२८ जेठ, बाँपीझ्याला, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले चिकित्सकहरूकाे राेजाइ सुगम र सहर हुने गरेको बताएका छन् । सरुवा गरिएको ठाउँमा जानुभन्दा पनि शक्तिको दुरुपयोग गरेर भएपनि सुगम र सहरहरू चिकित्सककाे राेजाइमा पर्ने गरेको मन्त्री यादवको भनाइ छ । प्रतिनिधिसभाकाे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसमितिकाे साेमबारकाे बैठकमा मन्त्री यादवले चिकित्सकहरूलाई दुर्गम क्षेत्रमा पठाउने विषयमा गम्भीर रहेकाे बताए । दुर्गम र गाउँमा सरुवा भएका चिकित्सकले त्यहाँ हाजिर हुनैपर्ने उनको भनाइ छ ।
‘पायक पर्ने ठाउँकाे लागि यस्ताे पावर आउँछ, कुर्सी हल्लिन्छ । तर कुनै पावर चल्दैन, मानिदैन । व्यवहारिक रूपमा हेर्न सकिएला,’ मन्त्री यादवले भने, ‘जहाँ सरूवा भएकाे छ त्यहाँ हाजिर हुनैपर्छ । सबैलाई सुगम चाहियाे भने गाउँमा कसले हेर्छ ? त्यसैले यसमा मन्त्रालय गम्भीर छ ।’
दुर्गममा अस्पताल भवन भएको तर डाक्टर नभएको आफूले पाएकाे मन्त्री यादवको भनाइ छ । भवन निर्माण हुने तर स्वास्थ्य उपचार गर्ने उपकरण र औजार नभएको तर त्यसको जिम्मेवारी कसले लिने भन्ने यकीन नरहेको पनि उनले बताए । ‘अस्पताल भवन छन् तर डाक्टर छैनन्, उपचार गर्ने उपकरण छैनन् । त्यसकाे जिम्मा कसले लिने ? संघले सबै पठाउने, प्रदेश र स्थानीय तहले हेरचाह पनि नगरिदिने ?,’ उनले भने । संघीय अस्पतालमा सुधारकाे खाँचाे रहेकाे मन्त्री यादवले बताए । स्वास्थ्य क्षेत्रमा जनताकाे अपेक्षाअनुसार काम हुन नसकेको उनको भनाइ थियाे । स्वास्थ्य क्षेत्रमा रहेका बेथिति अन्त्य गर्नका लागि मन्त्रालय गम्भीर रहेको उनले बताए । ‘देशमा तीन तहमा सरकार छन् । तर सबैले आफ्नाे काम गरेका छैनन् । बागमती प्रदेशकाे स्वास्थ्य ऐन छैन, अस्पतालकाे नवीकरण राेकिएकाे छ, इजाजत राेकिएकाे छ,’ मन्त्री यादवले भने ।
धेरै अस्पतालमा उपकरणहरूमा मुसाले घर बनाएकाे मन्त्री यादवले बताए । आवश्यकता रहकाे ठाउँमा उपकरण नपुगेको तर अनावश्यक ठाउँमा उपकरण पठाएर प्रयाेग विहीन बनाइएको पाइएको मन्त्री यादवले बताए । वीर अस्पतालमा एउटै बेडमा दुईजना बिरामी राखेको, महिला र पुरुष बिरामी एउटै ठाउँमा राखेको पाइएको मन्त्री यादवले बताए । कतिपय अस्पतालमा आफू नै गएर समस्या बुझिरहेकाे मन्त्री यादवले बताए । वीर अस्पतालकाे इमर्जेन्सी नयाँ भवनमा सार्न निर्देशन दिएको जानकारी उनलेे संसदीय समितिलाई दिए ।
‘स्वास्थ्य बिमा र औषधि निशुल्क भनेकाे छ, तर बिरामीले पाइरहेकाे छैन, निशुल्क औषधि पाइरहेकाे छैन, कारण के हाे ? अध्ययन गर्न जरूरी छ । उद्योगहरूकाे अनुगमन गर्ने, गुणस्तर जाँच गर्ने, तर प्रयाेगशाला जाँच्न लायक छैन,’ मन्त्री यादवले भने, ‘जनशक्तिको धेरै ठूलाे अभाव छ । जनशक्ति थप्ने पहिलाे निर्णय नै गरेकाे छु । जनशक्ति थपेन भने अस्पतालकाे अवस्था जटिल बन्न सक्छ ।’ कर्णालीका बिरामीले वीरमा बिमा सुविधा नपाइरहेकाे मन्त्री यादवको भनाइ छ । त्यस्तै, दुई रूपैयाँकाे औषधि लिन दुई घण्टा लाइन बस्नुपर्ने अवस्थाकाे अन्त्य गर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयले गलत काम गर्नेहरूलाई कारबाही गर्ने पनि मन्त्री यादवले बताए । अस्पतालहरूमा सुक्ष्म अध्ययन भइरहेकाे उनलेे बताए । केही दिनमा धेरै जना सस्पेन्ड, कारवाही हुन्छन् । ‘काम बिगार्ने चिकित्सक र कर्मचारी, गाली खाने मन्त्री, सांसद, नेता ?,’ उनले भने ।