Search

संस्कृती: दोलखामा चिर दाह र फागु पूर्णीमा (होली)

संस्कृती: दोलखामा चिर दाह र फागु पूर्णीमा (होली)

नेपालीहरुको महान हर्ष र उमंगका साथ मनाउने महत्वपूर्ण सांस्कृतिक पर्व फागु पूर्णीमा (होली) को दिन हो । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा र चलन रहेको छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक भावनात्मक एकता प्रतिकको रुपमा यो पर्व मनाउने चलन रहेको छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने चलन छ ।

दोलखामा फागु पूर्णीमाको अधिल्लो दिन कुसुले जातीको फागुको अवसरमा चिर दाह, रात्रीकालिन दृश्यमा

फागु पूर्णिमाको अघिल्लो दिन राती प्राचिन शहर दोलखामा कुसुले जातीले आफ्नो फागु मनाउने गर्दछन् । शहरको तल्लो वस्ती राजकुलेश्वर तलेजु मन्दिर अगाडी आगो बालेर चिर ठड्याइ राखेको बास पडकाउने गर्दछन् । यो दिन चीर दाह मनाएको हो । त्यस पछि कुसुले जातीहरु दोलखा शहर परिक्रमा गर्दै सबै ठाउँमा गएर बत्ती बालेर फागु गाँउदै त्यस दिन फागु सिध्याउछन् । यो चिरदाह पर्व मनाउन गुल्लाँको गुठी सञ्चालन गर्ने पालो पर्ने थरी गुठीयारबाट आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन गर्नु पर्दछ ।

यसरी आवश्यक सामाग्रीहरुमा पूजाको लागि भाले १, चिउरा १ पाथी, दाउरा १ भारी, हरियो बाँस १ ओटा र पूजा समाग्रीहरु दिनु पर्दछ । यसको लागि कालिञ्चोकको खड्गबाट प्राप्त दै दस्तुबाट व्यवस्थापन हुनु पर्दथ्यो तर त्यहाँबाट आयस्ता आउन बन्द भएपछि स्थानियहरुबाट व्यवस्थापन हँुदै आइरहेकोमा विगत वर्षहरुदेखि स्थानिय निकाय भीमेश्वर नगरपालिकाले ऐतिहासिक प्राचिन नगरी दोलखा भित्र गुठी आम्दानी नभएका जात्रा पर्व सञ्चालनार्थ केहि रकम विनियोजित भएकोले त्यसै विनियोजित रकमबाट जात्रापर्व संचालन गर्दै आईरहेको छ । यसै गरी गतवर्ष रु. ७ हजार र यस वर्ष पनि ७ हजार रुपैयाँ विनियोजित रकमबाट चिरदाह जात्रा सञ्चालन भएको छ । यो चिरदाह सञ्चालन नभएमा दोलखा शहरमा फागु पूर्णिमा जात्रा सञ्चालन गर्नु हुँदैन भन्ने मान्यता रहेको छ ।

फागु पूर्णिमा (होली)
प्राचिन शहर अहिलेको भीमेश्वर नगर दोलखामा हरेक वर्ष शिवारात्री पर्वको दिन रातभर शिवमन्दिरमा धुनी जगाई भजन कृतन गरिन्छ र त्यस दिन वसन्त ऋतुमा गाइने वसन्त भजन विसर्जज गरि होलीको भजन आरम्भ गरिन्छ । भोली पल्ट फागुन कृष्णपक्ष चतुर्दशीका दिनदेखि होली खेल्न शुरु हुन्छ । त्यस दिन देखि १३ दिन सम्म चिरदाहको अघिल्लो दिन सम्म दोलखा नगरमा राती राती राइती धाराबाट सहनाइ र बाजा गाजाका साथ होली गित गाउँदै गणेश मन्दीर हँुदै दोलखा शहर परिक्रमा गरि होली खेलिन्छ । जुन अहिलेसम्म निरन्तरता चलि आएको छ ।

गृष्म ऋतुले सुख्खा भएका बोट विरुवाहरु आफ्नो सुन्दरता देखाउदै कोपीला हुन र फुल फुल्न थाल्दछन् भने किराफटेङग्रा देखि लिएर चराचुरुङ्गी सम्मले मधुर आवाजले गीत गाउन थाल्दछन् ।

द्वापर यूगमा भगवान कृष्णले गोपीनीहरुसँग रंग खेलेर आफ्नो रासलिला रचेका थिए । अझ पौराणिक कथन अनुसार हिरण्य कश्यपकी बहिनी होलीकाको नामबाट होली पर्व चलेको हो भन्ने धार्मिक मान्यता रहेको छ । तर जेसुकै होस यो पर्व हर्ष, उमंग रंगबाट खेलिने साँस्कृतीक महत्वको पर्व हो । प्रत्येक वर्ष हर्ष उमंग र खुसीका साथ दोलखावासी अनी नेपाली दाजुभाई, दिदीबहीनीहरुले भाइचारा कायम गर्दै मनाउदै मनाउँर्दे आएको महत्वपूर्ण पर्व हो ।

दोलखामा फागु पूर्णीमा (होली) :
यसरी प्राचिन शहर दोलखामा फागू पूर्णी (होली) कसरी मनाइन्छ त भन्ने बारे यहाँ उल्लेख गरिएको छ । महाशिवरात्रीको भोली पल्ट अष्टमीको दिन देखि रंग चल्छ भन्ने कथन अनुरुप केटाकेटीहरु रंग खेल्न थाल्दछन् । बेलुकी बाजा बजाएर सहनाइ फुकेर फागुको गित गाएर दोलखाको गणेश मन्दिरदेखि शुरु गरि दैनिक शहर परिक्रमा गर्ने गर्दछन ।

फागु पूर्णिमाको दिन माथिल्लो टोल र तल्लो टोल दुई समुह भएर फागु गित गाउने गर्छन् । दुवै टोलीहरु फागु खेल्दै दोलखा शहरको परिक्रमा गरि रमाएर राइती (तिन धारा) पुगेर नुहाइ धुवाइ गरी सकेपछि अन्तमा घाटो गाउदै भीमेश्वर स्थान तिर जाने गर्दछन् । अन्तमा भीमेश्वर स्थानमा पुगेर फागु पर्वको अन्त्य गरिन्छ । यस पर्वमा फागु गाएर घर फर्के पछि आ–आफ्नो घरगएर भोज खाने गरिन्छ ।

भरत श्रेष्ठ, दोलखा
लेखक भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष हुनु हुन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!