मिसु श्रेष्ठ
स्नेहा हतारिँदै गिफ्टशपबाट निस्की। प्रेमाले जिस्किने पाराले सोधी, “हैन ! भ्यालेन्टाइनडेको गिफ्ट हो कि कसो ?”
“हो त ! ”
“साँच्चै विश्वास लागेन ल हेर ।” झोलाभरीको विविध सामान देखाई ।
“हैन! यो त पाश्चात्य संस्कार भन्थ्यौ त । ”
“ग्लोबलाइजेशनले के पाश्चात्य ! के पूर्वीय ! राम्रो कुरा जताको सिको गर्दा पनि के होला र ! ”
“अनि राम्रो चाहिँ कसरी नि ?”
“पतिपत्नी बिचको दूरी अझ निकट हुने, प्रेम प्रगाढ हुने अवसर हो नि !”
स्नेहाको कुराले प्रेमा सोचमग्न भई ।
“साँच्चै आफ्नै पतिलाई उपहार दिँदा के बिग्रिएला र! कहिलेकाँहिको खट्फट् पनि धोइएला !” आत्मालाप गर्दै ऊ फिस्स हाँसी ।
“खै केहि ल्याइएन।” मनमनै सोच्दै कौशीको गुलाफ दिने निर्णय गरी । बिहान फुलिरहरेका गुलाफ एउटै थिएनन् ।
हत्तारिँदै छोरीको कोठामा पसी ।
स्कुल पोशाकमै ऊ घोप्टिएकी थिई । प्रेमाले बिस्तारै टाउको उठाएर हेरी । उसको गाला आँसुले भिजिएको थियो ।
“ के भयो ? अत्तालिँदै सोधी ।”
“प्रणवले “ह्याप्पि भ्यालेन्टाइनडे” भनेर मलाई गुलाफ दियो । “छोरी भक्कानिई ।”
“भ्यालेन्टाइनडेले प्रणय बढाउँला कि समस्या ?” प्रेमा फुस्फुसाई ।
२ फागुण २०८० – १४ फ्रेवअरी २०२४
दोलखा, हाल काँडाघारी काठमाडौँ ।