१२ फागुण, बाँपिझ्याला, दोलखा । यही फागुण १३ गते शुरु हुने दादुरा रुबेला विरुद्धको खोप कार्यक्रममा दोलखा जिल्लामा ११ हजार बढी वालवालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाईने भएको छ ।
जसमा भीमेश्वर नगरपालिकामा २ हजार ६, कालिन्चोक गाउँपालिकामा १ हजार ५ सय ४९, शैलुङमा १ हजार २ सय ५७, बिगुमा १ हजार २ सय ३२ जना वालवालिकालाई खोप लगाईने लक्ष्य रहेको थाहा भएको छ । यस्तैगरी गौरीशंकर गाउँपालिकामा १ हजार १ सय ३०, मेलुङ गाउँपालीकामा १ हजार ९४, बैतेश्वर गाउँपालीकामा १ हजार ४१ जना, तामाकोशी गाउँपालीकामा ९ सय ८१, जिरी नगरपालीकामा ९ सय ६६ जना वालवालिकालाई खोप लगाईने तयारी गरिएको र जसमा ९ महिनादेखि ५ बर्षसम्मको बालबालिकाहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
दादुरा रुबेला रोग लागेको १ जना व्यक्तिले १८ जनासम्मलाई सो रोग सार्न सक्ने भएकाले यसबाट सुरक्षित रहन सम्पूर्ण बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउन कार्यालय प्रमुख उत्तमराज खनालले आग्रह गर्नुभएको छ । अति संंक्रामक रोग भएकाले पाँच वर्षमुनिका बालवालिकाको मृत्यु गराउने रोगहरुमध्ये दादुरा एउटा प्रमुख कारक मानिन्छ । खोप लगाउनाले दादुराको जोखिमबाट बच्न सकिने प्रमुख खनालले बताउनुभयो ।
दादुरा रुबेला बिरुद्धको खोप अभियानसँगै नियमित खोप लगाउन छुट भएकाहरुलाई पनि खोप लगाईने जिल्ला खोप फोकल पर्सन पवन भाटले जानकारी दिनुभयो । उहाँका अनुसार खोप लगाउनका लागि २ सय ३१ वटा खोप केन्द्र तोकिएको छ । खोप अभियानका लागि १ सय ३२ जना खोपकर्ता र ३ सय २० जना स्वयम्सेवक खटाईने बताउनु भयो ।