हाम्रो वैदिक सनातन संस्कारमा वर्षको ३६५ दिनमा हरेक दिन नै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरू आनन्द अनि स्वतन्त्र रूपले जिउन सिकाउनालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरूले त होला पश्चिमाहरू पनि पूर्वतर्फ फर्कन थालेका छन् । हाम्रा चाडपर्वहरू जीवन जिउनका विभिन्न कारणहरू अनि उदेश्यहरु प्रति समर्पित छन्, हरेक चाडले केही न केही सिकाएर अनि झकझकाएरै जान्छन् ।
कति चाडपर्वहरू ऐतिहासिक घटनाको सम्झनाका लागि, कतिपय विभिन्न सामाजिक कार्यहरु अनि कृषिकार्य हरु जस्तै धान रोप्ने, अन्न भित्र्याउने अनि बीजहरू छर्ने आदिजस्ता विषयवस्तुसँग सम्बन्धित छन् । वैदिक नेपाली सनातन संस्कारका यी सबै चाडपर्वहरू अनि तिनका सरल ब्याख्याका साथ नेपाली यादहरूको कोसेली लिएर वर्ष दिनभरि यहाँहरू समक्ष आउनेक्रममा आज हामी महाशिवरात्रिको शुभकामना लिएर आई पुगेका छौँ ।
चन्द्र मासको चौधौँ दिन अर्थात् नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ, यस अर्थमा वर्ष दिनभरि १२ वटा शिवरात्रि रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिको आध्यात्मिक अनि सांस्कृतिक महत्त्व अतुलनीय छ । यस रात वैज्ञानिक रूपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरूमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । शायद यसै कारणले होला यस दिन प्रकृति लेनै मानिसलाई आध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । यसै आध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्रि मनाइने सांस्कृतिक चलनलाई वैज्ञानिक रूपमा व्याख्या गरिएको पाइन्छ ।
अझ नेपाल त झन् इतिहासले पनि आफ्नो दस्ताबेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्ताबेजमा उल्लेख गरिएको श्लेष्मान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शीतल छाया परेको भूमि अनि हिन्दुहरूको आस्थाको भूमि ।
आज पशुपतिनाथमा विशेष घुइँचो रहन्छ, आज पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रूपमा व्याख्या गर्न सकिन्छ । साधुहरूको व्यापक उपस्थिति रहन्छ आज पशुपतिमा, विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि यो हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि संन्यास जीवन व्यतीत गरिरहेका साधुहरू भारत अनि नेपालका विभिन्न भागहरूबाट पशुपतिनाथ दर्शन, भ्रमण कालागि आउने गर्दछन् । फर्कने बेला उनीहरूलाई पशुपति विकास कोषले दक्षिणा अनि भेटी सहित औपचारिक बिदा दिने चलन पनि छ ।
आजको दिन शिवको वरिपरि घुमेको छ , शिव ती भगवान् जसको आकार छैन, जसलाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जसको रिसको विध्वंसले संसारका सम्पूर्ण अवयवहरूलाई छिन्नभिन्न गरिदिन सक्छ, ती शिवको विशेष अनि प्रिय दिन हो आज ।
शिव अर्थात् त्यो तत्त्व जुन छ पनि र छैन पनि, आजको आधुनिक विज्ञानले सम्पूर्ण कुराहरू जुन श्रोतबाट आउँछ त्यसैमा विलीन हुन्छन् भनी अणु अनि परमाणु अवयवहरूको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान् शिवको अस्तित्वले संसार अनि सृष्टिलाई एउटा दृष्टान्त दिईनै रहेको छ । विज्ञानले धेरै अध्यनपछी संसारका हरेक कुराहरू अनि जीवहरू ब्रह्माण्डका तत्त्वरूपी शक्तिबाट बन्ने र तिनैमा विलीन हुने निष्कर्षमा पुगेको छ, यस ब्रह्माण्डका एउटा शक्तिका अनेक स्वरूपहरूमा हावा, पानी, आगो, आकाश अनि माटो रहेको पञ्चतत्वका रुपमा व्याख्या गरिन्छ । यिनै तत्त्वहरूबाट हामी सबै निर्मित छौँ, ब्रह्माण्डका यी सम्पूर्ण स्वरूपको एउटै श्रोत भगवान् शिव हामी सामु अनेक स्वरूपमा छन् ।
यो हावा, सुख्खा यो फाल्गुनको महिनामा उडेका झरेका पातहरू, पलाएका पालुवादेखि छरिएको विजले माटोमा अङ्कुरण गर्ने स्वरूपसम्ममा त्यो निराकार शिवतत्वको उपस्थिति छ । धर्म अनुसार नाम फरक होला, व्याख्या फरक होला तर शिवतत्वका सृजनाका रुपमा हामी रहेका छौँ । के बालक के वृद्ध अनि के वयस्क रु आज नारी पुरुष, स्वदेशी विदेशी आदि सबैको घुँईचोले शिवालयहरू भरिएका हुन्छन्, हामी मध्य धेरैले शिवलाई गाँजा भाङ धतुरो आदि सेवन गर्ने एउटा अचम्मको भगवानपात्रका रूपमा अपव्याख्या या अल्पसङ्ख्या गरिरहेका हुन सक्छौँ तर शिवका यी सम्पूर्ण बानीभित्र सृष्टि अनि समाजको गहिराई लुकेको छ ।
शिव तिनै हुन् जसले विष पिएर नीलकण्ठ भएर गोसाईंकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामयिक मृत्युको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अश्रुका धारा बगाउँदै लामो समयसम्म ब्रह्माण्ड यात्रा गरेका थिए, त्यही यात्राका क्रममा गल्दै गएको सतीदेवीको शरीरका अङ्गहरू जहाँ जहाँ विसर्जन भए त्यहाँ त्यहाँ शक्ति पीठहरूको उत्पत्ति हुँदै गयो ।
आज तिनै शिवको विवाह वार्षिकी अनि साधकहरुका लागि भने आज शिव भगवान् पर्वतको रूप धारण गरेर अचल, अमर अनि अजर आशुतोष हुनुभएको दिन हो तसर्थ शिवरात्रिको रातलाई अचल अनि निर्भय रात्रीका रुपमा पनि लिइन्छ । योगी अनि साधकहरुका लागि शिव भगवान् नभईकन एउटा आदि गुरु हुन् जसले योग शिक्षा सप्तऋृषिहरुलाई औपचारिक अनि दस्तावेजका रुपमा हस्तान्तरण गरेका थिए, तिनै योग अनि अभ्यासहरू आज संसारभरि स्वास्थ्य रहन कालागि धेरैले अनुसरण गर्ने गर्दछन् । यी प्रात कालका नायक अनि आदिकालदेखिका आदि गुरु शिवप्रति समर्पित आजको दिनमा सबैको कल्याण होस् ।
संसारमा सबै कुरा शिवतत्वबाटै आउँछ अनि त्यसै तत्त्वमा मिसिन्छ, धन, जन या तन त्यागेर भन्दा पनि सच्चा मान्छे हुन अहम् त्यागेर त्यागी बन्न सकौँ । गाँजा भाङ अनि धतुरोको सेवनले शिव बनाउँदैन, शिवतत्वको आत्मसाथ गरौँ, यो शिवरात्रिमा रिस, राग अनि अहङ्कारको त्याग गरौँ अनि जीवनको साँचो पथतर्फ लम्कदै जाँऔ यही छ शिवरात्रीको हार्दीक शुभकामना ।