२१ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । भगवान बुद्धको जन्मस्थल पवित्र लुम्विनीमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा चैत २३ र २४ गते महोत्सव हुन लागेको हो ।
लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रुपमा विश्वव्यापी रुपमा प्रवर्द्धन गर्नुका साथै नेपाल र चीनबीचको जनस्तरको सद्भाव र सम्बन्धलाई अझ प्रगाढ बनाउन महोत्सवको आयोजना गर्न लागिएको मंगलवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
महोत्सवमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा प्रमुख कार्यक्रम समावेश हुने आयोजकले जानकारी गराएको छ ।
आयोजकका अनुसार महोत्सवमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन पुरस्कारका लागि मात्र १९ लाख १५ हजार रुपैयाँ छुट्याइएको छ । म्याराथनमा भाग लिने धावक मध्ये पुरुष धावकलाई प्रथम पुरस्कार ५ लाख रुपैयाँ, दोस्रो हुनेलाई ३ लाख, तृतीयलाई २ लाख रुपैयाँ गरी क्रमशः १० औं स्थानसम्म आउनेलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै हाफ म्याराथनमा भाग लिने महिलाका लागि प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख ६० हजार र तृतीय पुरस्कार १ लाख २० हजार राखिएको छ । यस बाहेक खुला रुपमा वाकाथनमा सहभागिता जनाउने र विद्यालयस्तरबाट भाग लिनेलाई १५ हजार, १० हजार र ५ हजार पुरस्कार राखिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ दूतावासका मिसन उपप्रमुख वाङ जिङले नेपालसँग मिलेर यस्तो कार्यक्रमले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताए ।