Search

दोलखामा भीमेश्वर अक्षय तृतिया गुठीे र कालि मन्दिर यात्रा सम्पन्न

दोलखामा भीमेश्वर अक्षय तृतिया गुठीे र कालि मन्दिर यात्रा सम्पन्न

२८ बैशाख, बाँपिझ्याला, दोलखा । आज प्राचिन शहर दोलखामा मनाईने पर्व मध्ये भीमेश्वर अक्षय तृतिया गुठी र कालि मन्दिर यात्रा सम्पन्न भएको छ । यसरी अक्षय तृतियाको दिनमा कालि मन्दिरको रथयात्रालाई दोलखा शहर परिक्रमा गराउने प्रचलन रहेको छ ।

दोलखामा यस दिन सत्य पूजामा भगवान शिवले पार्वती संग विबाह गरेको दिन भनेर त्यसैको सम्झनामा भीमेश्वरलाई शिव पार्वती मानेर रुद्री गर्ने पाठपूजा गर्ने गरिन्छ । यसको पनि आफ्नो गुठी छ । यो गुठी कहिले देखि स्थापना भयो भनी एकीन गर्न सकिएको छैन तर जोशी खलकको भनाई अनुसार दोलखामा ब्राह्मण नहुदा भारतको काशी गएर दोलखाका तत्कालीन शासकले जयकृष्ण पाध्या भन्ने ब्राह्मणलाई डोलीमा बोकेर ल्याई आफ्नो गुरु पुरोहित मानेर राखियो । उनै जयकृष्ण पाध्यलाई बोकी ल्याएको डोली हालसम्म डोकलुङ्गा टोलमा रहेको छ ।

यसरी ल्याएका गुरु पुरोहीत दम्पती आफुहरु शिवको भक्त भएकोले यो गुठी राखिएको मान्यता रहेको छ । गुठीको निम्ती जग्गा राजभै खेत नागदह, सुर्के खेत, देगलबली बारी गुठीको निम्ती राखिएको देखिन्छ प्रमाण स्वरुप वि.स. १८६४ मा नेपालका तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले पहिलाको लालमोहरलाई पुन नविकरण गरिदिएको देखिन्छ ।

अक्षय तृतीयाको दिन भीमेश्वरमा रुद्री पाठपूजा हुन्छ । त्यस दिन जौको पिठो मुसेको कसरा र सर्वत प्रसादको रुपमा बाड्ने चलन छ । जोगी, ब्राह्मणलाई दान दिने गरिन्छ । पहिलो र दोस्रो दिनमा पनि पञ्चकन्याद्वारा नै राजहिटी र ब्रजवती धाराबाट चोखो पानी ल्याई भिमेश्वरमा रुद्री गरिन्छ त्यसपछि भिमेश्वरमा बोका पूजा गरेर घरफर्केपछि सबै दाजुभाइलाई भोज खुवाउने चलन रहेको छ ।

भीमेश्वरमा बोका पूजा गर्नको निम्ती राजभै खेत नागदह र सुर्केखेत बाट दुई वटा बोका आउने गर्दथ्यो । हाल सुर्केखेत बाट उक्त गुठीलाई आउनुपर्ने आयस्था आउन बन्द भयो यसको कारण उक्त खेत दोल्ती खोलाले बगाई सकेको अवस्थामा छ । पाखा जग्गामात्र बाँकी रहेको छ ।

त्यसै गरी अक्षय तृतीयाको दिन काली मन्दिरमा पनि विशेष पूजा आजा गरी काली मन्दिरको मुर्तिलाई खटमा राखी बाजा गाजा सहित दोलखा नगर परीक्रमा गरीन्छ र गुठीयारबाट जौको पिठो र सक्खर मिसाइ लड्डु र सर्वत प्रसाद बनाइ सम्पूर्ण दोलखा शहरका बासिन्दालाई बाँढ्ने गरिन्छ । कालि मन्दिरको मूर्ति अन्दाजी साल २०४३÷०४४ मा चोरी भई पुनः भेटीएको ।

फेरी २०५३ साल तिर काली मन्दिरको मूर्ति चोरी भए पछि माताकालीलाई पूजागरी खटमा राखेर शहर परिक्रमा गराइने चलन थियो । पछी हटेको थियो । तर पछी यस मन्दिरको व्यवस्थापन दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले जिम्मेवारी लिएपछि यस पर्वलाई खटमा हराएको मूर्तिको आसनमा काली भगवतीको फोटो खटमा राखि शहर परिक्रमा गराउने परम्परालाई निरन्तरता दिइएको छ ।

यस वर्ष पनि भीमेश्वर नगरपालिकाको र दोलखा भीमेश्वर गुठी व्यवस्थापनको आर्थिक सहयोगमा यस पर्वलाई निरन्तरता दिई अक्षय तृतीया पर्व हर्षोउल्लासका साथ मनाइएको छ ।

यसरी आज बैशाख शुक्लपक्ष तृतीयाको दिन उल्लास र उत्सर्गका साथ नेपालका बिभिन्न धार्मीक स्थल अक्षय तृतिया मनाउने चलन छ । यसै गरी छिमेकी राष्ट्र भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरू अक्षय तृतीया मनाउने प्रचलन रहेको छ ।

संयोजन: भरतबहादुर श्रेष्ठ, अध्यक्ष भीमेश्वर गुठी व्यवस्थापन समिती, दोलखा

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!