११ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । बागमती प्रदेशमा यही आउँदो नेपाल सम्वत् ११४४ चौलागा त्रयोदशी, सोमबार, मञ्जुश्री संवत् २८६० नाम्दुङ २८ लानिरे, विक्रम सम्वत् २०८१ साल बैशाख २४ गते सोमबारको दिनदेखि नेपाल भाषा (नेवाः भाषा) र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू हुदैछ ।
यस सम्वन्धमा नेवाः देय् दवु बागमती प्रदेश, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिती र नेवाः देय् दवु स्वनिगः विशेष प्रदेश समितीले संयुक्त रुपमा एक बिज्ञप्ती जारी गरी उक्तदिन सार्वजनिक विदा घोषणा गर्नु पर्ने भनी माग गरिएको छ ।
भाषिक आन्दोलनको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण कार्य भएकोले यसलाई उत्सवको रुपमा मान्नु पर्ने भएकोले विदा दिनु पर्ने छ भनी विज्ञप्तीमा माग गरिएको छ ।
यसै गरी यी तिनवटा संगठनको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेश नेवाः तामाङ भाषा दिवस मनाउने उल्लेख गरिएको छ ।
विज्ञप्तीमा नेवाः देय्दवु बागमती प्रदेशको तर्फबाट अध्यक्ष विष्णुगोपाल महर्जन, नेपाल तामाङ घेदुङ बागमती प्रदेशको तर्फबाट अध्यक्ष लिलाकुमार घलान र नेवाः देय् दवु स्वनिग विशेष प्रदेशको तर्फबाट अध्यक्ष श्रीकृष्ण महर्जनले दस्तखत गरिएको छ ।