Search

भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु

भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु

५ फागुण, बाँपिझ्याला, काठमाण्डौं । देशभरिका महिला उद्यमी सम्मिलित दुईदिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ भैरहवामा सुरु भएको छ। ‘महिलाको लगानी, घर घरमा उद्यमी’ नारा भन्ने नारासहित नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको अघुवाइमा महासङ्घ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य सङ्घको समन्वयमा पहिलो पटक यस किसिमको सम्मेलन आयोजना भएको हो।

उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पुँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीबारे सम्मेलनमा उपस्थित महिला उद्यमीले ध्यानाकर्षण गराएका छन्।

साथै थोरै पुँजी लगानीबाटै स्थानीय स्रोत साधनको परिचालन गरी व्यवसाय सञ्चालन गर्न सकिने भएकाले महिला उद्यमी एवं लघु, घरेलु तथा साना उद्योगबाट ठुलो आर्थिक उन्नतिको सम्भावना रहेको पनि उनीहरूले औँल्याएका छन्।

सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिला उद्यमलाई लागत, खर्च र आयसँग जोड्ने बेला भएको धारणा राखे। गाउँका उद्यमलाई सहरसँग जोड्नुपर्ने उनको भनाइ छ। महिलाहरूले कम्तीमा ३० हजारभन्दा माथि कसरी कमाउन सक्छन् भन्ने विषयमा लुम्बिनी प्रदेशले उद्यमशीलता कार्यक्रमको तयारी गरेको जानकारी दिए।

‘अहिले युवाहरू विदेशिने समस्या छ, यस्तो अवस्थामा महिला उद्यमीहरू अग्रसर भई यस्तो सम्मेलन आयोजना गर्नुलाई हामीले ठुलो अवसरका रूपमा लिएका छौँ,’ मुख्यमन्त्री चौधरीले भने, ‘महिला उद्यमशीलता प्रवर्धनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन लुम्बिनी प्रदेश तयार छ।’

प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले महिला उद्यमीलाई सहयोग गर्नु प्रदेश सरकारले आफ्नो दायित्व ठानेको र त्यसलाई पूरा गर्न गम्भीर रहेको बताए। स्थानीय उत्पादनको बजार प्रवर्धन, ब्रान्डिङ, मार्केटिङमा सहयोग गर्नुका साथै महिला उद्यमशीलतालाई अर्थतन्त्रमा जोड्न लुम्बनी प्रदेश सरकारले पहल गरेको उनको भनाइ थियो। ‘हामीले दुई लाख युवालाई रोजगारी दिने लक्ष्य लिएका छौँ, युवाहरूलाई उद्यमी बनाउने हाम्रो प्रयत्नमा निजी क्षेत्रको सहकार्य पनि खोजेका छौँ,’ उनले भने, ‘अबको नीति तथा कार्यक्रम र बजेटमा महिला उद्यमीका लागि प्रदेश सरकारले के के विषय समावेश गर्नु उचित हुन्छ, त्यसबारे सुझाव उपलब्ध गराइदिन पनि अनुरोध गर्छु ।’

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!