Search

दोलखा शहरमा सिठी नखत

दोलखा शहरमा सिठी नखत
प्रा. डा. श्याम जोशी

प्राचिन दोलखा शहरका अधिकांस बासिन्दाको मुख्य पेशा कृषि भएकोले आगामी कृषि कार्य सु–सम्पन्न होस् र राम्रो उब्जनी होस् भनेर रोपाइं लगायत कृषि कार्य प्रारम्भ हुनु अघि आफ्ना देवताहरुको पुजा आराधना गरेर मनाउंने चाड सिठी नखत हो ।
सिठी नखत लगत्तै रोपाइँ लगायत खेतिपातिको काम शुरु हुन्छ । खेति कार्यमा कुनै बिध्न बाधा नहोस भन्ने कामना सहित पुजाआजा गरेर सिठी नखत मनाइने चलन छ ।

त्यसैले यो चाड मानिसका लागि अपरिहार्य अन्न प्राप्त गर्ने श्रोत खेतीपातीको स्वागत गर्ने चाडको रुपमा लिन सकिन्छ । यति मात्र नभएर सिठी नखत प्रोटिनयुक्त गेडागुडीका परिकारहरुको भोज खाएर कृषि कार्यको लागि बल र ताकत आर्जन गर्ने चाड पनि हो । कृषि कार्य आरम्भ हुने बेला सम्म गत सालको अन्न सकिसक्ने भएकोले यो चाड बर्षभरि मनाइने चाडपर्बहरुमा अन्तिम चाड मानिन्छ । जुन चाडको दोलखामा आफ्नो भिन्न महत्व अनी विशेषता रहेको पाईन्छ ।

उपत्यकामा सिथि नखः भनिने चाड लाइ दोलखा शहरमा सिठी नखत भनिन्छ । नेवार समुदायले मनाउने यो चाड जेष्ठ शुक्ल षष्ठीका दिन पर्दछ । जेष्ठ शुक्ल षष्ठीका दिन कार्तिके कुमारको जन्म दिन पनि भएकोले सिठी नखत लाई षष्ठी नखत वा कुमार षष्ठी पनि भन्ने गरिन्छ ।

यहि कारणले यो दिन कुमारको पूजा गरी जात्रा गर्ने प्रचलन भएको हो । डा. चुन्दा बज्राचार्यका अनुसार (सिथि नखः) यही ‘षष्ठी’ शब्द अपभ्रंस भई ‘सिथि’ अर्थात सिथि नखः हुनगएको हो । नेवारहरुले कुनै पनि कार्य आरम्भ गर्नु अघि गणेशको पूजा गर्ने चलन छ । त्यस्तै कुनै पनि कार्य कुनै बिध्नबाधा बिना सम्पन्न होस् भन्ने कामना गर्दै सिठी नखतको दिन कुमारको पूजा गर्ने चलन छ ।

दोलखावासीको देउदेउ :
कुमार छ जना आमाबाट षष्ठीका दिन जन्मेका थिए भन्ने किम्बदन्ती पाइन्छ । श्रीस्वस्थानी व्रतकथा अनुसार अग्निले शिवजीको रतिक्रिड़ामा बाधा पू¥याएकोले ऊनलाई भस्म पार्न लाग्दा पार्वतीले रोकेर बरु भिक्षा दिएर पठाऊँ भनेकीले शिवजीले झोकले लौ ला भनी आफ्नू वीर्य अग्निका हातमा राखी दिएर धपाउनुभयो । त्यो विर्य खाएर अग्निलाई गर्भ रह्यो र अग्नि डराई गंगाको तटमा गई कुशको झाङमा उकेलिदिए ।

त्यो अमोघ वीर्य आगो झैं बल्न लाग्यो । त्यसैबेला गंगास्नान गर्न आएका सप्तर्षिका स्त्रीहरू मध्ये छ जनाले बल्दो आगो देखेर तापे । आगो ताप्ने जतिलाई गर्भ रह्यो । ऋषिहरूले कसको गर्भ बोक्यौ भनेर श्राप दिए । ती छः जनाले त्यो वीर्य गंगामा उकेलि दिए । उनिहरूले गंगामा उकेलेर आएका वोर्यबाट छःमुख भएका कुमार जन्मिए जो गंगाजीका छोरा भएर शिवगणमा बस्न लागे ।

एक दिन शिवजीले गणेश र कुमार लाई भन्नु भयो “तिमी दुबै जना सुमेरु परिक्रमा गर्न जाउ, जो पहिला आउला त्यसलाई म वरदान दिउंला ।“ त्यो सुन्नासाथ कुमार आफ्नो वाहन मयूरमा दगुरिहालें । तर कुदन असमर्थ गणेशले आफ्नो बाहन मूसोको सल्लाह अनुसार “हे माता पिता, मेरो सुमेरु पर्वत भने पनि देवताका देवता भने पनि हजूर नै हुनुहुन्छ” भनेर तीनपल्ट प्रदक्षिणा गरे ।

शिवजी प्रसन्न भएर तत्काल उनलाई बरदान दिए – “तिनै लोकमा जहाँपनि जुनसुकै कार्य आरम्भ गर्दा पहिले तिम्रो पूजा हुनेछ र नगरिकन थालेको कुनै कार्य पनि सिद्ध हुनेछैन ।” त्यस्तै कुमार आइपुगें पछि शिवजीले उनलाई पनि “कसैले केही कार्य गर्यो भने पहिला तेरो पूजा गर्नेछ” भनेर बरदान दिनु भयो । गणेशको पुजा गणेश चौथीमा हुन्छ भने कुमारको पुजा सिठी नखतमा हुन्छ । षष्ठीको दिन भएकोले उपत्यकामा छ किसिमको बारा (मासको रोटि) र छ थरीका तरकारी तयार गरेर कुमारको पूजा गरिन्छ ।

मच्छेन्द्रनाथको जात्राको बेला केटाकेटीहरुले स्थानीय दोलखा नेवारी भाषामा “ चाक्सला भनिने चाकु पकायेर बनाइने “तिलौरि“ बेच्ने गर्छन भने सिठी नखत चाडमा कागतको फैली (फिरफिरे) बनाएर घुमाउने गर्छन । फैली घुमाउनाले मानिसहरु सबै पाप बाट मुक्त हुन्छन् र शरिर फुर्तिलो र निरोगी हुन्छ भन्ने जनबिस्वास पाईन्छ ।

यो चाड मनाउनको लागि पुर्बतयारी स्वरूप चाड शुरु हुनु भन्दा अघि दोलखावासीले बजार लगायत मन्दिर, धारा, पाटी, बाटोघाटो, कुलो आदि सफा गर्छन । यस दिन उपत्यकामा पानीको श्रोत इनारहरु सफा गर्ने चलन छ भने दोलखा शहरमा इनार नहुने भएकोले धाराहरु सफा गर्ने चलन छ । यो चाड मनाउनको लागि दोलखाका सबै घर–परिवारले अघिल्लो दिन लिपपोत गरेर घर सफा गरि सेल रोटि, मासको रोटि मासु पकाएर तयार गरेर राख्ने गर्छन । ठिला पुनिसमा देउचामारी (चुच्चे रोटि), माघे संक्रान्तिमा मासमारी जस्तै सिठी नखतमा देउताहरू लाइ चढाउँन चटमारी चढाउने चलन रहेको छ । जुन चामलको पिठोको रोटि अनिबार्य जस्तै हुन्छ ।

सिठी नखतको दिन विहानै नुहाइवरी शुद्ध भएर विभिन्न प्रकारका तरकारी तयार पार्छन । सिठी नखतको दिन घर सफा र सुद्ध गर्नुको अतिरिक्त नुहाईधुहाई गरी आफुपनि सफा हुन्छन । दोलखा शहरमा चलीआएको परम्परा अनुसार शुद्ध पार्ने क्रममा हजामले घरघरमा सबैको नड पनि काट्ने चलन छ ।

धार्मिक, सांस्कृतिक क्रियाकलापमा सम्पन्न नेवारहरुको थलो दोलखा शहरमा एउटा अत्यन्त राम्रो धार्मिक–सामाजिक परम्परा बसालिएको छ । जसअनुसार यहाँका मानिसहरु आफ्ना देवताहरुलाई परसारेर मात्र आफुले खाने गर्छन । माघे संक्रान्तिमा जस्तै सिठी नखतमा पनि प्रत्येक घर परिवारले बिहान सबेरै नुहाइधुवाई र सरसफाई गरेर चिउरा, मासु, मासको रोटि, सेल रोटि, चटमारी, सागपात, फलफुल दुध÷ दहि, जांड÷रक्सी आदि भोजको परिकार तयार पारेर पहिला आफ्नो कुल देवतामा चढाउने गर्दछन् ।

त्यसपछि आ–आफ्ना पितृहरुको नाममा कुसलेलाई (जोगीबी) दिने गर्छन । त्यसपछि भिमेस्वर, त्रिपुरासुन्दरी, बालकुमारी, मच्छिन्द्र नाथ, नाट्यश्वर लगायत दोलखाका सम्पूर्ण देबीदेवताहरु लाई पनि सक्नेले आफु गएर, नसक्नेले अरुको हातमा पठाएर पुजाआजा गर्ने र त्यहि भोजको सामाग्रीको नैबद्य चढाउने गर्छन । त्यसैले सो दिन देबस्थलहरुमा र खासगरी त्रिपुरासुन्दरी मन्दिरमा स्थानीय महिलाहरुको ठुलो भीड हुन्छ । अन्तमा घरमा परिवारका सबै भेला भएर भोज खान्छन ।

सिठी नखतकै दिन दोलखाबासिहरुले आ–आफ्नो देगुर देउ (देवालीथान) मा गएर भोजको सामाग्री चढाएर पूजाआजा गर्छन । अन्य चाडमा जस्तै यो चाड पनि आफन्तहरु र चेलीबेटीहरु लाई थरिथरिका बारा सहित भोज खुवाउने गरिन्छ । स्थानिय दोलखा बासीहरुको देगुर देउ थर र गोत्र अनुसार शहर भित्रकै बिभिन्न ठाउँमा रहेका छन्, जस्तै नकछे प्रधान परिवार, माथिल्लो विहार्छे श्रेष्ठ परिवार र तल्लो विहार्छे प्रधान परिवार, कोर्छे श्रेष्ठ परिवार र डोकलुङा टोलका जोशी परिवारहरुको देगुर देउ सिंहवनमा रहेका छन् । यसै गरी डोक्छे श्रेष्ठ परिवारको देउर देउ कारीपोकमा रहेको छ ।

डा. चुन्दा बज्राचार्यका अनुसार यदि उपत्यका नेवारहरु कसैले देवालीका दिन पूजा गर्न सकेन वा देवालीको दिन थाहा पाएनन भने तिनीहरूले यसै दिन देवाली पूजा गर्ने चलन छ । सिठी नखत पछी सम्पूर्ण देवताहरु पाताल पस्छन र भूतहरु पृथ्वीमा आउँछन् भन्ने किम्बदन्ती पाइन्छ । यो चाड भन्दा अगाडी खेत जोत्न नहुने परम्परा भएकोले भोलिपल्ट देखि मात्र धान रोप्नको लागि बाँजो खेत जोत्ने काम आरम्भ हुन्छ । अर्थात देबिदेबताको पुजाआजा गरेर सिठी नखत मनाए पछी खेत खनजोत गर्न फुकुवा हुन्छ भन्ने मान्यता रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment