Search

जलनको उपचार हुने काठमाडौंको कीर्तिपुर अस्पताल

जलनको उपचार हुने काठमाडौंको कीर्तिपुर अस्पताल

११४४ बछलागाः १५, बिहिबार, २४ जेठ, बाँपिझ्याला । काठमाडौं चाबाहिलका चञ्चलबहादुर सिंहको परिवार नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारमा छन् । ५५ वर्षका चञ्चल, उनकी ४४ वर्षीया श्रीमती बिन्दु सिंह र छोरीहरु सुप्रिया, समृद्धि र सुहानी दुई दिनदेखि जलनको उपचार गराइरहेका छन् ।

चञ्चल, उनकी पत्नी बिन्दु र ८ वर्षीया छोरी सुहानीको अवस्था सामान्य छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरु खतरामुक्त छन् । जेठी छोरी २४ वर्षीया सुप्रिया र माहिली १६ वर्षीया समृद्धि सिंहको अवस्था भने गम्भीर छ ।

उपचारमा संलग्न डा. किरण नकर्मीका अनुसार आगोले सुप्रियाको ५५ प्रतिशत र समृद्धिको ८५ प्रतिशत जलेको छ । ‘स्वासनलीमै असर गरेकाले अवस्था जटिल छ’, उनले भने ।

प्रहरीका अनुसार घटना मंगलबार राति पौने ९ बजेतिरको हो । चञ्चलको घरको दोस्रो तलामा आगलागी भएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेको प्रहरीले त्यहाँ आगलागीमा जलेर घाइते भएकाहरुलाई उद्दार गरेर चाबाहिलकै हेल्पिङ हेन्डस् अस्पतालमा सामान्य उपचार गरायो, बर्न अस्पताल पुर्‍याउँदा रातको ११ बजेको थियो । डा. नकर्मीका अनुसार अहिले बिन्दु र छोरी सुहानी जनरल वार्डमा छन् भने गम्भीर अवस्थाका दुई छोरीको आईसीयूमा उपचार भइरहेको छ ।

सनकले निम्त्याएको दुर्घटना :
एकै परिवारका पाँच जना आगोको जलेको यो घटनाबारे जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरिरहेको छ । कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा घरझगडाका क्रममा चञ्चलले पेट्रोल छर्केर आगो लगाएको देखिएको छ ।

अस्पताल परिसरमा भेटिएका एक आफन्तका अनुसार यो परिवारमा झगडा नौलो होइन । घरेलु विवादको विषय पटकपटक प्रहरीकहाँ पुगेको पनि थियो । प्रहरीले एकदुई दिन थुनामा राख्ने र सम्झाईबुझाई मिलापत्र गराएर छाड्ने गर्थ्यो । ‘झगडा गर्ने बानी उसको पहिल्यैदेखि थियो । पटकपटक थुनामै पुगेको पनि हो’, ती आफन्तले घरमुली चञ्चलबारे भने, ‘उसले आफूलाई कहिल्यै सुधारेन ।’

घाइते बिन्दुले प्रहरीलाई बताएअनुसार मंगलबार राति खाना खाने समयमा झगडा सुरु भएको थियो । मादक पदार्थ सेवन गरेर आएका चञ्चलले आफूलाई खाना नदिएको भनेपछि विवाद सुरु भएको थियो । त्यही क्रममा गाडीमा हाल्न ल्याएको पेट्रोल परिवारका सदस्यलाई छर्किएर आगो लगाइहाले ।

‘गाडी किनेको पनि ३/४ महिना भन्दा धेरै भएको रहेनछ’, एक आफन्तले भने, ‘घरखर्च धान्न गाह्रो भइरहेको बेला गाडी किनेपछि त्यही विषयलाई लिएर पनि झगडा हुन थालेको थियो ।’

चञ्चल सानैदेखि आक्रामक स्वभाव थिए, सानैमा बुवा बिते, पढाइमा पनि कमजोर भएकाले मनोवैज्ञानिक दबाबमा हुर्किए । पछिल्लो समय मदिरा तथा लागूऔषधको कुलतमा फसेपछि आफन्तले पनि वास्ता गर्न छोडे ।

‘हामीले बेलैमा विचार नपुर्‍याउँदा आज यो घटना घट्न पुग्यो । यसको केही हिस्सा भागीदार हामी पनि हुनुपर्छ’, बर्न अस्पतालको अपरेसन थियटर बाहिर भेटिएका चञ्चलका एक आफन्तले भने, ‘पटकपटक प्रहरी प्रशासनमा पुग्दा पनि सम्भावित घटनाबारे ख्याल राख्न आवश्यक ठानेनौं ।’

हुन पनि मादक पदार्थ सेवनको बेला चञ्चलले लिएको गलत निर्णयकै कारण परिवार नै मृत्युसँग लडिरहेको छ । चिकित्सकहरुका अनुसार नेपालमा ६० प्रतिशतभन्दा माथि जलन भएका बिरामीको उपचार निकै कठिन छ । निको हुँदा पनि पूर्ववत् अवस्थामा फर्किन सम्भव हुन्न ।

त्यसैले अधिकांश पीडित मानसिक समस्याबाट गुज्रिन पुग्छन् । ‘आगोको पीडा एकदमै धेरै हुन्छ । सञ्चो भइसकेपछि पनि साइकोलोजिकल ट्रमा रहिरहन्छ’, अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा शंकरमान राई भन्छन्, ‘कतिपय अवस्थामा उपचार गर्दा गर्दै पनि मनोपरामर्शदाता राखेर उपचार गरिरहेका हुन्छौं ।’

उपचार पनि एकदमै खर्चिलो हुन्छ । जलनका पीडितका लागि प्रतिव्यक्ति ४ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । ‘युरोप, अमेरिकामा यो उपचार शुल्क एकदमै थोरै होला’ प्रा.डा. राई भन्छन्, ‘हाम्रोजस्तो मुलुकमा एकदमै खर्चिलो हो । त्यसमाथि कम्तीमा ३ महिना अस्पतालमै चिकित्सकको प्रत्यक्ष निगरानीमा बस्नुपर्छ ।’

यो परिवारका आफन्त पनि यो घटनापछि छोरीहरुमा पर्न सक्ने मानसिक आघातलाई लिएर चिन्तित छन् । ‘ठूली छोरीले इन्जिनियरिङ सकेर जागिर सुरु गर्दै थिइन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!