
१५ असार , बाँपीझ्याला, काठमाण्डौँ । खाद्य सुरक्षा आजको समयमा हरेक देशको प्रमुख प्राथमिकता हो। मुलुकका प्रत्येक नागरिकले पोषणयुक्त पर्याप्त खाद्य वस्तु सेवन गर्न पाउनु नै सबैको अधिकार पनि हो। यसमा संस्कृति, रूचि र पारम्परिक अभ्यासहरूको पनि त्यतिकै ख्याल गर्नुपर्ने अवस्था हुन्छ। नेपालको खाद्य सुरक्षाको लागि प्रमुख बालीहरूमध्ये धान एउटा हो किनकि प्रमुख खाद्यान्न बालीहरूमा यो सबैभन्दा बढी क्षेत्रफलमा खेती गरिने र सबैभन्दा बढी मात्रामा उत्पादन हुने गर्दछ।

हाम्रो पारम्परिक खाद्य प्रणाली र सांस्कृतिक हिसाबले पनि यो सबैभन्दा बढी रूचाइएको बाली हो। दुईछाक भात खान पाएको–नपाएको विषयले हाम्रो खाद्य सुरक्षाको सामान्य मापन हुने अवस्था छ। नेपालमा मात्र नभई विश्वभरि नै धेरै वा थोरै मात्रामा यसको उपभोग हुने गर्दछ। विश्वका करिब २५ प्रतिशत कृषकहरूले करिब १६ करोड हेक्टर क्षेत्रफलमा धान खेती गर्ने र करिब ५६ प्रतिशत जनसंख्यालाई चामल खुवाउने गरेको तथ्याङ्कमा भेटिन्छ। योमध्ये ९० प्रतिशत धान/चामल एशिया महादेशमा उत्पादन र खपत हुने गर्दछ।
संसारभरमा करीब ७० करोड मे.टन धान उत्पादन हुने गरेको छ। यसको एशिया महादेशमा बढी उत्पादन भएता पनि संसारभर नै यसको माग फैलिएको छ। पछिल्ला वर्षहरूमा अफ्रिका र अमेरिकन क्षेत्रमा समेत चामलको माग बढ्दै गएको पाइएको छ। चीन र भारतमा मात्रै संसारभर उत्पादन हुने धानको ४० प्रतिशत उत्पादन हुने गर्दछ। कुल उत्पादन चीनमा सबैभन्दा बढी हुने भएता पनि भारत सबै भन्दा धेरै चामल निर्यात गर्ने देश हो। नेपालमा भारतबाटै धान–चामल मात्रै होइन, दानाका लागि कनिका र भुस पनि आयात हुने गरेको छ। पछिल्लो समयमा भियतनाम र बंगलादेशले उत्पादनमा उल्लेख प्रगति गरी धान/चामल बजारमा प्रभाव देखाएका छन्।
हाम्रो अवस्था के छ त ?
अब हाम्रो धान उत्पादनको अवस्था बारे केही चर्चा गरौं। दुईछाक भात खान पाउनु नेपालीको खाद्य सुरक्षाको मानक भएको अवस्था मात्रै होइन सामाजिक, सांस्कृतिक र पोषणका हिसाबले पनि यो अत्यन्त महत्वपूर्ण रहेको छ। हिउदे बाली नलगाएर जग्गा बाँझै छाडे पनि अधिकांश किसानले बर्खे धान खेती गर्दछन्। झण्डै १४.५ लाख हेक्टरमा खेती हुने यो बाली मूलतः तराई र पहाडका सिञ्चित क्षेत्रको मुख्य बाली हो।
धानको वार्षिक उत्पादन सरदर ५५ लाख मे.टन हाराहारी हुने गर्दछ। उपयुक्त मौसम भनौं या पर्याप्त वर्षा र रासायनिक मल र उन्नत बीउको पर्याप्त उपलब्धता हुँदा उत्पादन बढ्ने र अन्यथा केही कम पनि हुने गरेको छ। यो उत्पादनको कुल मूल्य प्रचलित बजार भाउमा हिसाब गर्दा करीब १.८ खर्ब भन्दा बढीको हुन आउँछ। यो उत्पादन हाम्रा मिहिनेती किसानहरूको पसिनाको मूल्य पनि हो। अझै पनि ठूलो क्षेत्रफलमा मौसमी वर्षाको भरमा खेती गरिनुपर्ने, बढी उत्पादनशील जातहरूको पूर्ण पहुँच नहुने, मलखादको अपर्याप्तता आदि कारणले उत्पादकत्व अझै पनि कमी नै देखिन्छ (३.८ मे टन/हे)। अन्य मुलुकहरूमा उन्नत वर्णसंकर जातहरूको प्रयोग र अन्य व्यवस्थापनका कारण उत्पादकत्व ५ मे टन/हे भन्दा बढी पनि हुन पुगेको छ।
पछिल्ला वर्षहरूमा बढ्दो जनसंख्याका कारण उपभोग र उत्पादनका बीचमा भएको अन्तरले वार्षिक सरदर करीब ७.५ देखि ८ लाख मे टन धान/चामलको आयात हुने गरेको छ। यो आयात कुल उपभोगको १५ प्रतिशत जस्तो मात्र रहेको छ। पछिल्ला दुई वर्षको आयातीत धानको मूल्य सरदरमा ३० देखि ४० अर्ब जस्तो रहन गएको छ। यो आयातको मूल्य ३ वर्षअघि ५० अर्बसम्म पुगेको थियो।
विगतका दुई वर्षभित्र आयात घट्दो क्रममा रहेको छ। जुन खुसीको कुरा पनि हो। धानले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ५ प्रतिशत योगदान गर्दैछ भने कृषिको कुल गार्हस्थ्य उत्पादनमा करिब १५ प्रतिशत हिस्सा ओगट्ने गरेको छ। यो हिस्सा कृषिजन्य वस्तुमध्ये सबैभन्दा उच्च पनि हो। यसै कारण पनि धान उत्पादनमा सबैको चासो रहने गरेको छ। धान उत्पादन बढेको वा घटेको आधारमा प्रत्यक्ष रूपमा देशको अर्थतन्त्रमा प्रभाव पारेको पाइन्छ।

किन बढ्यो धान/चामल आयात ?
सबैलाई चासो र चिन्ताको विषय धान चामलको आयात किन यति बढी छ, यसलाई किन कम गर्न सकिन्न भन्ने छ। नेपाल ८० को दशकसम्म चामल निर्यात गर्ने हैसियत भएको देश किन आयात गर्ने अवस्थामा पुग्यो होला भन्ने प्रश्न पनि छ। यस प्रश्नको जवाफ हाम्रो अर्थ सामाजिक अवस्थासँग पनि जोडिएको छ, प्राविधिक र पूर्वाधारका कारणहरूसँग पनि जोडिएको छ र हाम्रो खाने बानीसँग जोडिएको पाइन्छ।
जनसंख्या बढे अनुसार धान उत्पादन बढ्न नसक्नु मुख्य कारण हो। उत्पादन किन बढ्न सकेन होला त भन्ने प्रश्न पनि आउँछ। समग्र कृषि क्षेत्र नै राज्यको प्राथमिकतामा नपर्नु, कृषि पेशामा नै जनस्तरमा आकर्षण नरहनु र नेपाली कृषि उत्पादन छिमेकी देशहरूका तुलनामा प्रतिस्पर्धी हुन नसक्नु केही कारणहरू होलान्। पछिल्लो १५ वर्षमा उत्पादनमा करीब ३० प्रतिशत र उत्पादकत्व पनि करीब ३० प्रतिशतमा बढोत्तरी भएको पनि छ। तर यो बढोत्तरी पर्याप्त देखिएको छैन। धान खेती गर्ने क्षेत्रफल स्थिर वा केही घटेको पनि देखिन्छ।
पर्याप्त सिंचाइ सुविधा उपलब्ध हुनसकेको छैन, रासायनिक मल र उच्च उत्पादकत्व भएका जातहरूको न्यून उपलब्धता, जलवायु परिवर्तनको प्रभाव, प्राविधिक सेवा–टेवामा कमी आदि कारणहरू पनि उत्तिकै जिम्मेवार छन्। यातायातको सुविधामा बढोत्तरी भएकोले पहाड र उच्च हिमालमा समेत धान/ चामलको पहुँचमा वृद्धि भएको छ। मानिसहरूको खाने बानीमा परिवर्तन आएको स्पष्ट देखिएको छ।