Search

राप्रपा दोलखाका पुराना नेता सुन्दरप्रकाश खड्का लगायत भूमिकाविहिन युवा नेताहरुलाई केन्द्रमा जिम्मेवारी

राप्रपा दोलखाका पुराना नेता सुन्दरप्रकाश खड्का लगायत भूमिकाविहिन युवा नेताहरुलाई केन्द्रमा जिम्मेवारी

११४४, बछलागा, सप्तमी, (१७ जेष्ठ, २०८१) बाँपिझ्याला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोलखाका युवा नेताहरुलाई केन्द्रमा महत्वपूर्ण जिम्मेवारी दिँदै गर्दा पुराना नेताहरु भने जिम्मेवारीविहिन बन्न पुगेका छन् ।

राप्रपाले दोलखाका ३ जना नेतालाई केन्द्रीय पदाधिकारीमा चयन गर्दा सुन्दरप्रकाश खड्का लगायतका पुराना नेताहरु भूमिकाविहिन भएका हुन् । राप्रपाका जिल्ला अध्यक्ष राजन शिवाकोटी समेत निश्क्रिय बनेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी बिष्णु श्रेष्ठलाई दिइएको छ ।

गत माघ महिनादेखि राप्रपा दोलखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो । राप्रपा दोलखामा आन्तरिक असन्तुष्टि कायम रहेका बेला पार्टी केन्द्रले भने जिल्लाका नेताहरुलाई धमाधम महत्वपूर्ण जिम्मेवारी दिइरहेको छ ।

राप्रपाका युवा नेता बिजय खड्का पार्टीको केन्द्रीय सहायक महामन्त्रीको जिम्मेवारीमा छन् भने अर्का युवा नेता प्रविणकुमार थोकर केन्द्रीय सहायक प्रवक्ता छन् । पछिल्लो पटक राप्रपाले दोलखाको शैलुङ स्थायी घर भएका केन्द्रीय सदस्य सोभित उप्रेतीलाई सहायक कोषाध्यक्षमा मनोनित गरेको छ । योसँगै दोलखा राप्रपाका ३ नेता पार्टीको केन्द्रीय पदाधिकारीको जिम्मेवारीमा पुगेका छन् । सहायक कोषाध्यक्षको जिम्मेवारी पाउने नेता उप्रेती दोलखाका भएपनि उनको मतदाता नामावली भने काठमाडौंमा रहेको छ ।

दोलखामा क्रियाशिल प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये माओवादी केन्द्रले प्रदेशसभामा एक जना नेतालाई पनि सांसद बनाउन नसकेका बेला राप्रपाले पार्टी केन्द्रीय सदस्य समेत रहेकी दोलखाकी नेतृ मोनिका श्रेष्ठलाई बागमती प्रदेशसभामा समानुपातिक साँसद बनाएको छ ।

सांसद श्रेष्ठलाई गत वैशाख २२ गते बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सचेतकको जिम्मेवारी समेत दिएको छ । राप्रपामा दोलखाका रञ्जन कार्की केन्द्रीय सदस्य र राजन खतिवडा आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

राप्रपाले एकपछि अर्को युवा नेतालाई महत्वपूर्ण जिम्मेवारी दिँदा दोलखाका पुराना नेताहरु भने ओझेलमा परेका छन् । कुनैवेला कृष्णप्रसाद उप्रेती, रामप्रसाद उप्रेती, सुन्दरप्रकाश खड्का, बासुदेव थापा लगायतका नेताहरुले नेतृत्व गरेको राप्रपा दोलखा अहिले कार्यवाहक अध्यक्षको भरमा संचालन हुँदै आएको छ ।

कृष्णप्रसाद र रामप्रसादको निधन तथा बासुदेव थापा राजनीतिवाट निश्क्रिय भएपनि राजनीतिमा सक्रिय रहेका नेता सुन्दरप्रकाश खड्का समेत मागेको जिम्मेवार नपाउँदा असन्तुष्ट बनेका छन् । पूर्व केन्द्रीय सदस्य समेत रहेका खड्का अहिले पार्टीको ठोस जिम्मेवारीमा छैनन् । खड्काले आफुलाई कुनै जिम्मेवारी र अधिकार नदिएको प्रतिक्रिया दिनुभयो ।

उता बरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेर काठमाडौं रहेका अध्यक्ष राजन शिवाकोटी पनि पछिल्लो समय जिल्लाको राजनीतिमा निश्क्रिय छन् । उनी लामो समयदेखि पार्टीको अभियानमा देखिएका छैनन् । कार्य व्यस्तता जनाउँदै बरिष्ठ उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका शिवाकोटी पार्टीभित्र असन्तुष्ट रहेको स्रोतको दावी छ ।

तर, हामीसँगको कुराकानीमा शिवाकोटीले आफु व्यस्त रहेको र कार्यव्यस्तताकै कारण कार्यवाहकको जिम्मेवारी दिएको बताउनुभयो । कार्यवाहक अध्यक्ष श्रेष्ठले भने अध्यक्ष शिवाकोटीले केही समयकालागि छुट्टि लिएको प्रतिक्रिया दिनुभयो ।

राप्रपाका सहायक महामन्त्री बिजय खड्काले भने दोलखामा पार्टी गतिविधि तिव्ररुपमा अघि बढिरहेको र अव केन्द्र तथा जिल्लामा रहेका नेताहरु केन्द्रीय समितिको वैठकको निर्णय अनुसार अभियान लिएर गाउँ–गाउँ पुग्ने बताउनुभयो । उहाँका अनुसार राप्रपाले आगामी २०८२ सालसम्म देशभर लगातार गाउँ केन्द्रित अभियान चलाउने छ ।

५६ सदस्यीय जिल्ला समिति रहेको राप्रपा दोलखाले जिल्लाभर करिव ९ सय सक्रिय सदस्य रहेको दावी गरेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!