२९ फागुण बाँपिझ्याला, काठमाण्डौं । भीमेश्वर नगपालिकाको उपमेयर कमला बस्नेतले सोक्ला शिक्षा सदन भवनको शिलान्यास गर्नु भएको छ । उपमेयर बस्नेत र वडा नं. २ का वडाअध्यक्ष स्टालिन श्रेष्ठले भीमेश्वर नगरपालिका वडा नं. २ सोक्ला भ्यालीमा भवनको संयुक्तरुपमा शिलान्यास गर्नु भएको हो ।
उपमेयर बस्नेतले सोक्ला भ्यालीको शैक्षिक गुणस्तर र वृद्धिका लागि नयाँ भवनको शिलान्यासले विशेष अर्थ राख्ने बताउनु भयो । सोक्ला, खेलाप, डाँडागाउँ, नेगल फुलपा र चक्पा क्षेत्रको शैक्षिकस्तर वृद्धिका लागि नयाँ शैक्षिक सत्रबाट बालशिक्षा सञ्चालन गर्न सक्ने सहयोग गर्ने उ मेयर बस्नेतको भनाई थियो ।
‘भर्खर नयाँ भवनको संरचना बन्दै छ । अझ व्यवस्थित र गुणस्तरीय शिक्षाका लागि स्थानीयले विशेष सहयोग र साथ दिनुपर्छ,’ उपमेयर बस्नेतले भन्नु भयो, ‘हामी आगामी आर्थिक वर्षमा थप बजेटको व्यवस्थापन गर्छौ ।’
यस्तै चक्पा सोक्ला खेलापको सडक, डाँडागाउँ सोक्ला सडकको स्तरउन्नतिको लागि विशेष जोड दिने उहाँको भनाई थियो । सोक्ला भ्यालीमा सिचांइको दिर्घकालिन व्यवस्थापनको लागि आफू गम्भीर भएको उपमेयर बस्नेतले बताउनु भयो ।
शिलान्यास कार्यक्रममा भीनपा २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, वडा सदस्य सविना विक, जग्गादाता तथा पुर्व वडासदस्य निरबहादुर तामाङ, राजकुलेश्वर विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधान, फुलपा आधारभुत विद्यायलका प्रधानाध्यापक हरिनारायण श्रेष्ठ, शिक्षक कुशकुमार खत्री लगायतको सहभागिता रहेको थियो ।
सो भवनको लागि चालु आवमा वडाले ३ लाख बजेट विनियोजन गरिएको थियो । शिलान्यास कार्यक्रमका लागि लामा गुरु मानध्वज लामाले पूजापाठ गर्नु भएको थियो ।