Search

महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य वस्तुको प्रयोग गर्न पूर्ण निषेध छ : बालेन, मेयर

महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य वस्तुको प्रयोग गर्न पूर्ण निषेध छ : बालेन, मेयर

नेपाल सम्वत् ११४४, बछलागा, अष्टमी, शुक्रवार ९जेठ १८, २०८१० बाँपिझ्याला । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य वस्तुको प्रयोग गर्न पूर्ण निषेध रहेको बताएका छन् ।

विश्व सुर्तीजन्य पदार्थरहित दिवसका सन्दर्भमा आजको कार्यपालिका बैठकमा उनले भने, ‘महानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने कानुनी व्यवस्था गरेको छ । धेरैले यसलाई अदालतको आदेशले रोकिएको भन्नुभएको छ । तर, हामीले अगाडि सारेको कार्यक्रम र अदालतले आदेश गरेको विषय फरक हो ।’ उनले विषय स्पष्ट पार्दै भने, ‘हामीले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने व्यवस्था गरेको हौँ । अदालतले गरेको आदेश प्याकेजिङ्सँग सम्बन्धित छ । फरक विषयलाई फरक रूपमा बुझ्नुपर्छ ।’

बैठकमा वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले सचेतनाका लागि नियमित सन्देश प्रवाह आवश्यक रहेको बताएका थिए ।

दिवसको अवसर पारेर आज वडा नं. १० ले विद्यालयका विद्यार्थीहरू सहभागी गराएर प्रभातफेरी सञ्चालन गरेको छ । लाखेचौरबाट सुरु भएको प्रभातफेरी रत्नराज्य स्कूल, मध्यबानेश्वर, पुरानो बानेश्वर, सानो गौचरण क्षेत्र हुँदै वडा कार्यालय पुगेको थियो । प्रभातफेरीमा विद्यार्थीहरूले धूमपानले ज्यान लिन्छ, सावधान भन्दै गीत गाउने तथा नारा लगाउने गरेका थिए ।

सुर्तीजन्य पदार्थको लतमा पुग्ने समयका बालबालिकालाई सुर्तीजन्य वस्तुको असरका बारेमा व्यवहारिक ज्ञान दिन विद्यार्थीहरूलाई प्रभातफेरीमा ल्याइएको वडाध्यक्ष रामकुमार केसीले बताए ।

काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सुर्तीजन्य वस्तु निषेध सम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न यो व्यवस्था गरिएको हो ।

ऐनले सार्वजनिक स्थलहरूको चारकिल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जंकफुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यस सम्बन्धी व्यवस्था छ । २०६८ सालमा जारी भएको ऐनको दफा ४ मा सार्वजनिक स्थलहरू (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालयहरू, होटल, रेष्टुरेण्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरूलगायतका स्थलहरूमा धुम्रपान, चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा) सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरेको छ ।

सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि धुम्रपान नियन्त्रण पहिलो सर्त हो । नेपाल सर्जिकल अङ्कोलोजी समाजका अनुसार धूमपान प्रयोगकर्ताहरू धूमपान नगर्ने व्यक्तिको तुलनामा १३ देखि २० वर्ष अगाडि नै मृत्युवरण गर्छन् । चुरोटमा ७२ किसिमका रसायन हुन्छन् । यसमा भएका कार्सिनोजेनिक रसायनले क्यान्सर बनाउँछ । यस्ता रसायनयुक्त पदार्थको प्रयोगकर्ताबाट छोडिएको धुँवा तथा फोहोरले स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पारेको छ । यस असरबाट सिर्जित समस्याबाट मानिसहरूले मृत्युवरण गरिरहेका छन् ।

आहारविहार र आचारविचारमा सानो मात्र परिवर्तन गर्न सकियो भने प्राणघातक समस्याबाट आफूलाई बचाउन सकिने भएकोले यस कार्यमा हरेक व्यक्तिको सक्रियता आवश्यक देखिन्छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!