कृष्णनारायण श्रेष्ठ
२४ बैशाख, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालिका वडा नं २ दोलखा स्थित प्रसिध्द भीमेश्वर मन्दिरको दक्षिण पश्चिम तर्फ एउटा २ तले नयाँ भवन छ जुन घरेलु तथा साना उद्योग विकास कार्यालयको हो । तर यो भवन बेवारिसे अवस्थामा रहेको छ र भित्र संचालन हुनुपर्ने घरेलुका सरकारी कार्यालय भने नजिकैको सदरमुकाम चरिकोटको भाडाको घरमा बिगत १०÷१२ बर्षदेखि संचालन भइरहेको छ ।
कतिपयलाई यो कुरा सुन्दा पनि अचम्म लाग्न सक्छ तर वास्तविक यथार्थ यही नै हो हालसम्म पनि भवन खालि नै रहेको छ । देशमा गणतन्त्रिक शासन आएपछि बागमती प्रदेश सरकारको कार्यक्षेत्रभित्र परेको हुँदा काठमाडौँमा रहनु भएका दोलखावासीले बागमती प्रदेशमा हालै नियुक्त हुनुभएका उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय मन्त्री प्रकाश श्रेष्ठसंग भेटबार्ता गरी जानकारी गराएका छन् ।
यसरी दोलखामा तयारी अवस्थामा रहेको भवनमा नै कार्यालय संचालन गरी घरेलु तथा साना उद्योग बिकास कार्यालयले दिँदै आएको सेवा दिन लगाउने गराउने गरी आवश्यक नीति निर्देशन गरिदिन हुन एक ज्ञापन पत्र बुझाएको हो ।
दोलखालाई अत्यन्तै माया गर्नु हुने जेष्ठ नागरिक बरिष्ठ इन्जिनियर तथा समाजसेवी आत्माकृष्ण् श्रेष्ठको अगुवाईमा गएको समूहमा हेमराज श्रेष्ष्ठ, भल्ला मास्के, कृष्ण नारायण श्रेष्ठ, उपेन्द्र प्रधान, रत्नेश्वर श्रेष्ठ, शान्त श्रेष्ठ, जयराम श्रेष्ठ र यजु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
भेटवार्ताको क्रममा यस अघि पनि पटक पटक स्थानीय स्तरमा विभिन्न समूहले आफनै भवनमा घरेलु कार्यालय संचालन गर्न अनुरोध गरीएकोमा हालसम्म पुरा हुन नसकेको कुरा आत्माकृष्ण श्रेष्ठबाट जानकारी गराउँनु भयो । यसरी जानकारी पश्चात मन्त्री श्रेष्ठले दोलखावासीको तर्फबाट राखेको माग अनुसार दोलखामा रहेको भवनमा घरेलुको कार्यालय संचालन गराउन आवश्यक काम कारवाही थाल्ने बताउनु भयो ।
भवनमा मर्मत सम्भारको लागि यसै यही २०८१÷०८२ मा बजेट विनियोजन गराउने समेत बचन दिनु भयो । मन्त्रीसंगको भेटको क्रममा दोलखाको भवनमा कार्यालय सरेपछि स्थानीय बासिन्दाहरुको आर्थिक उन्नतिको लागि उपयोग हुने सीपमूलक तालिम दिन समेत अनुरोध गर्दा मन्त्रीज्युले आफू यसमा सकारात्मक रहेको स्पष्ट पार्दै अहिले भवनमा जतिसकिन्छ छिटो कार्यालय संचालनमा विशेष जोड दिने बताउनु भयो ।