१५ जेठ, बाँपीझ्याला, काठमाण्डौँ । भारतले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३ करोड २३ लाख रुपैयाँ आर्थिक सहयोगमा डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवन निर्माण गरिदिएको छ । सोमबार काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह र जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
भारत सरकारको अनुदान सहयोगमा मंगलादेवी सिंह मेमोरियल छात्रावासलाई आवश्यक भान्सा कोठा, डाइनिङ हल, भण्डार कक्ष, वार्डेन कक्ष, गार्ड कक्ष, अतिथि कक्ष, कार्यालय कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, ग्रिन रुम, लन्ड्री, शौचालय, स्नानघर, सोलार ब्याकअप सिस्टम लगायतको सुविधा सहितको ३९ वटा कोठा भएकोे चार तल्ले छात्रावास भवनको निर्माण गरिएको हो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो ।
पद्मकन्या माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि राम्रो आवासीय सुविधा तथा गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गरिनेछ । सन् २००३ यता भारतले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने ४९० वटा परियोजना सम्पन्न गरेको छ ।