Search

बजेटमा कमजोरी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति

बजेटमा कमजोरी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति

११ असार , बाँपीझ्याला, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट निर्माणमा कमजोरी भएको स्वीकार गरेका छन् । साथै सम्भव भएसम्म बजेटलाई सन्तुलित बनाउने कोसिस गर्न अर्थ र भौतिक पूर्वाधारमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितको बजेटमाथि छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले परम्परागत ढंगबाट बजेट निर्माण गर्ने पद्धति बदल्ने प्रतिवद्धतामा पूर्णतः सफल हुन नसकेको बताए । ‘गत साल कमिटमेन्ट गरेका कुराहरू पुरै पूरा गर्न नसकेकोमा दुःख व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले सुरुमै भने ।

गत वर्ष २०८० साल असार १३ गते प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ‘आगामी वर्षदेखि मन्त्रालयगत बजेट सीमा निर्धारण भएपश्चात फागुन मसान्तभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसद्‌मा पेस गर्ने व्यवस्था मिलाउने,’ बताएका थिए । त्यसअनुसार अध्यादेश ल्याएर भए पनि संसद्‌मा समयमै प्रि-बजेट छलफल गराएको समेत उनले स्मरण गरे । १५ फागुन २०८० मा तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा पेस गरेका थिए । तर २१ फागुन २०८० प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छाडेर एमालेसँग नयाँ सत्ता समीकरण बनाए ।

सत्ता समीकरण फेरिँदा बजेटको कार्यतालिका पनि प्रभावित भएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘गर्दै जाँदा कता कता मैले जे सोचेको थिएँ गत साल …’ उनले अगाडि भने, ‘आफू पुरै सफल हुन नसकेकोमा दुःख छ । तर यो प्रयास जारी रहनेछ ।’ उनले नीति कार्यक्रम र बजेटमा कमा र फुलिस्टप पनि फेर्न नपाइने परम्परा ठीक नभएको समेत बताए ।

बजेटमाथि छलफलका क्रममा सांसदहरूले तीन करोडभन्दा कमका आयोजना संघीय बजेटमा नराख्ने प्रधानमन्त्रीको प्रश्न गरेका थिए । खासगरी शहरी विकास, भौतिक पूर्वाधार मन्त्रालयले केही नेताको क्षेत्रमा जसरी योजना थुपारेको छ, त्यसको चर्को विरोध भयो । प्रधानमन्त्री प्रचण्डले बजेटलाई लिएर संसद्‌मा व्यक्त भएको आक्रोश मात्र होइन, बजेटको पुस्तिका च्यातिएको पनि थाहा रहेको बताए । सम्भव भएसम्म बजेटमा भएका त्रुटि सच्याएर जानुपर्छ भन्नेमा रहेको भन्दै अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराए ।

‘सम्भव हुने सम्म उपाय खोजेर त्यस (बजेट)लाई सन्तुलित बनाउने कोसिस गर्न माननीय अर्थमन्त्रीलाई पनि मैले भनिराखेको छु’ उनले भने, ‘सम्भव हुनेसम्म करेक्सन गर्नुपर्दछ ।’ ४ असारको प्रतिनिधि सभाको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट असन्तुलित रहेको भन्दै मन्त्रालयगत पुस्तिका नै च्यातिदिएका थिए । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठसँग समेत आफूले कुरा गरेको भन्दै प्रधानमन्त्रीले भने, ‘अलि बढी भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बन्धित विषय सदनमा उठेको पनि मैले सुनेको छु । मैले माननीय भौतिक पूर्वाधारमन्त्रीसँग पनि हुनसक्ने जति, अलिबढी करेक्सनको सम्भावना भएको ठाउँमा करेक्सन गरौं भनेको छु ।’

Written by 

Related posts

Leave a Comment