वैज्ञानिक समाजवादी पार्टी’ गठन गर्ने जनाएको छ ।
संयोजक मोहन वैद्य किरणसँग वैचारिक, सैद्धान्तिक र साङ्गठनिक मतभेद भएपछि मंगलबार पार्टीबाट अलग भएको बास्तोलाले घोषणा गरेका थिए । अब पार्टीमा नफर्किने भन्दै नयाँ वैज्ञानिक समाजवादी पार्टी निर्माणमा लाग्ने उनले बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा जान लागिएको चर्चा भएपनि त्यो हल्ला मात्र भएको उनको भनाइ छ ।
उनले भने, ‘वैज्ञानिक समाजवादी पार्टी निर्माण अहिलेको आवश्यकता हो । क्रान्तिकारी पार्टीसँग वैचारिक, सैद्धान्तिक र सांगठानिक रूपमा थुप्रै मतभेद रहे । फेरि पार्टीमा फर्किने भन्ने हुँदैन । नयाँ पार्टी निर्माण लाग्नेछौँ ।’ उनले एकता प्रक्रियामा जोडिएका नेकपा बहुमतको सिँगै टिम अलग्गिएको बताउँदै भने, ‘विप्लवको पार्टीमा जाने भन्ने कुरा वाहियाते हल्ला मात्र हो ।’
बुधबार मात्र संयोजक वैद्याले निर्णय पत्र फिर्ता लिन आग्रह गरेका थिए । तर उनको आग्रह सकारात्मक भएपनि महाधिवेशनमा आफू सहभागी नहुने बताएका थिए ।
