२ जेठ, बाँपिझ्याला, दोलखा । दोलखा जिल्लाको मेलुङ गाउँपालिकाको पवटीमा मलामी बोकेको गाडी दुर्घटनामा परेको छ । छिमेकी शैलुङ गाउँपालिका वडा नम्बर ८ ढाँडे कुनेबाट मलामी लिएर घाट जाँदै गरेको बोलेरो दुर्घटनामा परि १४ जना घाइते भएको स्थानीयले बताएका छन् ।
तामाकोशी तर्फ आउँदै गरेको बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा अनियन्त्रित भएर दुर्घटना परेको हो । दुर्घटनामा चालक हरिबहादुर कार्की सहित सबै मलामी घाइते भएका हुन् ।
अहिले घटनास्थलमा खटेका स्थानीयले घाइतेको उद्धार गरी उपचारका लागि चरिकोट पठाउने काम भइरहेको छ ।
अहिले घाइतेहरुको अवस्था र विस्तृत विवरण भने खुल्न बाँकी छ । घटनास्थलमा प्रहरी टोली पठाइएको दोलखा प्रहरीले जनाएको छ ।