Search

शहिदको एउटा पानामा दोलखाका अमूर्त ज्यूँदा सहिद पूर्ण नारायण प्रधान प्रति हार्दिक श्रद्धासुमन !

शहिदको एउटा पानामा दोलखाका अमूर्त ज्यूँदा सहिद पूर्ण नारायण प्रधान प्रति हार्दिक श्रद्धासुमन !

बाँपिझ्याला विशेष :

प्राचिन शहर दोलखा तत्कालिन दोलखा गाउँपञ्चायत वडा नं. ५ गुर्कोट टोलमा अन्दाजी वि.सं.१९५३ मा बा मेहरमान प्रधान र आमा मोतिलक्ष्मी प्रधानकी कोखबाट जन्मनु भएका जेष्ठ सुपुत्र दिवंगत पूर्णनारायण प्रधान हो । वहाँको चार जना भाईहरु दिवंगत रत्ननारायण प्रधान, जितनारायण प्रधान र जगतनारायण प्रधान हुन् ।

जब जब माघ महिनाको दोश्रो साता शुरु हुन्छ तब सहिदको नालीबेलीको चर्चा परिचर्चा हुन थाल्छ । नेपालमा २००७ साल भन्दा पहिलेका इतिहासको पानामा हामीले देख्दै सुन्दै आएका कुरामा वीर सहिद भनेर चार जनाको नाम उच्चारण गरेपनि सबैभन्दा पहिले सहिद बनेका वीर सहिद लखनथापाको नाम विरलै सुन्न पाइन्छ ।

तर उनको न त जन्म जयन्ती धुमधामले मनाइन्छ न त श्रद्धाञ्जलि नै अर्पण गरेको कुरामा व्यापकता पाइन्छ । जे सुनिन्छ उनै चार सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दसरथ चन्द र गंगालाल श्रेष्ठको नामलाई लिइन्छ ।

विक्रम सम्वत १९९७ सालको माघ महिनालाई नेपालको इतिहासमा कालो महिनाको रुपमा स्मरण गर्दा पनि फरक नपर्नसक्छ । किनकि यही महिनामा नै ती चार सपूतले प्राणको आहुती दिएका थिए ।

तर भाग्यको खेल भनौँ या दिनगन्तीको समय भनौं पाँचौ सहिद हुनबाट जोगिएका थिए दोलखाका एक सपूत दिवंगत पूर्ण नारायण प्रधान । नेपालको ईतिहासमा सवैभन्दा पहिला नेपाल बार एशोसिएसनको दोश्रो कार्यकालमा वि.सं. २०१५ देखि २०१७ सालसम्म अध्यक्ष हुनु भएको थियो । यसै गरी नेपालमा कानूनी अधिकारमा लड्नु पर्छ भन्ने मान्यताले वहाँले कानून व्यवसायी फर्मको स्थापना गरी वकालत शुरु गर्नु भएको हो ।

ग्रामिण ईलाका तत्कालिन पूर्व २ नं. दोलखामा जन्मनु भएको भएतापनी तत्कालिन नेपालको नामबाट चिनिने काठमाण्डौंमा शहरमा रहेर न्याय अन्यायको तर्क संगत कुरा गर्नु हुने वहाँको व्यक्तित्व माथि तत्कालिन राणा शासनका शासकहरुले बोल्न लेख्न बाट बञ्चित गराई पाँच जनालाई सर्वस्वसहित ज्यानमुद्धा लगाएर मृत्युदण्ड समेत दिएका थिए ।

तर दिवंगत प्रधानलाई मृत्युदण्ड नदिई सर्वस्वसहित कारागारको मात्र सजाय तोकिएको ईतिहासमा उल्लेख गरेको छ ।

काठमाडौंको टेकु मचलीमा माघ १० गतेको दिनमा शुक्रराज शास्त्रीलाई रुखमा झुण्ड््याएर प्राणदण्ड दिइसकेपछि माघ ११ गते काठमाडौंको टुँडीखेलमा रहेको खरीको रुखमा पूर्ण नारायण प्रधानलाई पनि झुण्ड्याउन तैयार भएको बेलामा तत्कालिन राणा प्रधानमन्त्री जुद्ध शम्सेर स्वयम उक्त स्थानमा आएर निज प्रधानलाई आजिवन कैद र सर्वस्व हरण गर्नु मृत्युदण्ड नदिनु भन्ने आदेश बमोजिम वहाँको मृत्युदण्डको सजाय स्थगित भएको हो भनी वहाँको भतिजा भीमेश्वर नगरपालीका वडा नं. २ का पूर्व वडाध्यक्ष टीकानारायण प्रधानको भनाई रहेको छ ।

यसै गरी अर्को भनाई अनुसार त्यो दिन श्रीपञ्चमी परेकोले राणा प्रधानमन्त्रीले नै उक्त दिन दण्ड नदिनु बरु जेलमा हाल्नु भन्ने आदेस भएकोले मृत्युदण्डबाट टरेको भन्ने भनाइ रहेको छ । यसैलाई प्रधानका सन्ततिहरू आधार मानिरहेका छन् ।

जे होस् देशको लागि राणाहरूको अन्याय र अत्याचारको विरुद्धमा ज्यानको पर्वाह नगरी आवाज उठाउनमा दोलखाली सपूत पनि पछि हट्दैनन् भन्ने कुराले दोलखाको महिमालाई उजागर गरेको छ । यस अर्थमा पनि यो बेला सबैले साहसी व्यक्तित्व पूर्ण नारायण प्रधान ईतिहासमा स्मरण रहेको छ ।

पूर्ण नारायण प्रधान त्यो व्यक्ति हो जसले नेपालमा सबैभन्दा पहिले कानूनी सेवाको प्रतिस्थापना गरेर अन्याय र न्यायको फैसला गर्ने मार्ग खुलाएको छ । उनैद्वारा लिखित ‘पैसा र अविद्या’ नामक पुस्तकले मानव जीवनका तीक्तता र भोगाइका परिशिष्टहरू दृष्टित भएको छ । तसर्थ हामीले वहाँलाई निरन्तर स्मरण गरेर श्रद्धा गर्नु अत्यन्त जरुरी र महत्वपूर्ण रहेको छ ।

यही सिलसिलामा शहिद सप्ताहको पहिलो दिन माघ १० गते मंगलबार बिहान शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ ।

काठमाडौंको टेकुस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाडौँ महानगरका प्रमुख तथा सहिद सप्ताह मुल समारोह समितिका संयोजक बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सहिदको सालिकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

त्यस अवसरमा कार्यपालिका सदस्य, वडा सदस्य, महानगरका कर्मचारीसहित सर्वसाधारणले पुष्प गुच्छा चढाएका थिए ।

यो स्थानलाई वि.सं. २०३५ सालमा तत्कालीन काठमाडौं नगर पञ्चायतले शिलालेख राखी संरक्षण गर्न थालेको हो । शास्त्रीले नागरिक स्वतत्रताका लागि शासकबाट प्राण बक्सिस माग्नु भन्दा प्राणदण्ड स्वीकार गरेका थिए । यो अहिलेका पुस्ताका लागि ठूलो उपलब्धीमुलक ज्ञान हो ।

सभामा संक्षिप्त मन्तव्य राख्दै महानगरकी उपप्रमुख डंगोलले शास्त्रीको योगदानका विषयमा चर्चा गरिन् । नेपाल भाषालाई व्यवस्थित प्रकाशन गर्नमा शास्त्रीको ठूलो योगदान छ । शास्त्रीले नागरिक जीवनको सहजताका लागि गरेको योगदानका विभिन्न आयाम छन् डंगोलको भनाइ थियो । उभिएर बोलेको कसुर लगाएर प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन सहिदले गरेको योगदानको सम्मानमा धेरै काम गर्न बाँकी छ । एक दिन सहिद सम्झिएर पुग्दैन, वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले धारणा राख्दै भने ।

बोेलेको भरमा मृत्युदण्ड दिने त्यो समय मन लागेको कुरा बोल्न पाइने यो दिनमा कसरी रुपान्तरण भयो ? त्यसका लागि कसले के योगदान गरेका थिए ? इतिहासको त्यो पक्ष बिर्सन मिल्दैन, कार्यक्रममा नेपाल आर्य समाजका अध्यक्ष तथा त्रिभुवन विश्व विद्यालय संस्कृत विभागका प्रमुख डा.माधवप्रसाद उपाध्यायले सहिदहरूको बलिदानीको सम्मानमा समन्वयात्मक कामको खाँचो देखाए ।

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदको योगदानको सम्मानमा काठमाडौं महानगरपालिकाको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन ।

यस क्रममा माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र १५ गते शोभाभगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा आयोजना गरिने छ ।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि प्राणदण्ड पाएका ४ सहिदहरूको पूर्ण कदको शालिक उनीहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ ।

शुक्रराजको जन्म वि.सं. १९५० सालमा बनारसमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारसिभक शिक्षा प्रारम्भ गरेका शात्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेका थिए । त्यस क्रममा उनले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपालीभाषी बीच नागरिक अधिकारका विषयमा संगठन गर्न थालिसकेका थिए । त्यसपछि नेपाल फर्किएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदा–हुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए । उक्त समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि थिए ।

१९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्ध शमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो ।

यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचली स्थित खरिबोटमा र धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुखमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानेर प्राणदण्ड दिइएको थियो ।

राणा शासन विरुद्धको लडाईमा लड्दा लड्र्दै शहिद हुनुबाट बचेका दिवंगत प्रधानले नेपालमा कानून, न्याय र सामाजिक सेवामा निरन्तरता दिदादिर्दै वि.सं. २०३५ सालमा वहाँ दिवंगत हुनु भयो ।

सहिद दिवसको पुन्यतिथीमा सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हाम्रो तर्फबाट हार्दिक श्रद्धाञ्जलि अर्पण छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!