२८ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । दोलखाका दिवंगत सांसद पशुपति चौँलागाईको तेस्रो स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ । दिवंगत सांसद चौँलागाईको स्मृतिमा आज नेकपा एकिकृत समाजवादी र नेकपा एमाले दोलखाले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेका हुन् ।
नेकपा एकिकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा एक कार्यक्रम गरि चौँलागाईको स्मृति दिवस मनाएको छ । नेकपा एस दोलखा – काठमाडौँ सम्पर्क मञ्चले चौँलागाईको तेस्रो स्मृति दिवसको अवसरमा पुस्तक विमोचन कार्यक्रम गरेको हो । नेकपा एसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष माधव कुमार नेपालले “स्मृतिमा पशुपति चौँलागाई” नामक पुस्तक विमोचन गर्नुभयोे ।
यस्तै, नेकपा एमाले दोलखाले पनि जिल्ला पार्टी कार्यालय चरिकोटमा एक कार्यक्रम गरि चौलागाईको स्मृति दिवस मनाएको छ । प्रदेशसभा सांसद भरत केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य डवल पाण्डे, भरत दुलाल लगाएतले चौँलागाईले आफ्नो जीवनकालमा दोलखाको विकासमा पु¥याएको योगदानको विषयमा स्मरण गरेका थिए ।
नेकपा एमाले दोलखाले पनि स्वर्गीय सांसद चौँलागाईको विषय समेटिएको “पशुपति चौँलागाई स्मृति ग्रन्थ” निकाल्ने तयारी गरेको अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
स्वर्गीय सांसद चौँलागाईको स्मृतिमा आज नेकपा एकिकृत समाजवादी र नेकपा एमाले दोलखाले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेका हुन् । स्वर्गीय सांसद पशुपति चौँलागाईको स्मृतिमा उनकै गृहगाउँमा पहिलो पटक पुरुष भलिबल प्रतियोगीता हुने भएको छ ।
यसैबीच, चौँलागाईकै स्मृतिमा दोलखाको बैतेश्वर गाउँपालिकामा आगामी जेठ ३ गतेदेखि प्रथम दोलखा जिल्लास्तरीय अन्तरपालिका पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
पशुपति चौँलागाई फाउण्डेशनको आयोजना र काब्रे युवा सञ्जालको व्यवस्थापनमा चौँलागाईकै नाममा प्रतियोगिता आयोजना हुन लागेको हो । स्वर्गीय सांसद पशुपति चौँलागाईको स्मृतिमा उनकै गृहगाउँमा पहिलो पटक पुरुष भलिबल प्रतयोगिता हुने भएको हो ।
सांसद चौँलागाईको निधनपछि दोलखा सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताललाई पशुपति चौँलागाई स्मृति अस्पताल बनाईएको थियो । दोलखा जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद चौँलागाईको निधनपछि बागमती प्रदेश मन्त्रीपरिषदकै बैठकको निर्णय अनुसार सांसद चौँलागाईको स्मृतिमा अस्पतालको नामाकरण गरिएको हो ।
दोलखाको वैतेस्वर गाउँपालिका वडा नम्बर ४ काब्रे स्थायी घर भएका स्वर्गीय सांसद पशुपति चौलागाईको २०७८ साल बैशाख २८ गते कोरोना संक्रमणका कारण ६२ बर्षको उमेरमा निधन भएको थियो ।