कृष्णनारायण श्रेष्ठ
१२ जेष्ठ, बाँपिझ्याला, काठमाडौंँ । काठमाण्डौं महानगरपालीकाको वित्तिय सहयोगमा नेवारहरुको एकमात्र राष्ट्रिय संगठन नेवाः देय् दबुको केन्द्रीय समितिको आयोजनामा दुई दिवसीय संस्था संचालन, क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम सफलताका साथ सम्पन्न भएको छ ।
हिजो जेष्ठ ११ र आज जेष्ठ १२ गते २०८१ मा सम्पन्न भएको उक्त तालिम समारोहको उदघाटन सत्रका अध्यक्षता गरिरहेका दबुका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले उदघाटन मन्तव्य दिने क्रममा तालिम कार्यक्रमको आवश्यकता र महत्व बारे प्रकाश पार्दै यसबाट संगठनमा रहेका प्रदेश र जिल्ला स्तरीय पदाधिकारीहरुमा संगठन विस्तारका साथै नेतृत्व विकासमा समेत उल्लेखनीय सुधार हुने आशा व्यक्त गर्नु भएको थियो ।
सोही कार्यक्रममा नेवा आन्दोलनका अगुवा तथा दबुका संरक्षक मल्ल के सुन्दरले नेवा देय दबुको परिचय साथै यसको स्थापनाका ऐतिहासिक पृष्ठभूमिको बारेमा समेत सविस्तार चर्चा गर्नु भयो ।
यसैगरी दबुका संरक्षक तथा पूर्व अध्यक्ष नरेश कुमार ताम्राकारले संस्थाको साँगठनिक संरचना विषयमा जानकारी गराउँदै विधान अघिवेसन पछि संस्थाले स्थानीय , क्षेत्रीय संगठन विस्तारको लागि सहज भएको कुरा स्पष्ट पार्दै नेवारहरुको बिचमा सांगठिनक मात्र होइन आत्मीय सम्बन्ध पनि स्थापित हुन जरुरी छ भन्ने बिचार व्यक्त गर्नु भयो ।
सोही कार्यक्रममा हिम्मत सिँह लेकाली, अनिल चित्रकार, सहदेव महत, शंखर महर्जन, काजल प्रधान र स्नेहा शाक्यबाट नेवार संगठनलाई सृदृढ बनाउन आवश्यक कुराहरुको बारेमा औँल्याउँदै सहि नेतृत्वका लागि हुनुपर्ने आधारभूत कुरा देखि लिएर सामुदायिक र आर्थिक क्षेत्रमा समेत निर्वाह गर्नु पर्ने भूमिकाहरुको बारेमा रोचक प्रस्तुतीका साथ अन्तक्रियात्मक तरिकाबाट प्रशिक्षित गर्नु भएको थियो ।
कार्यक्रमको समापनको अवसरमा समानुपातिक साँसद सुर्य कुमारी श्रेष्ठले तालीमबाट आफू उत्साहित भएको बताएका थिए । बागमती प्रदशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यका पनि उपस्थिति रहेको थियो । यसरी आज दुइ दिवसीय नेतृत्व बिकास लगायतको तालिम सम्पन्न भएको छ ।