Search

आज विजयको पर्व होली

आज विजयको पर्व होली

वसन्तको आह्वान गर्ने होली रङ मन पर्नेहरूका लागि उल्लासको पर्व हो। असत्यलाई सत्यले पराजित गरेको सम्झनामा नेपाल र भारतीय मूलका हिन्दू धर्मावलम्बीले यो मनाउने उत्साह र आत्मियताको रङ्गीन पर्व पनि हो।

फाल्गुण शुक्ल पूर्णिमाका दिन केटाकेटीदेखि वृद्धवृद्धासम्म पुराणा कटुता र दुश्मनीलाई बिर्सिएर एकअर्कालाई रङ दलिदिएर होली मनाउने गर्छन्। होलीको अघिल्लो रात होलीका दहन गरेर बिहान एकअर्कामा रङ छर्किएर मनाइने यो पर्वको इतिहास त्रेता युगसँग जोडिएको विश्वास छ।

हिन्दूहरूका १८ पुराणमध्ये एक श्रीमद्भागवत पुराणको कथाअनुसार त्रेता युगमा दैत्यहरूका राजा भनेर चित्रित गरिएका हिरण्यकश्यप नामका एक खलनायक थिए। ऋषि कश्यपको कुलमा जन्मिएका उनी अत्यन्त पराक्रमी र शक्तिशाली थिए। भाइ हिरण्याक्षको भगवान् विष्णुले हत्या गरेपछि बदला लिन भगवान् ब्रम्हाको कठोर तपस्या गरेका उनले ब्रम्हाबाट उनले अनौठो वरदान पाएका थिए। हिरण्यकश्यपको तपस्याबाट प्रसन्न भएर ब्रम्हाले दर्शन दिएपछि उनले बडो चलाखीपूर्ण तरिकाले ‘मेरो मृत्यु भित्र होस् न बाहिर, न भूमि न आकाश न जलमा, न अस्त्र न शस्त्र, न उज्यालो न अँध्यारो, न मान्छे न जनावरबाट होस्’ भनी वरदान मागे। आफ्नो भक्तिबाट तृप्त भएका ब्रम्हाले तत्काल उक्त बरदान दिइहाले। त्यसपछि हिरण्यकश्यपमा घमण्ड अझै बढ्दै गएर भगवानको अस्तित्व नै मेटाउन खोजेको मान्यता छ।

तर संयोगवश उनकै पुत्रका रूपमा विष्णुको परम भक्तका रूपमा प्रह्लादको जन्म भएको पुराणमा उल्लेख गरिएको छ। विष्णुको आरधना गर्नबाट रोक्न अनेक यातना र सजाय दिए पनि प्रह्लादबाट विष्णुप्रतिको आस्था कम नभएपछि हिरण्यकश्यपले आफ्नै बहिनी होलीकासँग मिलेर प्रह्लादको हत्या गर्ने प्रयास गरेका थिए। वरदानमा आगोमा नजल्ने कपडा पाएकी होलीकाले प्रह्लादलाई काखमा लिएर आगोमा पस्नेबेला विष्णुको शक्तिले ठूलो हावाहुरी चलेर उक्त कपडाले प्रह्लाद ढाकिएको र होलीकाको मृत्यु भएको हिन्दू मान्यता छ। यसैको सम्झनास्वरूप होलीका दहनका रूपमा चीरदहन गरेर खुशी साँट्दै होली मनाउन थालिएको मानिन्छ।

यस पर्वमा होलीको अघिल्लो रात प्रह्लादलाई काखमा लिएकी होलीकाको मूर्ति तयार गरी उक्त प्रतीमालाई दाउराको हातमा राखेर दहन गरिन्छ। होलीका दहनको पछिल्लो बिहान रङ दलेर होली खेल्ने यस पर्वलाई असत्यमाथि सत्यको जित भएको दिनका रूपमा मनाइन्छ।

नेपालमा ठाउँअनुसार भिन्न तरिकाले मनाइने यो पर्व नेपालमा ठाउँअनुसार फरक(फरक तरिकाले मनाइन्छ। पहाडी जिल्लामा फागुन शुक्ल चतुर्दशी र तराईं(मधेशमा पूर्णिमाका दिन होली मनाइन्छ। सुदूरपश्चिममा होलीका दहन गरी अर्को दिन रङ खेलेर तथा बिना रङ नै सेतो लुगामा देउडा खेलेर समेत मनाइने यो पर्व मिथिला क्षेत्रमा राम र जानकीले फागुन शुक्ल सप्तमीका दिन कञ्चनवनमा रङ खेलेको विश्वास छ। त्यसैको सम्झना उक्त क्षेत्रमा आठौँ दिन ‘होरी’ उत्सव मनाउने गरिन्छ।

यसैगरी उपत्यकामा तीन जिल्लामा फरक(फरक किसिमले होली मनाइन्छ। काठमाडौंमा होलीको अघिल्लो साँझ वसन्तपुर दरबारअघि होलीका दहन गरी यस पर्वको शुरुआत गरिन्छ। पूर्णिमामा चीर ढालेर तानेर लगी टुँडिखेलको मध्यभागमा दहन गरिन्छ। त्यसको भोलिपल्टदेखि वसन्त ऋतु प्रारम्भ हुने मान्यता यहाँको रहेको छ।

भक्तपुरमा रातो कपडामा योनीको आकार बनाएर त्यसलाई जयप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिरसँगै रहेको भीमसेन मन्दिरमा रहेको लिंग आकृतिको काठसँग जुधाएर होलीको शुरुआत गरिन्छ। त्यसलाई टोल टोलमा घुमाएर फेरि त्यही मन्दिरमा राख्ने गरिन्छ।

होलीमा खेलिने रङले हाम्रो मस्तिष्क सफा हुने र सत्यको पक्षमा लाग्न प्रेरित गर्ने विश्वास छ। यस दिन विशेषगरी रातो, हरियो, पहेँलो तथा नीलो रङ बढी प्रयोग हुन्छ, जसलाई विभिन्न प्रतीकको सूचक मानिन्छ। रातोलाई शक्ति, शौभाग्य, साहस र प्रेमको, हरियोलाई प्राण, जीवनशक्ति एवं मार्मिकता, पहेँलोलाई भक्ति र धर्म तथा नीलोलाई सत्यका लागि गरिने लडाईँको प्रतीकका रूपमा लिइन्छ।

उसो त सत्य र आत्मियताको पर्वको रूपमा मनाइने रङ्गीन पर्व होलीमा पछिल्लो समय विकृतिहरू पनि बढ्दै गएका छन्। होलीमा आलाप भर्ने डम्फू, मृदङ्ग र झ्याली हराउँदै गएको छ त रङको स्थान विभिन्न रसायनले लिन थालेको छ।
रंगीनमय दिन होलीको सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहीनीहरुमा शुभकामना ।।।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!