Search

लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई क्षति नपुर्याउन विज्ञहरुको सुझाव

लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई क्षति नपुर्याउन विज्ञहरुको सुझाव

७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । बुद्ध जन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई क्षति नपुर्याउने गरी भौतिक पूर्वाधारका विकास गर्न विज्ञहरुले सुझाव दिएका छन्।

बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा युनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको आज सम्पन्न तीनदिने कार्यशालाका सहभागीले बृहत्तर लुम्बिनीको विकाससँगै प्राचीन सम्पदाको संरक्षण पनि महत्वपूर्ण हुने बताएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातात्विक विभाग र युनेस्कोको आयोजनामा आइतबारदेखि कार्यशाला भएको हो।

कार्यशाला समापन कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले अन्तर्राष्ट्रिय विज्ञ समितिले दिएका सुझाव ग्रहण गर्दै बुद्धजन्मस्थल विश्वभरका एक अर्ब बढी मानिसको आस्थाको केन्द्रसमेत भएकाले त्यसलाई पनि मध्यनजर गरी सुझावहरु दिन आग्रह गरे।

उनले लुम्बिनी जस्तै पुरातात्विकस्थलहरु अन्य देशमा पनि रहेकाले त्यहाँ जसरी नै यहाँ पनि तीर्थालुका लागि न्यूनतम सुविधा दिने विषयमा छलफल गर्नुपर्नेमा जोड दिए।

युनेस्को जापानिज फन्ड इन ट्रस्टको सहकार्यमा युनेस्कोद्वारा सञ्चालित परियोजनाले बृहत्तर लुम्बिनी क्षेत्रमा विगत १४ वर्षदेखि काम गर्दै आइरहेको छ। सोही परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय विज्ञ समिति गठन गरिएको हो।

प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको बैठक बस्दै आएको छ। लुम्बिनी क्षेत्रमा संरक्षणको मूल्यमान्यता राख्दै विकास गर्न सरकार, पुरातत्व विभाग, युनेस्को नेपाल र लुम्बिनी विकास कोषले स्वदेशी र विदेशी विशेषज्ञ सम्मिलित अन्तर्राष्ट्रिय विज्ञ समिति बनाइएको हो।

संयुक्त राष्ट्रसङ्घको सहयोगमा प्रोफेसर केञ्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको मर्मअनुसार सम्पदा संरक्षणका संरचना बनाउनुपर्ने, बृहत्तर लुम्बिनी क्षेत्रमा पनि त्यही गुरुयोजनालाई अनुसरण गर्नुपर्ने विज्ञहरुले यो वर्ष पनि सुझाव दिएका छन्।

समितिको छलफलमा विश्वसम्पदा केन्द्र युनेस्कोका सम्पदा विज्ञ प्रो रोलान्ड लिन, अन्तर्राष्ट्रिय विज्ञ प्रा डा रविन कनिङहम, प्रा डा युकियो निसिमुरा, विज्ञ डा काई वाइज, पुरातत्व विभागका महानिर्देशक शोभाग्य प्रधानाङ्गा, विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्य, पुरातत्वविद् वसन्त विडारी, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, युनेस्को परियोजना संयोजक नभा बस्न्यात थापा, कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती लगायतले प्रस्तुती राखेका थिए।

यस्तै कार्यशालामा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश सुरस श्रेष्ठ, कोषका योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य श्याम रोका लगायतले छलफल गरेका थिए।

तीनदिने कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रमा हाल भइरहेका गतिविधि र सम्पदाको दिगो संरक्षण र भावी योजनाका बारेमा छलफल गरी सुझाव दिइएको वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!