१८ माघ, बाँपीझ्याला, काठमाण्डौं । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई बागलुङका कृष्णप्रसाद पौडेलले गलत सावित गर्नुभएको छ । पौडेलले व्यावसायिक पशुपालनबाट वार्षिक रुपमा एक करोड रुपियाँभन्दा बढीको दुध बिक्री गर्नुहुन्छ । बागलुङ नगरपालिका –४ ओडारचौरका ६० वर्षीय पौडेलले मेहनत गरी स्वदेशमै पनि मनग्य पैसा कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । २० वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आउनुभएका पौडेलको फर्ममा यतिखेर गाई–भैंसी गरी ६५ वटा पशुचौपाया छन् । फर्ममा यतिखेर ४० वटा दुहुँना गाई–भैंसीहरुबाट दैनिक दुईसय ८० देखि ३०० लिटरसम्म दुध उत्पादन हुन्छ । उन्नत जातका मुर्रा भैसीं, जर्सी र होलस्टेन गाई पौडेलले पाल्नुभएको छ ।
र्ममा यतिखेर ४० वटा दुहुँना गाई–भैंसीहरुबाट दैनिक दुईसय ८० देखि ३०० लिटरसम्म दुध उत्पादन हुन्छ ।
थोरै रकमबाट थालेको पशुपालनमा अहिले करिब दुई करोड रुपियाँभन्दा बढी लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । पाँच रोपनी जमिन भाडामा लिएर पौडेलले श्रीकृष्ण गाई भैंसी फर्म उद्योग सञ्चालन गर्नुभएको छ । घाँसका लागि खेत, पाखो र बारी गरी करिब दुईसय रोपनी जग्गा वार्षिक रुपमा चार लाख रुपियाँ भाडा भुक्तानी गर्नेगरी लिनुभएको उहाँले बताउनुभयो ।
गाई–भैंसीलाई आवश्यक पर्ने घाँस उक्त जमिनमा लगाउनुभएको छ । फर्ममा ६ जनालाई रोजगारी समेत दिनुभएको छ । दुध बिक्री गर्न बागलुङ बजारमा उहाँको आफ्नै दुध डेरी पसल छ । पसलबाट प्रतिलिटर एकसय २० देखि एकसय ४० रुपियाँसम्म दुध बिक्री पौडेलले बताउनुभयो । उहाँले दुध उपभोक्ताको घर–घरसम्म पनि पुगाउँदै आउनुभएको छ । ६० वर्षको उमेर भए पनि पौडेलको जोसजाँगर युवाजस्तै छ । कामदारसँगै दैनिक रुपमा गाई भैंसीको स्याहार सुसार, दानापानी गोबर फाल्ने काम गर्नुहुन्छ । रोजगारीका लागि २० वर्ष भारतको मुम्बईमा बिताउनुभएका पौडेलले २०६१ सालमा स्वदेश फर्केर बजारमा व्यावसायिक पशुपालन गर्न थाल्नुभएको हो । पर्वतको जलजला गाउँपालिका –५ अन्नेचौर निवासी पौडेलको पशुपालन फर्म साविक धौलागिरीको पहिलो फर्मको रुपमा चिनिन्छ । रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा घुमफिरका क्रममा ठूला पशुपालन फर्मको अवलोकन गरेको र राम्रो आम्दानी समेत हुने जानकारी पाएपछि स्वदेश फर्किएर पशुपालन गर्न थालेको उहाँले बताउनुभयो । ‘मैले भारतमा रोजगारी गर्दा पशुपालन फर्महरु देखे अनि यहाँ बसेर हुँदैन, नेपाल फर्किएर पशुपालन गर्दछु भनेर फर्किएँ’ उहाँले भन्नुभयो ।
म भारतमै बसेर नोकरी गरेको भए आज मेरा छोराछोरीले राम्रोसँग पढ्ने अवसर पाउने थिएनन् ।
पशुपालन व्यवसायबाट कमाएको पैसाले पाँच छोराछोरीलाई राम्रोसँग शिक्षादिक्षा दिएको छु, उहाँले भन्नुभयो, ‘‘म भारतमै बसेर नोकरी गरेको भए आज मेरा छोराछोरीले राम्रोसँग पढ्ने अवसर पाउने थिएनन् । राम्रो विषय पढ्न पैसाको कमी हुनेथियो ।” दुध बिक्री गरेर कमाएको पैसाले अहिले एउटा छोरा चार्टर एकाउन्टेन बनाएको उहाँले बताउनुभयो । “एउटा छोरी सिभिल इन्जिनियर, अर्को छोरीलाई नर्स पढाएँ, अहिले सबै छोराछोरीले राम्रो जागिर खाने भएका छन्” उहाँले भन्नुभयो ।
“विदेशमा गर्ने परिश्रम आफ्नै गाउँघरमा गर्नसके सफलता प्राप्त गर्न सकिन्छ” उहाँले भन्नुभयो, “मैले विहानदेखि साँझसम्म फर्ममा काम गर्दछु । अहिले ६० वर्षको भए युवाजस्तो जोसजाँगर अझै ममा छ । यो कठिनाइको पेसा हो । यो पेसामा धेरै संघर्ष छ । कतै नडगमगाइ काम गर्नुपर्छ । काम सिकेर, म गर्नु सक्छु भन्ने आँट र साहस गरेर यो पेसा गरेमा सफलता मिल्छ ।’’ काम सिकेर, म गर्नु सक्छु भन्ने आँट र साहस गरेर यो पेसा गरेमा सफलता मिल्छ । ‘‘फर्ममा काम गर्ने कामदार पनि राखेको छु । तर म आफै पनि बिहानैबाट गोबरसँग खेल्छु, भैंसीको स्याहारसुसार, दुहुने र आहारा तयार गर्ने काम गर्नुपर्छ” उहाँले थप्नुभयो, “मोटरसाइकलमा दूधको क्यान झुन्ड्याएर बजारसम्म लग्ने काम गर्छु, निरन्तर २० वर्षदेखि यही पेसामा छु । आत्मसन्तुष्टी मिलेको छ ।” गाई भैँसी पालेर राम्रो आम्दानी लिने पौडेल यस क्षेत्रको नमूना किसान हुनुहुन्छ । पौडेलको सिको गरेर अरुले पनि पशुपालन व्यवसाय थालेका छन् । सरकारीस्तरबाट किसानलाई हौसला दिनेखालका कार्यक्रमहरु ल्याउन उहाँले सुझाव दिनुभयो ।