२७ माघ, बाँपिझ्याला, काठमाण्डौं । एसिसी वुमन्स कप वुमन्स प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले शनिबार हङकङलाई ८ विकेटले पराजित गरेको छ । ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
कविता कुँवर १२ बल खेली ४ रनमात्र बनाई आउट भए पनि सीता रानामगर र कप्तान इन्दु बर्माले दोस्रो विकेटमा ७६ रनको साझेदारि गरेपछि नेपालले आरामदायी विजय हात पारेको हो ।
कप्तान इन्दुले ३३ बल खेली ३ चौका र १ छक्का प्रहा गर्दै ४० रन बनाइन् । नेपाल विजयीभन्दा ७ रनले टाढा भएको समयमा इन्दु आउट भएकी थिइन् । सीता रानामगरले अविजित ३६ रन बनाई अविजित रहिन् । विजयी चौका प्रहार गरेकी सीताले ३८ बलको इनिङ्समा १ छक्का पनि प्रहार गरकी थिइन् ।
यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभर खेलि ८ विकेट गुमाई ९३ रनमात्र बनाउन सकेको थियो । क्वालालम्पुरस्थित सेलान्गरटर्फ क्लब मैदानमा रुविना र पुजा महतोले २–२ विकेट लिएपछि हङकङ खुम्चिएको थियो । रुविनाले ४ ओभरमा १५ र पुजाले १९ रन खर्चिन् । कविता जोशी र सीताले १–१ विकेट लिए ।
हङकङबाट कप्तान चान कारीले २१, मार्याम बिबीले १९, यासिम दासवानीले १५ र नताशा मिल्सले ११ रन बनाइन् । प्रतियोगितामा नेपालको यो पहिलो खेल हो । नेपाल र हङकङ समावेश समूह ‘बी’ माल्दिभ्स र भुटान रहेका छन् । नेपालले आइतबार भुटानसँग खेल्ने छ । १६ राष्ट्र सहभागि प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्ने छन् ।