३१ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । नेपाली खेलाडी नविता श्रेष्ठ र श्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको अन्तिम चरणको दक्षिण एसियाली छनोटमा सोमबार लगातार दोस्रो जित हात पारेका छन् ।
पुरुष सिंगल्सतर्फ ग्रुप वानमा रहेका श्यान्टुले दोस्रो खेलमा बंगलादेशका रामहिमलियन बावनलाई ४-२ ले पराजित गरे । खेलमा श्यानट्ले रामहिमलियनलाई १३-११, १२-१०, ९-११, १२-१०, ५-११, ११-६ ले पराजित गरे । त्यसअघि श्यान्टुले पहिलो खेलमा माल्दिभ्सका अहमद अख्यारलाई ४-१ ले पराजित गरेका थिए ।
यस्तै महिला सिंग्लसतर्फ ग्रुप थ्री मा रहेकी नविताले दोस्रो खेलमा बंगलादेशकी सोनाम सोमा विरुद्ध ४-३ को रोमाञ्चक जित हात पारिन् । पहिलो सेट ११-८ ले आफ्नो पक्षमा पारेकी नविताले त्यसपछि लगातार तीन सेट गुमाएकी थिइन् । सोनामले ११-८, ११-९, ११-४ ले आफ्नो पक्षमा पार्दै ३-१ को अग्रता बनाएकी थिइन् ।
तर त्यसपछि नविताले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितिन् । उनले ११-४, ११-६, ११-८ ले पाँचौ, छैटौं र सातौं सेट आफ्नो पक्षमा पार्दै खेल जितिन् ।
त्यसअघि नविताले पहिलो खेलमा पर्निया खानलाई ४-१ ले पराजित गरेकी थिइन् । यसैगरी पहिलो दिन महिला सिंगल्सतर्फ इभाना थापा मगरले पनि विजयी सुरुवात गरिन् । उनले ग्रुप टुको खेलमा श्रीलंकन इशारा मधुरांगीलाई ४-१ ले हराइन् ।
पुरुष सिंग्लसतर्फ संयोग कपालीको प्रदर्शन मिश्रीत रह्यो । उनले पहिलो दिन एक जित र एक हारको नतिजाको निकाले ।
ग्रुप टु को खेलमा संयोग कपालीले बंगलादेशका मोहुतासिन अहमद रिदोएलाई ४-१ ले पराजित गरे । संयोगले रिदोएलाई ११-८, ११-७, ३-११, १३-११, ११-८ ले पराजित गरे ।