७ फागुण बाँपिझ्याला, दोलखा । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि सुरु हुँदै छ। प्रजातन्त्र दिवसको अवसर पारेर ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुने कांग्रेस महासमिति बैठक ३ दिनसम्म चल्ने छ। कांग्रेस प्रचार–प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको तयारी पुरा भएको जानकारी दिए।
महासमिति बैठकमा २ हजार १ सय ५ जना सहभागी हुने भएका छन्। वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १ सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरू १ हजार ७ सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराइने कांग्रेसले जनाएको छ।
फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नुरहेको विश्वकर्माले बताए।
सोमबार दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने उनले बताए। उनका अनुसार महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन्।
ती प्रतिवेदनहरू समूहगत रूपमा छलफल हुनेछ तराई, मधेस, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिनेछ। चार वटा हलमा छुटा छुटै रूपमा प्रतिवेदनहरू माथि छलफल हुने उनको भनाइ छ।