Search

काठमाडौंमा १ हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान

काठमाडौंमा १ हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान

२२ माघ, बाँपीझ्याला, काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ ।महानगरभित्रका विभिन्न स्थानमा स्ट्रिट लाइट जडान गरिएको हो । महाराजगञ्ज-लैनचौर-जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्रदेखि बालुवाटार-नक्साल हुँदै माइतीघर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर- थापाथली- माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल -बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान गरिएको छ ।

यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो । स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलले बताए । फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान गरेको उनको भनाई छ । यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन् । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन् । यसका लागि १७७ वटा नयाँ पोल प्रयोग भएका छन् । बिजुली जडान गर्न ३० हजार ७१० मिटर तारको प्रयोग भएको छ । स्मार्ट लाइट जडान गर्न वा पोललाई पुनःप्रयोगमा ल्याउन नसकिने ४२१ वटा साेलार पोल हटाइएको महानगरले जनाएको छ । यी पोलहरु महानगरपालिका, विद्युत प्राधिकरण र निजी क्षेत्रले गाडेका थिए ।

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको हो । यसका लागि नेपाल विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य भएको छ । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता काम गर्न साझेदारसँग सहकार्यका लागि २०७९ माघ २४ गते सम्झौता भएको थियो ।

११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमानको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख छ । यसबाट काम गर्नका लागि रुट पनि छुट्याइएको छ । बत्ती जडान गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो । यसबाट छनौट भएको निर्माण पक्षसँग २०८० बैशाख २५ गते सम्झौता भएको थियो । सम्झौताबमोजिम २०८१ बैशाख २४ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ ।

महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइती घर मण्डलादेखि बागबजार सम्म, बागबजारदेखि शितल निबाससम्म, सिनामंगल अन्तरराष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमलपोखरीसम्म, चावहिलदेखि जोरपाटीसम्मको रुट राखिएको छ । प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।

यो रुटमा बत्ती जडानको काम तत्काल सुरु हुने प्रक्रियामा छ । ‘हामीले काम गर्ने सडक खण्डमा यस अघि सौर्यबत्तीका लागि गाडिएका पोल छन् । ती पोलहरुको पुनःप्रयोग योजना स्वीकृति हुने चरणमा छ । योजना स्वीकृत भएपछि काम थालिनेछ,’ विद्युत प्राधिकरणका उपप्रबन्धक प्रमोद रिजालले भने । यस खण्डमा १ हजार १७ वटा सडक बत्ती राख्नु पर्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । यस्तै ९२ वटा नयाँ पोल राख्नुपर्ने, २१ हजार ९७० मिटर तार आवश्यक पर्ने अनुमान छ । यसरी बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, व्याट्रीलगायत सामानको आफैँले पुनप्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

प्राधिकरणले बत्ती जडान गरिसकेपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । यसपछिको मर्मत सम्भार महानगरपालिकाले गर्नेछ । सडक बत्ती प्रयोग भएबापतकाे शुल्क महानगरपालिकाले प्राधिकरणलाई तिर्नु पर्नेछ । सबै बत्ती जडान गरिसकेपछि बत्तीहरुलाई एउटै प्रणालीमा आवद्ध गरिनेछ । यसपछि एउटै स्क्रिनबाट बत्तीलाई आवश्यकताका आधारमा बत्तीलाई चहकिलो बनाउने, मधुरो बनाउने, निभाउने वा बाल्ने काम गर्न सकिने महानगरले जनाएकाे छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!