नेपाल सम्वत् ११४४, दिलाथ्व १, प्रतिप्रदा (२२ असार, २०८१) शनिवार, बाँपिझ्याला । आज रातीदेखि भएको भारी वर्षासँगै तामाकोशी नदीमा आएको बाढीपहिरोले दोलखाको उत्तरी क्षेत्रमा व्यापक क्षति भएको छ ।
बाढीमा परि गौरीशंकर गाउँपालिका–९ डोगाङमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी एक महिला बेपत्ता भएकी छन् । अन्दाजी ६० वर्षीय जाङमु शेर्पा सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् ।
गौरीशंकर गाउँपालिका ९ स्थित छ्योतछ्योत सिमीगाउँ रोल्वालिङ छ्योरोल्पा पदमार्गस्थित सञ्चालनमा रहेको तीन वटा होटल पुरेको थियो । तामाकोशी नदीमा आएको बाढी र पहिरोले लामाबगरको छ्योतछ्योछमा पनि क्षति गरेको छ ।
लामाबगरको सिस्नेरीमा रहेको चाइनिज बेस क्याम्पमा क्षति पुर्याएको छ भने जगतमा सडक कटान भएपछि आवाताजावतमा समस्या भएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको टेलरेस रहेको क्षेत्रमा पनि बाढीले कटान गरेको छ । अहिले घटनास्थलमा गोँगरबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक विक्रम लामाले बताउनु भयो ।
