Search

नेवार समाज : ख्याक र उचुष्म जम्बललाई मिथक, परम्परा र संस्कृतिका रूप

नेवार समाज : ख्याक र उचुष्म जम्बललाई मिथक, परम्परा र संस्कृतिका रूप

६ जेठ, बाँपिझ्याला, काठमाण्डौं । नेवार समाजमा ख्याक र उचुष्म जम्बललाई मिथक, परम्परा र संस्कृतिका रूपमा लिइन्छ । धन, सम्पत्ति, वैभव प्रदान गर्ने देवताका रूपमा पुजिने उचुष्म जम्बल (कुवेर) का विविध स्वरूप छन् । उचुष्म जम्बलका यिनै विविधतालाई समेटेर कुपण्डोलस्थित पूर्ण म्युजिय अफ नेवाः आर्टमा शनिबारदेखि प्रदर्शनी सुरु गरिएको छ ।

‘उचुष्म जम्बल ढुकुटी’ शीर्षक कला प्रदर्शनीमा मूर्ति र पौभाकला राखिएका छन् । प्रदर्शनीमा मूर्ति निर्माणका नेपाली मौलिक परम्परा र प्रक्रियालाई समेत अवलोकनकर्ताले बुझ्ने शैलीमा प्रस्तुत गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले प्रदर्शनीको उद्घाटन गर्दै परम्परागत नामको महत्व बुझेर काठमाडौँ महानगरपालिकाको विभिन्न स्थानलाई पहिलाकै नाम राख्ने र नगरका पर्खालमा कलात्मक चित्र बनाउने अभियान सुरु गरिएको चर्चा गर्नुभयो ।

उपप्रमुख डङ्गोलले पम्परागत कलाको प्रवर्धनका लागि यस्ता प्रदर्शनीको विशेष योगदान हुने र परम्परागत मूर्ति बनाउन परिवार र समुदायकै सहभागिता रहने भएकाले यसबाट एकता र कलाकार परिवारमा सिपको हस्तान्तरण पनि हुँदै जाने बताउनुभयो । पूर्ण म्युजियम अफ नेवाः आर्टका निर्देशक प्रज्वल शाक्यका अनुसार स्व. पूर्णमान शाक्यले कलाकार उदयचरण श्रेष्ठले बनाउनुभएको उचुष्म जम्बलको चित्र सङ्कलन गर्नुभएको थियो । सोही चित्रलाई विशाल चित्र/विभिन्न धातुको मूर्तिमा परिणत गरी प्रदर्शन गर्ने स्वर्गीय बुवा पूर्णमानको सपना अनुसार प्रदर्शनी गरिएको हो ।

वरिष्ठ कलाकार उदयचरण श्रेष्ठले आफूले बनाएको सानो साइजको पानामा कोरिएको साधारण उचुष्म जम्बलको चित्रलाई शास्त्र अनुसार गहना, रङको संयोजनसहित सिँगार्ने र त्यसैसँग सम्बन्धित अन्य चित्र र मूर्तिसमेत बनाएर प्रदर्शनी गर्ने परिकल्पनाकार स्व. पूर्णमान शाक्यलाई प्रदर्शनीको सन्दर्भमा धेरै सम्झेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “धेरै समय लाग्ने यस्ता प्रदर्शनीका लागि काम हुँदै गर्दा पूर्णमान शाक्यको निधन भयो । आज उहाँको परिकल्पना साकार भएको दिन जस्तो लाग्छ । पूर्णमान शाक्यले थालेको कामलाई उहाँका परिवारले सम्हाल्दै पूरा गर्नु पनि निकै राम्रो काम हो ।

कलाकार श्रेष्ठले विशेष गरी परम्परागत देवतालगायत स्थानको समेत नाम अपभ्रंश हुने क्रम बढ्नुले यस्ता गतिविधिले मौलिकताको महìवमा प्रभाव पर्ने बताउनुभयो । पूर्ण म्युजियम अफ नेवाः आर्ट ग्यालरीमा उचुष्म जम्बलको चित्र, मूर्तिसँगै कुम्भ कलश, रत्न कुवेर, महेन्द्र कुवेर, मूर्ति बनाउने प्रक्रिया, विधिको, फोटो, मूर्ति, वैभव ल्याउने जीवको प्रतीकका रूपमा लोखर्के ख्याकसहित हिरामोती, सुनचाँदीले भरिपूर्ण वातावरण बनाएर ढुकुटीका रूपमा सजाइएका छन् ।

ग्यालरीका निर्देशक प्रज्वल शाक्यका अनुसार हजुरबुवा तीर्थमान शाक्यले सङ्कलन गर्नुभएको विशाल कलात्मक शङ्ख, फूलदानीलगायतका कलात्मक सम्पदा राखिएका छन् । सो अवसरमा यस प्रदर्शनीमा राखिएका चित्र/मूर्ति बनाउनुहुने कलाकारहरू सुमन शाक्य, अनिल शाक्य, सुगत शाक्य, स्वर्णिम शाक्य, सुनील वज्राचार्य, हृदय शाहीलगायतलाई सम्मान गरिएको थियो ।

पूर्ण म्युजियम अफ नेवाः आर्टका संस्थापक अञ्जना शाक्यले परम्परागत चित्र/मूर्तिको मौलिक भाव, सन्देशको प्रवर्धनका लागि विविध विषयमा अनुसन्धानात्मक विधिबाट लामो समय दिएर तयार गरिएका चित्र/मूर्तिको अवलोकन गरी प्रतिक्रिया दिन कलाकार र कला पारखीलाई आग्रह गर्नुभयो । सम्प्रेषणको लागि गोरखापत्र दैनिकीबाट

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!