Search

शहिद धर्मभक्त माथेमाले सस्मरणमा स्मृती सभा

शहिद धर्मभक्त माथेमाले सस्मरणमा स्मृती सभा

१३ माघ, बाँपिझ्याला, काठमाण्डौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेका स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गरेको दिन र स्थानमा स्मृति सभा गरिएको हो ।

आज सभा गरिएको स्थानभन्दा करिब ५ मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनुपर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्ण कदको सालिकसहित पूर्वाधार विकास गरेको हो ।

सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले जनमानसमा सहिदको योगदान पुर्‍याउन काम गरिएको बताइन् । माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेलेको भूमिका र सामाजिक रुपान्तरणमा पुर्‍याएको योगदानको चर्चा डंगोलले गरेकी थिइन् ।

‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुस शासनविरुद्ध संघर्ष गर्ने उहाँको आँट युवाहरूले सिक्नु पर्ने पाठ हो । स्मरण गर्नु पर्ने इतिहास हो’ डंगोलले भनिन् ‘शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रुपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलीदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’

माथेमाको सम्मानमा महानगरले वडा २३ ओमबहालमा पार्क बनाएको छ । महानगरको लगानीमा निर्माण हुने मानव सेवा आश्रम उनकै नामबाट बनाउने योजना रहेको उपप्रमुख डंगोलले बताइन् । सभामा वडा नम्बर ७ का अध्यक्ष विमल होडाले असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदहरूको सपना पूरा हुने बताए ।

माथेमा गुथीका अध्यक्ष नरेशरामभक्त माथेमाले निरंङ्कुश राणा शासनबाट मुक्त गराउने जत्तिको महत्वपूर्ण काम अन्य केही हुन नसक्ने बताए । ‘सहिदको सम्मानमा दिइने राष्ट्रिय विदा कटौती हुनु हुँदैनथ्यो । महानगरपालिकाले यो सन्देश संघ सरकारलाई दिनुपर्छ’ नरेशरामभक्तले भने ।​

शारिरीक सुगठन प्रतियोगितमा बंगाल च्याम्पियन भएका माथेमा राज त्रिभुवनका व्यायाम शिक्षक थिए । राजासँगको यो सम्बन्धका कारण वि.सं. १९९४ मा उनले राजालाई समेत प्रजा परिषदको सदस्य बनाएका थिए । वि.सं. १९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोरगणेश ओमबहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिवद्धताका साथ प्रजा परिषद्‌ गठन गरेका थिए ।

वि.सं. १९९७ साल माघ १३ गते, काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर उनलाई ज्यानदण्ड दिइएको थियो । उनी बलियो भएकाले झुण्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो । तीन पटकसम्म प्रयास गरेपछि मात्र उनलाई सहादत प्राप्त भएको थियो । त्यस बेला उनी ३१ वर्षको मात्र थिए ।

वि.सं. १९६६ साल आश्विन ९ गते काठमाडौँको ओमबहाल, नवहिलमा जन्मिएका माथेमालाई तत्कालीन शाशकहरूको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ गरिएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि.सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।

माथेमाकी बहिनी मेनका देवीको विवाह शुक्रराज शास्त्रीसँग भएको थियो । प्रजा परिषद्‌का गतिविधि सञ्चालन गर्ने क्रममा शास्त्रीसँग माथेमाको भेट भएको थियो । धर्मभक्तले प्रतिबन्धित समयमा राणाहरूको स्वीकृति नलिइ घरको छिँडीमा विद्यालय खोलेका थिए । फुपूको घरमा युवाहरूलाई व्यायाम सिकाउने ठाउँ बनाएका थिए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!