Search

अलैँची प्रतिमन ७० हजार भएकोमा बिचौलियाले ८६ हजार विक्री गरेको भन्दै किसानहरु नियमनको माग

अलैँची प्रतिमन ७० हजार भएकोमा बिचौलियाले ८६ हजार विक्री गरेको भन्दै किसानहरु नियमनको माग

१० चैत्र, बाँपिझ्याला, काठमाण्डौं । अलैँचीको मूल्य निर्धारण बिचौलियाको हातमा रहेको भन्दै किसानहरूले नियमन गर्न माग गरेका छन् । बिचौलियाले किसानले विक्री गर्ने समयमा कम मूल्य बनाएर खरिद गर्ने र बढी मूल्य बनाएर विक्री गर्ने गरेको पाइएको हो ।

प्रतिमन ७० हजार सम्ममा विक्री गरेको अलैँची हाल बिचौलियाले ८६ हजार भन्दा बढीमा मूल्य निर्धारण गरेका छन् । अलैँचीको गुणस्तर र सामाग्री उही भए पनि मूल्य मात्र घटबढ गर्ने गरेपछि यसको नियमन गर्न किसानले माग गरेका छन् ।

पहाडी जिल्लाका किसानको प्रमुख आय स्रोतका रूपमा स्थापित अलैँचीको मूल्य शनिवार प्रतिमन ८६ हजार रुपियाँ पुगेको छ । किसानले बेचिसकेपछि अलैँचीको मूल्य आकासिएर प्रतिमन ८६ हजार प्रतिकिलो दुई हजार एक सय पचास रुपियाँ पुगेको हो ।

शनिवार झापाको बिर्तामोडमा प्रतिमन ८६ र पाँचथरको फिदिममा ८५ हजार रुपियाँमा किनबेच भएको फिदिमका अलैँची व्यवसायी खेमनाथ अधिकारीले बताउनुभयो ।

फिदिममा अलैँचीको मूल्य प्रतिमन ८५ हजार रुपियाँ पुगेको यो वर्ष पहिलो पटक हो । मूल्य बढे पनि अलैँची उत्पादक किसान स्वयम यो मूल्य पाउनबाट वञ्चित भएका छन् । सिजन सकिएसँगै किसानको अलैँची भण्डार पनि रित्तिएकाले बढेको मूल्यबाट व्यवसायीलाई भने केही राहत भएको छ ।

पाँचथरको फालेलुङ ३ का किसान बिरबल लिम्बूका अनुसार अलैँचीको सिजन सामान्यतया भदौ देखि सुरु भएर मङ्सिर पहिलो साता सम्म हो । किसानले प्रशोधन गरेका अलैँची भदौ देखि माघ महिना भित्रै बिक्री गरिसक्ने भएकाले यो बेला बढेको मूल्य सङ्कलक र व्यापारीले मात्रै भेट्छन् ।


‘यो वर्ष पनि बेसिजनमा मूल्य बढेकाले किसानलाई भन्दा धेरै फाइदा व्यवसायी र सङ्कलकलाई नै भयो ।’ लिम्बूले भन्नुभयो । व्यवसायीहरूका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क,ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ ।

व्यवसायी अधिकारीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क,ख र ग श्रेणीमा विभाजन गरिएको छ । शनिवार फिदिममा उत्कृष्ट (क) श्रेणीको ८५ ,मध्यम (ख) श्रेणीको ८४ र सामान्य (ग) श्रेणीको अलैँची प्रतिमन ८३ हजारमा किनबेच भएको हो ।

यस्तै बिर्तामोडमा क श्रेणीको ८६,ख श्रेणीको ८५ र ग श्रेणीको ८४ हजार रुपियाँ प्रतिमनका दरले किनबेच भएको छ । नेपालमा उत्पादन भएको अलैंंचीको बजार भारत हो । पूर्वी नेपालमा उत्पादन भएको अलैँची झापाको बिर्तामोड हुँदै भारत छिर्छ । त्यसपछि भारतले तेस्रो मुलुक निर्यात गर्दै आएको छ ।

अलैँची पूर्वी पहाडी जिल्लाका नागरिकको आम्दानीको भरपर्दो स्रोत हो । अरू अन्न नफल्ने नहुने भिरालो खोल्सा र पाखा भित्तामा पनि उत्पादन हुन भएकाले यसलाई ‘खोल्साको सुन’ पनि भनिन्छ ।

अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारबाटै निर्धारण भएर आउने गरेकाले त्यसको लाभ किसानले लिन नसकेका हुन । विशेष गरी पूर्वी पहाडका ताप्लेजुङ,पाँचथर,इलाम र संखुवासभाका कृषकको प्रमुख आय स्रोत नै अलैँची हो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!