१५ असार , बाँपीझ्याला, काठमाण्डौँ । कोपा अमेरिका फुटबलमा ब्राजिलले पाराग्वेविरुद्ध फराकिलो जित निकालेको छ । केहीबेरअघि सम्पन्न समूह डीको खेलमा ब्राजिलले पाराग्वेलाई ४–१ ले पराजित गरेको हो ।
ब्राजिलका लागि भिनिसियस जुनियरले २ तथा साभियो र लुकास पक्वेटाले एक–एक गोल गरे । पहिलो हाफमा ३(० गोलले पछि परेको पाराग्वेका लागि ४८ औँ मिनेटमा ओमार अल्डेरेटले शान्त्वना गोल फर्काएका थिए । खेलको ८१ औँ मिनेटमा आन्द्रेस कुबासले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० जनामा सीमित भएको पाराग्वे यो हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।
पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको ब्राजिलले भने क्वार्टरफाइनलको सम्भाविता बलियो बनाएको छ। यसअघि आज बिहान भएको समूह डी कै खेलमा कोस्टारिकालाई ३–० गोलले पराजित गर्दै कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
३१औँ मिनेटमा लुइस डियाजले पेनाल्टीमार्फत् गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए भने खेलको ५९ औँ मिनेटमा डेभिन्सन सान्चेज र ६२ औँ मिनेटमा जोन कोर्डोबाले गोल गर्दै ३–० गोलको जित सुनिश्चित गरे । कोपा अमेरिका फुटबलमा भोलि बिहान अर्जेन्टिना र पेरु तथा क्यानडा र चिलीबीच प्रतिस्पर्धा हुनेछ ।