८ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । भारतको १८औँ लोकसभाका लागि पहिलो चरणको मतदान सम्पन्न भएको छ । पहिलो चरणअन्तर्गत शुक्रबार २१ राज्यको १०२ सिटमा मतदान भएको हो । मतदानका लागि शुक्रबार बिहानदेखि आममानिस लामबद्ध थिए । पहिलो चरणमा उत्तर प्रदेशका आठ सिट सहारनपुर, कैराना, मुजफ्फरनगर, बिजनौर, नगिना, मुरादाबाद, रामपुर र पिलिभित एवं पश्चिम बंगालका तीन सिट-कुचबिहार, अलिपुरद्वार र जलपाइगुडीमा मतदान भएको छ ।
यस्तै, बिहारको चार सिट औरंगाबाद, गया, नवादा र जमुई, जम्मु-कश्मिरको एक सिट, उधमपुर, महाराष्ट्रका पाँच सिट रामटेक, नागपुर, भण्डारा-गोन्दिया, गढचिरोली-चिमुर र चन्द्रपुर एवं मध्य प्रदेशका ६ सिट- सिधी, शहडोल, जबलपुर, मण्डला, बालाघाट र छिन्दवाडामा मतदान भएको छ । त्यसैगरी शुक्रबार असमका पाँच सिट काजिरंगा, सोनितपुर, लखिमपुर, डिब्रुगढ र जोरहाट, छत्तीसगढको एक सिट बस्तर, राजस्थान १२ सिट गंगानगर, बिकानेर, चुरु, झुन्झुनु, सिकर, जयपुर ग्रामीण, जयपुर, अलवर, भरतपुर, करौली-ढोलपुर, दौसा र नागौरमा मतदान भएको छ ।
त्यस्तै, त्रिपुरा एक सिट त्रिपुरा, पश्चिम मणिपुर एक सिट भित्री मणिपुर, तमिलनाडुका ३९ सिट तिरुवल्लुर, चेन्नई उत्तर, चेन्नई दक्षिण, चेन्नई सेन्ट्रल, श्रीपेरुम्बदुर, कान्चीपुरम, अरक्कोनम, वेल्लोर, कृष्णगिरी, धर्मपुरी, तिरुवन्नमलाई, अरानी, विल्लुपुरम, कालाकुरुची, सलेम, नमक्कल, इरोड, तिरुपुर, निलबगिरी, कोलिम्बिरिस पोल्लाची, डिन्डिगुल, करुर, तिरुचिरापल्ली, पेराम्बलुर, कुड्डालोर, चिदम्बरम, माइलादुथुराई, नागपट्टिनम, तन्जावुर, शिवगंगाई, मदुरै, थेनी, विरुधुनगर, रामनाथपुरम, थुथुकुडी, तेनकासी र कान्युमरीमा मतदान भएको छ ।
त्यस्तै, उत्तराखण्डका पाँच सिट टिहरी गढवाल, गढवाल, अल्मोरा, नैनीताल–उधम सिंह नगर र हरिद्वार, अरुणाचल प्रदेशका दुई सिट अरुणाचल पूर्व र अरुणाचल पश्चिम, अण्डमान निकोबार टापुहरूको एक सिट अण्डमान निकोबार टापुहरू, लक्षद्वीपको एक सिट लक्षद्वीप, मेघालयका दुई सिट शिलोङ र तुरा, मिजोरम एक सिट मिजोरम, नागाल्यान्ड एक सिट नागाल्याण्ड, पुडुचेरी एक सिट पुडुचेरी र सिक्किम एक सिट सिक्किममा मतदान भएको छ ।
पहिलो चरणमा एक हजार ६२५ उम्मेदवार प्रतिस्पर्धामा
सिटको हिसाबले यो सबैभन्दा ठूलो चरण हो । यसैबीच मणिपुरको विष्णुपुर जिल्लाको थमनपोकपीमा रहेको मतदान केन्द्रमा गोली चलेको छ । मतदानका क्रममा मणिपुरको विष्णुपुरमा गोलाबारी भएको बताइएको छ । बंगालको कुचबिहारमा हिंसा भएको छ भने छत्तिसगढको बिजापुरमा ग्रेनेड विस्फोट भएको छ । विस्फोटमा एक सहायक कमाण्डेन्ट र एक सैनिक घाइते भएका छन् ।
सन् २०१९ मा यी १०२ लोकसभा सिटहरूमध्ये बिजेपीले ४०, डिएमकेले २४ र कांग्रेसले १५ सिट जितेको थियो । अन्य दलले २३ सिट पाएका थिए । यो चरणमा अधिकांश सिटका लागि यी तीन दलबीच प्रतिस्पर्धा छ । पहिलो चरणमा एक हजार ६२५ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये एक हजार ४९१ पुरुष र १३४ महिला उम्मेदवार छन् । यसपटक आठ केन्द्रीय मन्त्री, एक पूर्वमुख्यमन्त्री र एक पूर्वराज्यपाल पनि चुनावी मैदानमा छन् ।
दोस्रो चरणको मतदान २६ अप्रिलमा
दोस्रो चरणको मतदान २६ अप्रिलमा हुनेछ । कुल सात चरणमा ५४३ सिटका लागि १ जुनमा मतदान सकिनेछ । सबै सिटको नतिजा जुन ४ गते आउनेछ । ९७ करोड मतदाता रहेको भारतको उक्त चुनावलाई विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक निर्वाचन मानिन्छ । एक करोड ५० लाख कर्मचारीले १० लाख मतदान केन्द्र सञ्चालन गर्नेछन् । यसै निर्वाचनबाट भारतको नयाँ प्रधानमन्त्री पनि चयन हुनेछ ।
चुनाव खर्च १४ अर्ब ४० करोड अमेरिकी डलर नाघ्ने !
भारतको निर्वाचनसँग जोडिएको खर्च पनि निकै ठूलो रहेको छ । दिल्लीस्थित ‘सेन्टर फर मिडिया स्टडिज’का अनुसार २०१९ को आम चुनावमा आठ अर्ब ६० करोड अमेरिकी डलर खर्च भएको र यस वर्षको लागत १४ अर्ब ४० करोड अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ । मोदी सन् २०१४ मा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो भने सन् २०१९ मा पुनः निर्वाचित हुनुभएको थियो । भाजपाले क्रमशः २८२ र ३०३ सिट प्राप्त गर्दै दुवै निर्वाचनमा ठूलो अन्तरले जितेको थियो । भाजपा र उसका सहयोगीहरूले आगामी चुनावमा चार सयभन्दा बढी सिट जित्ने लक्ष्य राखेका छन् ।
प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भारतीय इतिहासमा लामो समयसम्म सत्तामा रहँदा पनि सन् २०१४ को आम निर्वाचनमा राहुल गान्धीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर भाजपाविरुद्ध ठूलो हार बेहोरेको थियो । सन् २०२३ मा २६ विपक्षी दलहरूले ‘इण्डिया’ गठबन्धन गठन गरेका छन् । भारतमा आम आदमी पार्टी (आप)का अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्चमा संघीय सरकारको वित्तीय अपराध एजेन्सीले (इडी) भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो । उहाँले आफ्नो गिरफ्तारी राजनीतिक प्रेरित भएको बताउँदै आउनुभएको छ । भाजपाले उक्त आरोप अस्वीकार गरेको छ ।
पहिलोपटक वृद्धवृद्धा र अपांगता भएकालाई घरमै मतदानको व्यवस्था
भारतले पहिलोपटक वृद्धवृद्धा र अपांगता भएकालाई घरबाटै मतदानमा सहभागी हुनसक्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगका अधिकारी वृद्धवृद्धा र अपांगता भएकाको घरमा आफैँ गएर ब्यालेट पेपर जम्मा गर्न जुटेका छन् । भारतमा ८५ देखि ९९ वर्ष उमेर समूहका ८२ लाख मतदाता छन् । केही सातादेखि निर्वाचन आयोगका अधिकारीले वृद्धवृद्धा र अपांगता भएका व्यक्तिका घर-घरमा पुगेर मतपत्र संकलन गरिरहेका छन् ।
थप सामग्री : https://ehimalayatimes.com/2024/04/221338/