६ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । वरिष्ठ साहित्यकार परशु प्रधानको निधन भएको छ । ८० वर्षीय प्रधानको गएराति काठमाडौँको बानेश्वरस्थित निवासमा निधन भएको हो ।
प्रधानको बिहान ९ बजेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।
प्रधानका बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्यलगायत १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।
सीताहरु र घर कथोपन्यास पनि प्रकाशित भएका छन् । करिब एक दर्जन बाल कथाहरू पनि प्रकाशित भएका छन् । नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित भएका छन् ।
प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् । प्रधान पत्रकार प्रतीक प्रधानका बुबासमेत हुन् ।