१७ फागुण, बाँपिझ्याला, काठमाण्डौं । आज संघीय संसदअन्तर्गतका ४ वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट सुरु भएको छ ।
बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पन्ज आइरन र विलेट्सबिच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७०,३, ६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल भइरहेको छ ।
त्यस्तै बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागको कामकारबाही सम्बन्धमा छलफल हुनेछ । बिहान साढे ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकका सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।