नेपाल सम्वत् ११४४ दिल्लाथ्वः २ द्वितिया, (२३ असार, २०८१) आइतबार, बाँपिझ्याला । दुई दिनदेखिको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार पानीको बहाव अत्यधिक बढेकाले आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको हो ।
प्रतिसेकेन्ड नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्यूसेक पानी बगिरहेको भण्डारीले जानकारी दिए ।
आइतबार बिहान ६ बजे पानीको बहाव तीन लाख ४२ हजार क्युसेक रहेको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाव बढेसागै निरन्तर अनुगमन गरिरहेको बताए ।
आफूहरूको पूरै ध्यान अहिले बाढी पहिरोमा केन्द्रित रहेकाले भारतीय पक्षसाग पनि समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो । पानीको बहाव अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सूचित गरेको छ ।