Search

रोजगारी श्रृजना : दोलखा घरेलु उद्योग

रोजगारी श्रृजना : दोलखा घरेलु उद्योग

प्रा.डा. श्याम जोशी
दोलखाको घरेलु उद्योग २०१३ सालमा राजा महेन्द्रको सवारीको बेला मागेर स्थापना गरिएको थियो । मलाई राम्ररी याद छ त्यसबेला राजाको सवारी देखाउनको लागि मुमाले मलाइ बोकेर पाखलती लग्नु भएको थियो । त्यो दिन देखि मलाई जिउ भरी खटेरा आएर बिरामी भएको र जोगिन देउ लागेर बिरामी भएको भनेर पुजाआजा गर्नुको अतिरिक्त जोगिन देउ संग मित पनि लाईदिएको भन्थे । त्यो बेला मेरो कान्छी बजैले झारपातको झोल लगाएर मलाई निको पार्नु भएको थियो । घरेलु स्थापना भएपछी पहिला पाखलतिमा मेरै जेठा मामा शेरबहादुर श्रेष्ठको घरमा राखेको थियो जस्तो लाग्छ । म १÷२ पटक त्यहाँ गएको छु । पछि मात्र हालको जग्गा मिले पछि आफ्नै भवनमा सरेको हो । यहाँ सरे पछी घरेलुको काम पनि निकै बिस्तार भएको थियो ।

उसबेला २०१९÷२० साल तिर घरेलुमा सिलाइ, बुनाइ, सिकर्मी, नकर्मी, रङ्गाई आदिको तालिम दिइन्थ्यो । दोलखाका धेरै युबाहरुले (युवायुवतीे) तालिमको बहानाले भए पनि त्यहाँ काम पाएका थिए । कतिले त पछि घरेलुको सिकर्मी, सिलाइ, बुनाइको शिक्षक भएर देशका विभिन्न भागमा पुगेर आफ्नो जीवन गुजारा मात्र नगरेर अहिले पनि निबृतिभरण खाइरहेका छन ।

तालिम बापत शायद रु. १५ मासिक भत्ता पाउंथे जस्तो लाग्छ । त्यो जमानामा ५ पैसा, १० पैसा, सुका, मोहरको किनबेच हुने भएकोले त्यो ठुलै रकम मानिन्थ्यो । घरेलुको प्रशिक्षार्थीको रुपमा पाएको भत्ता बाट एकपटक मेरी दिदिले एक रुपैयाँ दिदा म कति फुर्केको थिए झलझल याद आउंछ । घरेलुका दोलखा बाहिर बाट आएका शिक्षकहरु र घरेलुमा तालिम लिन बाहिर बाट आएकाहरु दोलखामा डेरा लिएर बसेर किनमेल गरेर खान्थे । यसरी दोलखाको अर्थतन्त्र घरेलुले गर्दा निकै चलायमान थियो । दोलखाको “डाउन टाउन” जस्तो मुख्य बजार निकै गुल्जार हुन्थ्यो । घरेलुले शायद २०२० सालको चैते दसैंमा तल्लो टोलको पोखरी लाई चारै तिर बारेर दोलखामा पहिलो पटक प्रदर्शनी चलाएर यसका उत्पादनहरुको प्रदर्शन गरेको थियो ।

दोलखामा कुनै सरकारी कार्यालय नभएकोले ड़ाडाथोकमा डेरा गरिबसेका घरेलुको हाकिम सुब्बा साबको ठुलो मान मर्यादा थियो । बिकास निर्माणको काम गर्दा उन्को सल्लाह लिने गर्थे । उन्को श्रीमती समेतको ठुलो इज्जत थियो र तालिमे केटीहरुले सित्तैमा धान, चिउरा कुटि दिन्थे । धेरै पछि आएका केशव घिमिरे त स्कुलमा संचालक समितिको सदस्य समेत थिए र मेरो उहाँ संग राम्रो सम्बन्ध थियो । पछि उहाँ दोलखा मा नै प्रमुख जिल्ला अधिकारी भएर आउँदा मेरो छोराछोरी ले नागरिकता लिन जाँदा अचम्म मान्दै “श्यामजिको छोराछोरी हो ?” भनेर सोध्नु भएको थियो रे ।

दोलखामा घरेलुमा तालिम लिएका थुप्रै जनशक्ति भएकोले नै म द्वाल्खा गुठिको महासचिव हुँदा इ. ज्ञानेन्द्र राजभण्डारी तथा हाल अमेरिका निबासी गुठिकै सदस्य मित्र मोहन कृष्ण श्रेष्ठ समेतको सहयोगमा परियोजना बनाएर, साप–नेपालको निर्देशक लाई स्थलगत अध्ययनको लागि दोलखा लगेर, त्यहाँका जनसमुदाय संग अन्तरक्रिया गराएर कपडा उद्योग चलाउन आर्थीक सहयोग स्विकृत गराएको थिए । सो उद्योग हालको घरेलु परिसर मै सन्चालन गरिएको थियो। तर अलिकति ब्यवस्थापनको कमजोरी र धेरै बाह्य कारणले सो उद्योग दिगो हुन सकेन । मुख्य कुरा त चीन बाट सस्तो कपडा र तयारी पोशाक आउन थाले पछि हाम्रो जस्तो १÷२ लाखको पूंजीमा खुलेका उद्योग त के निजि क्षेत्रका घरेलु उद्योगहरु र सरकारी हेटौंडा कपडा कारखाना लगायत धराशायी भएका थिए । द्वाल्खा गुठिको खातामा जोहो गरिएको रकम यहि परियोजनाको रहलपहल रकम हो ।

हाल केही समय देखि दोलखामा घरेलु फर्काउनु पर्छ भनेर विभिन्न किसिमले पहल भइरहेको छ जुन अत्यन्त सराहनीय छ । किनकि दोलखा बासिहरुले दोलखा बासिहरुको लागि रोजगारी सृजना होस र आय आर्जन होस भन्ने अपेक्षा गरेर ठूलो त्याग गरेर घरेलु उद्योग कार्यालय राख्न जग्गा दान गरेका थिए । हाल आएर भएको जग्गा र कार्यालय घर छोडेर घरेलुका हाकिम चरिकोट बस्ने गरेका छन जुन लापरबाही को पराकाष्ठा हो र सरकारी रकमको दुरुपयोग समेत हो ।

अहिले देशको श्रम शक्तिमा युबा जमातको संख्या तिब्र रुपमा बढी रहेको छ र देसमा रोजगारीको अवसर उपलब्ध नभएको कारणले बिदेशिन बाध्य भएका छन् । युवाहरुको श्रम बाट आएको विप्रेषणले अर्थतन्त्र लाइ टेवा पुर्याई राखेको भए पनि यो भरपर्दो स्रोत भने मानिन्दैन । देशको आर्थिक वृद्धिको लागि शिक्षित र दक्ष जनशक्ति देशमै प्रयोग गर्ने वातावरण बनाउनु जरुरि छ । अर्कोतिर बिभिन् कठीनाइले गर्दा गाउँ छोड्न नसकेको कारणले गाउँमै रहेका युवाहरु बैकल्पिक रोजगारीको अवसर नहुँदा कृषि कार्य नहुँने बेला अल्परोजगारका रुपमा रहेकाछन् ।

अहिले सरकारी घरेलु कार्यालयको काम उहिले मैले माथी भने जस्तो छैन । यस्को काम केवल घरेलु उद्योग खोल्न चाहने लाई स्वीकृति दिने, प्राबिधिक परामर्श दिने र बितिय संस्थाहरु बाट ऋण लिन सिफारिस दिनेमा मात्र सिमित छ । देशका उद्योगपतिहरुले बेला बेलामा दक्ष जनशक्तिको अभाब भएर उद्योग चलाउन गाह्रो भएको गुनासो गर्ने गरेका छन् । यसरी एकातिर दक्ष जनशक्तिको अभाब र अर्को तिर रोजगारीको अवसर नहुनु जस्तो बिडम्बना छ ।

स्वदेश मै प्रसस्त रोजगारी सिर्जना गर्ने कुरा मन्त्रीहरुबाट आउने गरेको छ । तर कार्यक्रम भने छैन । भएका घरेलु तालिम केन्द्रहरु पनि बन्द गरेर सरकारी सम्पति खेर फालिएको छ । त्यसैले स्वदेश तथा बिदेशमा काम गर्न युबाहरु लाइ रोजगारीको अवसर दिएर देश बिकाशमा योगदान गराउनको लागि अगाढी जस्तै समयसापेक्ष घरेलु तथा शिपमुलक प्रशिक्षण दिनको लागि देश भरि नै पुरानो घरेलु तालिम केन्द्रहरु पुनरावृति गर्नु जरुरी छ । यस्तो तालिमले युवाहरुलाइ जागिर खाँनको लागि मात्र योग्य नबनाएर आफ्नै ब्यबसाय आरम्भ गरेर स्वरोजगार हुन् समेत सबल बनाउने कुरा निर्बिबाद छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment