Search

अविवाहित सिर्जना कर्मले “आमा” नामबाट ख्याती प्राप्त

अविवाहित सिर्जना कर्मले “आमा” नामबाट ख्याती प्राप्त

दोलखा झुलेकी सिर्जना कार्कीलाई साना नानीहरूले मात्रै होइन, उनको उमेर समानकाले पनि आमा भन्छन् । ४९ वर्षकी अविवाहित सिर्जनाले यो ‘आमा’ नाम कर्मले पाएकी हुन् ।

बेसहारालाई उनको सहारा
सदरमुकाम चरिकोटमा बसेर आवाजविहीनहरूकी आवाज, भुइँमान्छेको सारथि, महिला र बालबालिकाकी सहारा, मानवअधिकार र सामाजिक मुद्दाकी अभियन्ता बनेकी सिर्जना कार्की समाजको सेवामा लागेकी एक समर्पित महिलाको रूपमा परिचित छन् ।

सबै उमेरका सहाराविहीन मानिसहरूको हेरचाह गर्दै आएकी सिर्जना आमाको माया, ममता र अभिभावकत्व गुमाएका बेसहाराहरूकी साझा आमा बनेकी छन् । अविवाहित सिर्जनाले नजन्माएका थुप्रै छोराछोरीलाई आमाको स्नेह र ममता प्रदान गरेकी छन् ।

समाजले हेला गरेका, घरपरिवारले छाडेका, दुःख दिएका, हिंसा गरेका, बालबालिका, महिला, केटाकेटी, लैङ्गिक हिंसा र यौनहिंसा भोगेका, मानसिक अवस्था बिग्रेका, गर्भवती, अनाथ बालबालिकाकी साहारा हुन् उनी । उनले तिनीहरूलाई न्याय दिलाउने मात्रै होइन, सहारा र संरक्षण दिएर हुर्काउने, बढाउने र पढाउने काममा गहिरो अभिरुचि साथ लागिपरेकी छिन् ।
तामाकोशी गाउँपालिका–२ झुलेमा सामान्य कृषक परिवारमा जन्मिएकी उनले गाउँकै अमर माविबाट कक्षा १० को परीक्षा उत्तीर्ण गरेकी छिन् ।

छोरीले काम गरेर बस्नुपर्छ भन्ने सामाजिक मनोविज्ञान बोकेको समाजमा जन्मेकी उनले ढिलो गरी स्कुल भर्ना हुने अवसर पाइन्, परिवारको कमजोर आर्थिक अवस्था र बीचमा बिरामी भएकाले पनि पढाइमा राम्रो गर्न सकिनन् ।
उनलाई राजनीतिकर्मी दाजु बाबुकाजी कार्कीले एकैपटक ४ कक्षामा भर्ना गरिदिएका थिए । ‘दाजुले जिरीबाट एसएलसी गरिसकेपछि बैनीलाई जसरी पनि पढाउनुपर्छ भनेर स्कुल भर्ना गरिदिनुभयो’ सिर्जना आफ्नो कहानी सुनाउँछिन्, ‘तर भनेजति पढ्ने वातावरण बनेन र टेष्ट पास मात्र मेरो औपचारिक शिक्षा रह्यो ।’

आफूले धेरै पढ्न नसके पनि सिर्जनाले थुप्रै पढे–लेखेका मान्छेले नगरेको, धन हुनेले गर्न नसकेको काम गरेकी छिन् । उनले सामाजिक दायित्व, सामाजिक नेतृत्व पूरा गर्दै सहाराहीनहरूको आश्रय बनेर मानवताको पाठशाला नै खोलेकी छन् । उनको यो मानवतावादी पाठशाला दाता र सहयोगी मन हुनेहरूले दिएको धन र मनले जेनतेन चलेको छ ।

यो पाठशालाको माध्यमबाट उनले २०६९ सालदेखि आजसम्म १५०० भन्दा बढी अनाथ, अन्यायमा परेका, बिचल्लीमा छोडिएका, सानैमा बाबुआमा गुमाएका, हिंसामा परेकाहरूको उद्धार गरेकी छन् । त्यसबाहेक उनीहरूको संरक्षण र पढाइ–लेखाइ गरेर समाज र देशलाई पाठ पढाइरहेकी छन् । १३ फागुन २०६९ मा ‘आवाज नेपाल’ नामको गैरसरकारी संस्था मार्फत सिर्जनाको यो सामाजिक काम अघि बढिरहेको छ ।

‘आवाज नेपाल’ लाई विधिवत् दर्ता गरेलगत्तै आफ्नै बाबुबाट जबर्जस्ती करणीमा परेका दुई बालिकालाई संरक्षणमा राखेर उनले आपत्कालीन सेवा केन्द्रको रूपमा आश्रयस्थल सुरु गरेकी थिइन् ।

यो ११ वर्षको अवधिमा बालबालिका, ज्येष्ठ महिला, एकल महिला, अपाङ्ग महिला, मानसिक रूपमा विचलन भएका, महिला बालबालिका, बलात्कारबाट गर्भवती महिला गरी १ हजार ५७० जनालाई संरक्षण गरेकी छिन् । उनीहरूलाई न्यायका लागि सम्बन्धित निकायमा धाएकी छिन् ।

उनीहरू सबैलाई एकै ठाउँमा राख्न सम्भव नभएपछि केहीलाई काठमाडौंमा रहेका विभिन्न होममा पठाइएको तथा केहीलाई परिवार पुनर्मिलन र समाजमा पुनस्र्थापना गर्न सफल भएको उनी बताउँछिन् । उनको केन्द्रमा अहिले ३० जना महिला तथा बालबालिकाले आश्रय लिइरहेका छन् ।

तिनमा आमाले छोडेका, आमाको मृत्यु भएका, बाबुको ठेगाना पत्ता नलागेका नाबालक बच्चाहरूको संरक्षण, पालनपोषण, शिक्षादीक्षा, जन्म दर्ता, नागरिकता एवं अन्य कागजात बनाउन आवाज नेपाल र सिर्जनाको सहयोग रहँदै आएको छ ।

अत्याचारले दुःखेको मन
सामाजिक काम गाउँघरमा सानै हुँदादेखि गर्ने, गाउँमा अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने, घर वरपर समाजमा हुने सहयोग, पूजा, बिहे मर्दापर्दा जस्ता सामाजिक कार्यमा सघाउने काम सिर्जनाले सानै उमेरबाट सिकेकी हुन् । बाल्यकालमा नै उनले बाटोघाटो सरसफाइ गर्ने, कोही बिरामी पर्दा बिरामी बोक्न र स्वास्थ्य चौकी लैजान तम्सिने गरेको झुलेका छिमेकी रुद्रबहादुर बुढाथोकी स्मरण गर्छन् ।

दोलखामा मानवअधिकार हनन्, महिला हिंसा र बालबालिका हिंसाका घटना धेरै नै हुने गरेका छन् । इन्सेकले सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तक २०२४ का अनुसार दोलखामा सन् २०२३ मा मात्रै घरेलु हिंसा पीडित भएको भनेर २० जना महिलाले जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दर्ता गराएका छन् ।
सो प्रतिवेदन अनुसार, यौन दुव्र्यवहारको घटनामा एक र बलात्कारका घटनामा १३ जना बालिका पीडित भएका छन् । इन्सेकका अनुसार, सन् २०२३ मा ज्यादतीका घटनामा ३१ जना महिला र ६ जना पुरुष पीडित भएका थिए ।

यस्ता घटना उबेलामा अझ धेरै हुन्थे । उनले बाल्यकालमा गाउँमा पति विदेश गएका महिलालाई तत्कालीन प्रधानपञ्च र गाउँले मिलेर गरेको अभद्र व्यवहार र गाउँ निकालालाई नजिकबाट देखेकी थिइन् । त्यो बेलाकी अबोध बालिका सिर्जनालाई एउटी महिला छोरी भएर जन्मनु, पति विदेशिनु र बच्चा नहुनुको कारण अनेक आरोप र लाञ्छना सहित चरित्रहीन भन्दै गरेको दुव्र्यवहार र दिएको यातनाले उनको मन दुखेको थियो ।

‘त्यही बेलादेखि गाउँमा भाउजु, बुहारी, छोरी, चेली र आमाहरूलाई गरिने दोस्रो दर्जाको व्यवहार र हिंसा विरुद्ध आफूले सकेको बोल्ने र प्रतिकार गर्ने मन लाग्थ्यो’ सिर्जना भन्छिन्, ‘त्यस्तै परिवेशले महिला आवाजलाई बुलन्द गर्न आज पनि लागिरहेकी छु ।’
महिला हिंसाका मामिलामा काम गर्दा कता–कता केही हदसम्म सफलता पाएको अनुभूति गर्ने गरेको उनी बताउँछिन् । ‘आफैंमा महिला भएर महिला हिंसा, न्याय, अधिकार र कर्तव्यको सवालमा सचेत हुने, थाहा पाउने र विश्लेषण गर्न सक्ने क्षमताको विकास भएको छ’ उनी भन्छिन्, ‘आफू एक्लै नभएर अन्य धेरै व्यक्ति वा निकायको साथ–सहयोग प्राप्त गर्न सक्नु नै यो अवस्थामा खुशी व्यक्त गर्न सक्ने मेरो आधार हो र यो नै सफलताको अनुभूति पनि हो ।’

उनले स्थानीय÷जिल्लास्तरमा उठाएका सवालहरूले राष्ट्रिय मान्यता पाएका छन् । पीडितहरूले न्यायको आशामा सहयोग खोज्न आफूसँग आउने र उनीहरूले पीडा व्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्न सकेको भन्दै उनी सन्तुष्टि व्यक्त गर्छिन् ।
तर जतिसुकै अन्याय, अत्याचार र हिंसा उजागर गरे पनि सबै घटनामा राज्यका सम्बन्धित निकाय र व्यक्तिले त्यसलाई कार्यान्वयन नगर्ने गरेको अनुभव उनीसँग छन् । आफूले लगेका समस्या सुनुवाइ नभएको, धाकधम्की सहितको चेतावनी आउँदा पनि आफू अलिकति पनि चिन्तित नभएको उनको अनुभव छ । उनी भन्छिन्, ‘यस्ता घटनाबाट पनि मेरो हौसला बढ्नुले लाग्दछ म अझ दरिलो भएकी छु ।’

समाजको आश र आक्षेप
आपत्मा परेकाहरूले मध्यरातमा आएर समेत सिर्जनाको ढोका ढकढक्याउँछन् । अन्यायमा परेका महिला तथा बालबालिका राज्यको प्रहरी प्रशासन र अन्य न्यायिक निकायमा जानुपूर्व ठूलो आशा र अपेक्षा लिएर सिर्जनाको आवाज नेपालमा पुग्छन् । हिंसा पीडित महिला र बालबालिकाहरूले राज्यको भन्दा पनि दरिलो आड र भरोसा सिर्जनामाथि राख्ने गरेका छन् ।
‘भरपर्दो र दिगो आर्थिक स्रोत, आवश्यक वासस्थल र अन्य आधारभूत वस्तु आफूसँग नहुँदा महिला, बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका मान्छेलाई पर्ने असुविधाले मन कुँडिन्छ’ उनी भन्छिन्, ‘सरकारसँग रिस पनि उठ्छ आफ्ना नागरिकको संरक्षणको प्रथम दायित्व सरकारको भए पनि हामीले सरकारलाई सहयोग गर्दा पनि ऊ हामीप्रति सहयोगी बन्दैन ।’

त्यति मात्र होइन समाजमा दाताहरूले दिएको सहयोग र आड–भरोसालाई अन्य अर्थ लगाएर सामाजिक कामको अवमूल्यन गर्ने मान्छेप्रति पनि सिर्जनाको चित्तदुखाइ छ । ‘हामी खाई–नखाई कति असहज अवस्थामा काम गरिरहेका हुन्छौं’ आक्रोशित हुँदै उनी भन्छिन्, ‘समाजको लागि सिन्को नभाँच्नेहरू अनेक आक्षेप लगाउन पुग्छन् ।’

सिर्जना अरूलाई न्याय दिलाउन अड्डा–अदालत, सरकारी अन्य कार्यालयमा दौडधूप गर्छिन् । समाजको मुद्दा बोकेर हिंडेकी छन्, थुप्रै हिंसा विरोधी जागरण अभियान चलाउँछिन् । नारी सचेतता, मानवअधिकार, बाल अधिकार जस्ता विषयमा रात–दिन भन्दिनन् । तब पनि मान्छेहरूले विवेक भुलेर अप्रिय टिप्पणी गरेकोमा उनको चित्तदुखाइ छ । ‘कुनै टिप्पणीप्रति मेरो प्रतिप्रश्न छैन, बरू आफ्नो कामलाई नै फोकस गर्छु’, सिर्जना आफ्नो निष्ठा व्यक्त गर्छिन् ।

तर समाजमा सबै कुरा काट्ने मात्रै हुँदैनन् । उनको कामले उत्तिकै सम्मान पाएको छ । महिला, बालबालिकाको संरक्षण र सम्वद्र्धनको काम गरेबापत सिर्जनाले सन् २०१७ मा पिस अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छिन् । उनलाई महिला, बालबालिका र मानवअधिकार रक्षाको विषयमा निष्ठापूर्वक काम गरेकोमा विभिन्न संघ–संस्था, स्थानीय तहहरूबाट सम्मान, प्रशंसापत्र, पुरस्कार, कदरपत्रहरू प्राप्त भएका छन् ।

सिर्जनाले १ लाख १ हजार १११ रुपैयाँ राशिको गौरादेवी ओली स्मृति राष्ट्रिय आमा पुरस्कार २०७७ प्राप्त गरेकी छन् । तामाकोशी गाउँपालिका, उप्रेती समाज सेवा समिति र विभिन्न संस्थाहरूले दिएका सम्मान र कदरपत्रले आफूलाई सामाजिक काममा हौसला मिल्ने गरेको उनी बताउँछिन् ।

राजन बस्नेत, दोलखा

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!