२५६८ औ बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना ।
बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार सिर्जना गरेको भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र तनावबाट ब्युझाउन सहयोग गरे ।
जसरी कुनै सामान या मेशिन किन्दा त्यसको प्रयोग गर्ने तरिकाहरूसहितको यसो गर्नु या नगर्नु भन्ने तथ्यसहितको प्रयोग पुस्तिका पाइन्छ, त्यस्तै जीवन अनि जगतसम्बन्धी सहज अनि सफलताका प्रयोग पुस्तिका बुद्धले दिएर गएका छन् । हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ विजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बीचमा भएको थियो ।
आज विश्व बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् । २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । आउनुहोस्, आज बैशाख शुक्ल पूर्णिमाको दिन अर्थात् बुद्ध जयन्तीमा यिनै महापुरुष गौतम बुद्धको चर्चा गरौँ । गौतम बुद्धका जीवनमा यो बैशाख शुक्ल पूर्णिमाले ठूलो महत्व छ । उहाँको जन्म, ज्ञान प्राप्ति अनि समाधी यही बैशाख पूर्णिमाकै दिन भएको हो ।
शाक्यमुनीको जन्म विषयमा दुई तर्कहरू
शाक्यमुनिको जन्म विषयमा र मितिको हिसाबका लागि सिंहली र केन्टोनिज गरी दुई थरि मत छन् । एउटा मत लेखन अर्थात् साहित्यिक कृतमा आधारित छ भने दोश्रो मत चाहिँ शिलालेखमा आधारित छ । नेपालमा भने सिंहली मत अनुरूपको मिति चलेको छ, यो साहित्यिक श्रोतमा आधारित छ । सिंहलद्वीप श्रीलङ्कामा सिंहली मतको विकास भएको हो । नेपालमा थेरवादी बौद्ध धर्मको प्रचार–प्रसार श्रीलङ्काबाट भएको छ ।
त्यसकारण नेपालमा सिंहली मत अनुसारको भगवान् बुद्धको जन्म मिति प्रचलित छ । केन्टोनिज मतको विकास पूर्वी चीनको केन्टन शहरबाट भएको हो । भगवान् बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि प्रत्येक वर्ष केन्टनको एउटा ढुङ्गाको गुफाको पहरोमा एउटा थोप्लो अङ्कित गरेर बुद्धको महापरिनिर्वाण वर्षको अभिलेख राख्न थालियो । यसलाई डटेट रेकर्ड भनिन्छ । सन् ४८९ सम्म यस्तो थोप्लोको संख्या ९७५ पुगेको थियो ।
भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ । भगवान् बुद्ध महावीर जैन भन्दाअघिको देखिन आउँछ । तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।
यिनै शाक्यमुनिको जन्म, समाधी अनि ज्ञान प्राप्तिको दिनका रूपमा आज विश्वको उत्तरीदेखि दक्षिणी ध्रुवसम्म, मृत सागरदेखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारसदेखि बेइजिङसम्म आ–आफ्नै तरिकाले बुद्ध जयन्ती मनाइन्छ । आज हामी सबैका गौतम बुद्ध २५६५ वर्ष हुँदैछन् । भौतिक शरीर नाश भएपनि आफ्ना ज्ञान, वचन अनि अध्यात्मिक सीपमार्फत् बुद्ध हामी सबैको चित्तमा विराजमान नै छन् ।
बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मना साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ । यसका अनुसार, उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊँ भएको मानिन्छ । जन्मना साथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।
यद्यपि अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् । यी राजकुमारलाई मानव जीवनमा आईपर्ने पीडा र दुःख निवारण गर्ने ज्ञानको खोजी थियो । वर्षौपछिको यिनको तपस्याले निकालेको दर्शन र ज्ञान नै बुद्धत्व हो । ज्ञान प्राप्तिको पथमा बिरामी मानिसहरू, घाइतेहरू, लोभीका साथ–साथै आफ्ना सबैकुरा अरुलाई दान गरेर भिक्षु भएका मानिसको अवस्था पनि सिद्धार्थ गौतमले नियाले ।
त्यसपश्चात् आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतम नै आज संसारका महान गौतम बुद्ध हुन् । यसरी सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृहत्याग गरी बोधगया भन्ने ठाउँमा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपश्यामा लिन भए । तपश्याका क्रममा बुद्धलाई सम्यक सम्वोधी अर्थात् महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरूमा उनले त्यही महाज्ञानलाई बाँडे । संसारभर भगवान् बुद्ध भनी कहलिए । बुद्ध धर्म एक अनिश्वरवादी धर्म मात्र नभइकन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शन् हो, सर्वव्यापी दर्शन ।
यो धर्म शाक्यमुनि गौतम बुद्ध र उनका अनुयायीहरूका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम बुद्धलाई वर्तमान कल्पको चौथौ सम्यक सम्बुद्ध मानिन्छ ।
विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौं ठूलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलंका, बर्मा, थाइल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।
संसारभरि फैलिएको बुद्ध दर्शनको उदगम् बिन्दू नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ । तसर्थ, बुद्धको जन्मभूमिमा आजको दिनमा विभिन्न देशहरूले संसारभरिबाट अदभूत् मन्दिर गुम्बाहरू निर्माण गरेका छन् । बुद्धले ८० वर्षको उमेरमा निर्वाणा प्राप्त गरेका हुन् । उनले बोधगयामा कठोर तपस्या ध्यानपश्चात् महाज्ञान प्राप्त गरेका थिए । बुद्धका सबै शिक्षा र उपदेशहरूको संग्रहलाई त्रिपिटक भनिन्छ ।
त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू संग्रहित छ्न् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य–समुत्पाद हो । आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् ।
गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपालभूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्षेनी सार्वजनिक विदा दिँदै आएको छ ।
बुद्ध भन्नाले बोधी प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ । उत्तर कोरियाले अशान्त भएर संसारतर्फ क्षेप्यास्त्र तेरस्याईरहँदा, रंग, सम्पत्ति, भाषा र भूगोलका आधारमा विभेद भइरहँदा बुद्धको दर्शनले शान्तिको शान्तपूर्ण वकालत गरिरहेको छ । बुद्धका ज्ञानलाई आत्मसात् गरेमात्र पनि पृथ्वी गज्जबको ग्रह हुनेछ । संसारलाई अर्को बुद्ध चाहिएको छ, फर्की आउ शाक्यमुनि, शान्तिको सन्देश लिएर आऊ है ।
बुद्ध जयन्तीको हार्दिक शुभकामना ।