Search

समृद्ध नगर भीमेश्वरले २०८१/०८२ को लागि ८८ करोड सार्वजनिक

समृद्ध नगर भीमेश्वरले २०८१/०८२ को लागि ८८ करोड सार्वजनिक

नेपाल सम्वत् ११४४ तछलागा, सोमबार (१० असार, २०८१) काठमाण्डौं । समृद्ध भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८८ करोड ९ लाख ८४ हजार बराबरको बजेट सार्वजनिक गरिएको छ ।

उपप्रमुख कमला बस्नेतले आज भएको नगरसभामा आगामी आर्थिक वर्षका २०८१÷०८२ को लागि ८८ करोड ९ लाख ८४ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो । जसअनुसार नगरपालिकाले चालुतर्फ ५१ करोड ७४ लाख ७९ हजार रुपैयाँ, पुँजीगततर्फ ३६ करोड ५ लाख ५ हजार रुपैयाँ र वित्त व्यवस्थातर्फ ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष सामाजिक विकासमा ४० करोड ४५ लाख ३ हजार, भौतिक पूर्वाधार विकासमा २८ करोड ८५ लाख ४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ५३ लाख २० हजार विनियोजन गरेको छ । यस्तै आगामी बर्षको बजेटमा आर्थिक विकासमा ५ करोड २० लाख ८१ हजार र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३ करोड ५ लाख ७६ हजार रुपैयाँ छुट्याईएको छ ।

नगरपालिकाले सबैभन्दा बढी शिक्षा क्षेत्रतर्फ २९ करोड ५० लाख १५ हजार बजेट छुट्याएको छ । यस्तै, भवन, आवास तथा वस्ती विकासका लागि १४ करोड ५७ लाख ५४ हजार, सडक, पुल यातायाततर्फ १३ करोड ५० लाख ५० हजार, स्वास्थ्य र पोषण क्षेत्रको लागि ६ करोड ७२ लाख ४१ हजार, कृषिमा १ करोड ९० लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।

भीमेश्वरले लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ १ करोड ६६ लाख ३५ हजार, श्रम रोजगार तथा गरिबी निवारण क्षेत्रतर्फ १ करोड ५३ लाख ६२ हजार, खानेपानी तथा सरसफाई क्षेत्रका लागि १ करोड २० लाख ३० हजार, पशुविकास क्षेत्रतर्फ १ करोड १३ लाख ७१ हजार, पर्यटन क्षेत्रमा नगरपालिकाबाट सम्पादन गरिने कार्यका लागि ८२ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
यसै गरी सिचाई क्षेत्रका कार्यक्रम सञ्चालनका लागि ६९ लाख ६० हजार बजेट विनियोजन गरेको भीमेश्वरले उद्योग, वाणिज्य र रोजगार क्षेत्रतर्फ ५९ लाख ९० हजार बजेट विनियोजन गरेको छ ।

नगरसभामा भीमेश्वर नगरपालिकाको विनियोजन ऐन २०८१ पनि पेस गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा भीमेश्वर सञ्चित कोषबाट खर्च हुनेगरी संशोधन सहित कुल रकम ९३ करोड १६ लाख १६ हजार ३ सय ४९ रुपैयाँ विनियोजन भएकोमा हालसम्मको अवधिमा ६६ करोड ५१ लाख ९५ हजार ३ सय ९७ रुपैयाँ खर्च भएको छ ।

चालु वर्ष कुल विनियोजित बजेटको ७१.४ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । चालु वर्ष पुँजीगततर्फ ४३ करोड ९३ लाख १ हजार ३ सय ४९ रुपैयाँ विनियोजन भएकोमा २७ करोड ३३ लाख ८५ हजार ३ सय ९ रुपैयाँ खर्च भएको छ । चालु वर्षको हालसम्मको अवधिमा ६२.२३ प्रतिशत खर्च गरिएको सार्वजनिक गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!