प्रा. डा. श्याम जोशी
महाशिवरात्रि पर्ब नेपाल लगायत विश्वभरी हिन्दूहरूले धुमधामले मनाउने गर्छन । शिव हिन्दूहरुले पूजा गर्ने तीन महान देवताहरू वा त्रिदेब ब्रह्मा, विष्णु र शिव मध्ये एक हो । प्रत्येक हप्ताको सोमबार लाई शिवको पुजा गरिने पवित्र दिन मानिन्छ । अक्सर फागुन महिनामा पर्ने महाशिवरात्री भगवान शिवलाई समर्पित ठूलो रात भएकोले यो दिनलाई महाशिवरात्रि रूपमा मनाउने गरिन्छ । भगवान शिवले घाँटीमा घातक हलाहलम विष राखेर विश्वलाई सर्वनाश हुनबाट रक्षा गरेको दिनको सम्झनामा यो पर्व मनाउंने गरिन्छ । यो पर्वमा व्रत बस्ने, भगवान शिवको पूजा गर्ने र रातभर जाग्राम बस्ने गरिन्छ । बिहानै स्नान गरी भक्तजनहरू मन्दिरमा गएर बेलको पात र धतुराको फूलले शिवको पूजा गर्छन् । भक्तजनहरू समय ओम नमः शिवायको मन्त्र जपेर बस्छन ।
महाशिवरात्रि पर्बको उत्पति बारे बिभिन्न रोचक पौराणिक कथाहरू पाइन्छन । ति मध्य यौटा किम्बदन्ती अनुसार एकपटक देवताहरू मन्थरा पर्वतलाई मन्थराको रूपमा र महान् नाग वासुकीलाई डोरीको रूपमा प्रयोग गरी दूधको महासागरबाट अमृत निकाल्नमा व्यस्त हुँदा नाग वासुकीले थकित भएर सम्पूर्ण ब्रह्माण्डलाई नष्ट गरिदिन सक्ने खतरनाक हलाहलम विष वमन गर्न लागे । शिवले यस्तो विपत्तिबाट विश्वलाई बचाउन सो विष पिए । पार्वतीले विष उनको घाँटी तल नजाओस् भनेर घाँटी थिचेर बसिन । विष्णुले पनि विष फैलिन नदिन शिवको मुख बन्द गरिदिए । देवताहरू चिन्तित भएर दिनभर व्रत बसेर रातभर शिवको सु–स्वास्थ्यको कामना गर्दै जाग्राम बसे । शिवले आफ्नो घाँटीमा विष शोषण गरेर राखे जसले गर्दा उनको घाँटी नीलो भयो । यहि कारण उनको नाम नीलकण्ठ रहन गयो । अतः देवताहरूले शिवको शुस्वास्थ्यको कामना गर्दै समर्पित गरेको रातलाई शिवरात्रि भनिन्छ ।
प्राचिन शहर दोलखा उपत्यका बाहिर सम्पन्न नेवारी संस्कृति भएको एक मन्दिरै मन्दिरको आफ्नै मौलिक परम्परा भएका शहर हो । यहाँ बाह्ै महिना केहि न केहि जात्रा र पर्ब देख्न सकिन्छ । बिशुद्ध नेवार समुदायको बसोबास भएको दोलखा शहरमा आफ्नै खाले चाडपर्व र जात्रामात्रा छन् । यहाँ हरेक चाडपर्वमा खाने पिउँने मात्र नभएर मनोरञ्जन गर्नका लागि पनि विभिन्न ब्यबस्था गरिएको पाईन्छ । यस्तै एउटा बिश्वभर हिन्दुहरुले बढो श्रद्धापुर्बक मनाउंने महाशिवरात्रि पर्ब यसपाली फागुन २५ गते (फागुन कृष्ण त्रयोदशि) को दिन परेको छ ।
यसरी दोलखा शहरको माथिल्लो टोलको सिम्भुथान, पिंगल टोल र टसिचा टोलमा महादेवका मन्दिर छन् । ति मध्य सिम्भुथान र पिंगल टोलका महादेंब मन्दिरमा मात्र स्थानीयहरु वासिन्दाद्वारा सरल रुपमा पुजाआजा र धुनी जगाउने काम हुन्छ । तर दोलखाको प्रख्यात भीमेश्वरनै महादेवको स्वरूप भएर पनि मलाई दोलखा शहरमा त्यसमाथि पनि भीमेस्वर मन्दिर परिसरमा महाशिवरात्री त्यति धुमधामले मनाएको थाहा छैन ।
सिम्भुथानको महादेव मन्दिरः
भीमेश्वरनै महादेवको स्वरूप हो भन्नुमा केहि आधार छन् । गौरीशंकर क्याम्पसका पूर्व प्रमुख दिवंगत बालकृष्ण जोशीले पहिलो पटक २०२४ सालमा श्री ५ को सरकार, संस्कृति बिभागद्वारा प्रकाशित “हाम्रो संस्कृति“ पत्रिकामा “एक शिला तीन अवतार“ शब्दावली प्रयोग गरेर दोलखा भीमेस्वर महिमा बारे लेख प्रकाशित गर्नु भएको थियो । उहाँले पहिलो पटक प्रयोग गर्नु भएको “एक शिला तीन अवतार“ शब्दावली हाल अत्यन्त लोकप्रिय भएको छ । सो लेखलाई उसबेला रेडियो नेपालमा कार्यरत वरिष्ठ कलाकार मदनदास श्रेष्ठले रेडियो नेपालको बिभिन्न कार्यक्रममा ४/५ पटक प्रसारित गर्नु भएको थियो ।
दिवंगत बालकृष्ण जोशीले आफ्नो दिवंगत हुनु पहिले वि.सं. २०७० साल तिर यो लेखमा केहि परिमार्जन गरेर राख्नु भएको रहेछ जसको एक अंश याँहा जस्ताको तस्तै प्रस्तुत गरिएको छः
“भिमेस्वरको उत्पति सम्बन्धमा अर्को पनि जनश्रुति पाईन्छ । गुप्तबासको समयमा पाण्डवहरु बनजंगल, डांडाकाँडा हुदै दोलखा आइपुगेका थिए । सो समयमा द्रौपदी अत्यन्त थकित भई आफ्नो असक्त अबस्था बारे बताउंदै रुंन थालिन । तिनको अशक्त शारीरिक अबस्था लाई ध्यानमा राखी भीमसेनले गौरीशंकर हिमाल तर्फ हेरी महादेवको ध्यान गरि महादेवको पुजा गरेपछी द्रोपदी स्वस्थ भएर हिड्न सक्षम भएकी थिइन् । त्यसपछि भीमसेनले महादेबको मूर्ति स्थापना गरेर पुजा गरेका थिए । यसरी भीमसेन द्वारा स्थापित महादेवको मूर्ति भएकोले यो लिंगाकार शिला लाई भीमेश्वर भनिएको हो । यसलाई महादेवको मूर्ति नै भन्ने यो कारण पनि हो कि महादेवको बिबिध नामको पछाडी “स्वर” भन्ने शब्द जोडिएको पाईन्छ जस्तै कोटेश्वर महादेव, बैतेस्वर महादेव, बिशेस्वर महादेव, रामद्वारा स्थापित रामेश्वर, भस्मेस्वर महादेव आदि।”
शिबरात्रिमा भिमेस्वर मन्दिर :
उहाँले दोलखा भिमेस्वरको तीन रुप – (१) महादेव (सदा रुद्री गरिने ) (२) भिमसेन (गरगहनामा सजाएर नित्य पुजा गरिने ) र (३) भगवती ( वा भैरब ) (राँगो, बोका बलि दीइने) भएकोले “एक शिला तीन अवतार” बिशेषन प्रयोग गर्नु भएको हो जुन त्यहाँको पुजाहरुमा स्पस्ट प्रतिबिम्बित देख्न सकिन्छ । प्राचिन समयमा देबताहरुले रुप फेरे झैं भिमेस्वरले पनि बेला बेलामा आफ्नो स्वरूप फेर्द्छ भन्ने उहाँको भनाइ दोलखाको ईतिहासमा पनि उल्लेख छ ।
ईतिहास लिखित या भौतिक प्रमाणहरुमा आधारित हुन्छ, मन्गढन्ते गफ र अपब्याखामा हैन । दोलखाको ऐतिहासिक रुपरेखामा (टेकबहादुर श्रेष्ठ तथा धनबज्र बज्राचार्य) उल्लेख भए अनुसार “अन्तका भीमसेनस्थानमा जस्तो यहाँ भीमसेनको बिशेष मूर्ति छैन । एक किसिमको शिवलिङ्ग आकारको मूर्ति मात्र छ । यहाँका भीमसेन लाइ “इश्वर” (महादेव) मानि रुद्री पनि गरिन्छ । साथै मेसबली, पन्च बलि आदि पनि दिइन्छ । मेसबली दिंदा भिमेस्वरको मूर्तिमा खादाले बेरिन्छ । यसरी बलि दिने बेलामा भिमेस्वरको इस्वरत्व पछाडिको चुड़ामणीनिमा सर्छ भन्ने लोकबिस्वास छ।“ ।
ईतिहासकारहरुका अनुसार भीमेश्वरभण्डारमा रहेका पुराना सुबर्ण पत्र, ताम्रपत्र, गदा, तोरण, गजुर आदिमा महादेव, श्री ३ महादेव, ठुलो महिमा भएको शंकर, श्री ३ भीमसेन, श्री ३ भीमेश्वर, श्री ३ भिमराणेस्वर अंकित गरिएका छन् । ने. सं. ६८८ अर्थात बि. सं. १६२४ को सुबर्ण पत्रमा भिमेस्वरको लिंगाकार मूर्तिलाइ महादेवको बेशभुषाको बर्णन सहित स्पस्ट संग ‘श्री ३ महादेव’ र ‘शंकर’ सम्बोधन गरेर अभिलेख कुँदिएको छ । भीमसेन मूर्ति पछाडीको छत जस्तो पातामा श्री ३ भीमेश्वर लाई नमस्कार, भक्तहरुको बिध्न हर्ने, पाण्डबहरुमा शिरोमणि भएका, कौरभहरुका नाश गर्ने, द्रौपतिका मन पर्ने भीमसेन लाई ढोगछु भन्ने कुँदिएको छ । यसले स्पस्ट शंकेत गर्छ कि दोलखाका भीमेश्वर भीमसेन द्वारा स्थापित महादेव हो जसको कारणले दोलखाको भीमेश्वरलाई भीमसेन पनि भनिएको हो ।
दोलखा भीमेस्वरमा बाह्ै महिना भक्तजनहरुले आफ्नो कल्याणको पुकार गर्दै रुद्री सहित पुजा गर्छन । रुद्रीको अवसरमा मूर्तिको माथितिर झुन्ड़ाई राखिएको बिशेष भाँडाबाट मूर्तिमाथि दुध मिश्रीत जल निरन्तर प्रवाह गरिन्छ । महादेवको रुपमा भक्तजनहरुले चढाएका थुप्रै त्रिशुल, ढलोटका साँढेहरु र डमरु देख्न सकिन्छ । त्यस्तै परापुर्बकाल देखि नै मन्दिर अगाडीको पाटीमा अहोरात्र धुनी जगाएर जोगी बस्ने गर्दछ । भीमा एकादशीको बेला टाढा टाढा बाट पन्चइ बाजा बजाएर भगवान शिब संग सम्बन्धित बेल रुखको पात ताम्दानिमा राखेर चढाउँन ल्याउंछन् । अतः अब दोलखामा पनि महाशिबरात्रि धुमधाम संग मनाँउंन पहल गर्न बिलम्ब गर्न हुँदैन ।
प्रा. डा. श्याम जोशी
सिद्धिचरण मार्ग , शान्तिनगर , काठमाण्डौ
फोन : ९८४१७३८४७९