१२ माघ, बाँपीझ्याला, काठमाण्डौं । नेपालमा गर्भावस्था वा सुत्केरी महिलामा देखिने मानसिक स्वास्थ्यका समस्याबारे राष्ट्रियस्तरमा कुनै औपचारिक अध्ययन र तथ्यांक नरहे पनि यो समस्या विकराल हुँदै गइरहेको विज्ञहरूले दाबी गरेका छन् । नेपालमा कार्यरत स्त्रीरोग विशेषज्ञ तथा मनोचिकित्सकहरूका अनुसार विश्वमा करिब २५ प्रतिशत महिलामा गर्भावस्था वा सुत्केरी भएपछि उनीहरूको मानसिक स्वास्थ्यमा विभिन्न प्रकारका समस्या देखिन्छन् । त्यसबाट नेपालका महिलाहरू पनि अछुतो नरहेको तर यकिन तथ्यांक भने नभएको उनीहरूले बताए ।
वरिष्ठ मनोचिकित्सक डा. निसिता पाठकका अनुसार नेपालमा महिलाको मानसिक स्वास्थ्यका बारेमा अध्ययन नै भएको छैन भन्दा पनि फरक पर्दैन । ‘पहिलो कुरा त नेपालमा मानसिक स्वास्थ्यका बारेमा अध्ययन अनुसन्धान निकै नै कम भएका छन् । त्यसमा पनि महिलाको मानसिक स्वास्थ्यका बारेमा अध्ययन भएकै छैन भने पनि हुन्छ,’ उनले भनिन्, ‘त्यसमा पनि गर्भावस्था वा सुत्केरी महिलामा हुने मानसिक स्वास्थ्य समस्याका बारेमा अध्ययन भएका छैनन् ।’
उनका अनुसार नेपाल जस्तो देशको स्वास्थ्य संरचनामा गर्भावस्था वा सुत्केरी महिलामा देखिने मानसिक स्वास्थ्य समस्यालाई समयमै निदान गर्नका लागि निकै ठूलो चुनौती रहेको छ । ‘नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने अधिकांश महिला गर्भधारण गरेपछि चिकित्सकीय परामर्शका लागि जाने गरे पनि ग्रामीण भेगका महिला त्यसबाट वञ्चित छन् । यस्तोमा अस्पतालमा जाँच गराउन पुगेका प्रायः महिलालाई जाँच गर्ने चिकित्सकले उनको मानसिक स्वास्थ्यका बारेमा पनि सोधखोज गर्छन् भन्ने छैन,’ उनले भनिन्, ‘त्यसपछि घरमा नै वा सामान्य स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलाको संख्या पनि ठूलो छ । यस्तोमा त्यहाँ कार्यरत धेरै स्वास्थ्यकर्मीलाई गर्भावस्था वा सुत्केरी भएका महिलामा कस्तो खाले मानसिक स्वास्थ्य समस्या देखिन्छ भन्ने थाहा छैन ।’
डा. पाठकको भनाइमा गर्भावस्था वा सुत्केरी महिलाले मानसिक स्वास्थ्यमा समस्या रहेको लक्षण बाहिर नदेखाएसम्म कसैले पनि त्यो आकलन गर्न सक्ने अवस्था नेपालको स्वास्थ्य प्रणालीमा हाल छैन । ‘गर्भावस्था वा सुत्केरी महिलामा हुने डिप्रेसनले एकदमै गम्भीर रुप लिएपछि मात्रै चिकित्सकलाई देखाउने गरिन्छ । अझ बच्चा जन्माएको २४ घण्टादेखि ६ सातासम्म १ देखि ४ प्रतिशत सुत्केरी महिलामा साइकोसिसजस्तो गम्भीर मानसिक समस्या पनि देखिन सक्छ । त्यो पनि जटिल अवस्थामा पुगेपछि मात्रै चिकित्सकीय परामर्श लिइन्छ ।’
सुरक्षित मातृत्व कार्यक्रमका लागि सरकारले ठूलै लगानी गरे पनि त्यसले महिलाको शारीरिक स्वास्थ्यलाई बढी ध्यान दिएको र त्यसमा मानसिक स्वास्थ्य समस्यालाई भने यथेष्ट सम्बोधन नगरिएको मानसिक अस्पताल लगनखेलमा कार्यरत वरिष्ठ मनोचिकित्सक डा. वासु कार्कीले बताए । उनका अनुसार सरकारले सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भावस्थामा ८ पटक र सुत्केरी भएपछि ४ पटक महिलाको स्वास्थ्य जाँच गर्ने व्यवस्था गरे पनि त्यसमा मानसिक स्वास्थ्य जाँचलाई भने प्राथमिकता दिइएको छैन ।
नेपालमा मात्रै नभएर विश्वमा नै सुत्केरी महिलामा बच्चा जन्माएको ६ सातासम्म ‘पोस्टपार्टम ब्लुज’को समस्या अत्यधिक रहने र त्यसलाई यथोचित रुपमा सम्बोधन गर्न नसके त्यसैले डिप्रेसनलगायतका मानसिक स्वास्थ्य समस्या निम्त्याउने जोखिम रहेको उनले बताए । ‘पोस्टपार्टम ब्लुजमा बच्चा जन्मएसँगै धेरै महिलालाई अत्यास लाग्ने, रुन मन लाग्ने, डर लाग्ने र निन्द्रा नलाग्ने जस्तो समस्या देखिन सक्छ,’ उनले भने, ‘त्यो केही घण्टादेखि केही सातासम्म रहन सक्छ । तर उक्त समस्यालाई ‘सुत्केरीमा यस्तो हुन्छ’ भनेर बेवास्ता भने गर्न हुँदैन । त्यही समस्या बढ्दै गए भोलि समस्या हुन सक्छ ।’
नेपालमा मातृ मृत्युका विभिन्न कारणमध्ये ६ प्रतिशत महिलाले आत्महत्या गर्ने गरेको राष्ट्रिय जनगणनासँगै नेपालमा पहिलोपटक गरिएको मातृ मृत्युसम्बन्धी अध्ययनले देखाएको छ । डा. कार्कीका अनुसार ६ प्रतिशत मातृ मृत्युको कारण आत्महत्या हुनु भनेको गर्भावस्था र सुत्केरी भएपछि महिलामा मानसिक स्वास्थ्य समस्या रहेको मानचित्र पनि हो । किस्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. ओनिका कार्कीका अनुसार गर्भावस्थामा भन्दा पनि सुत्केरी भएपछि महिलामा धेरै मानसिक समस्या देखिन सक्छन् । तर, समाजमा व्याप्त भ्रम र अन्धविश्वासका कारण सुत्केरी महिलामा देखिने मानसिक समस्यालाई घर–परिवारले भित्रै दबाउने गरेका छन् ।
‘विश्वकै तथ्यांक हेर्ने हो भने करिब १० देखि १५ प्रतिशत सुत्केरी महिलामा डिप्रेसन लगायतका मानिसक समस्या देखिन सक्छ । तर, नेपालजस्तो विकासोन्मुख मुलुकमा भने यो दर करिब दोब्बर नै हुने गरेको अनुमान छ । यद्यपि आधिकारिक तथ्यांक भने उपलब्ध छैन,’ उनले भनिन्, ‘सुत्केरी महिलामा सामान्य प्रकारको निराशा वा चिड्चिडाहट देखिनु सामान्य भए पनि त्यो महिना दिनभन्दा बढी देखिएमा त्यसलाई सम्बोधन गर्नेतर्फ ध्यान दिनुपर्छ । यसमा परिवारका सदस्यको साथ सहयोगको पनि आवश्यकता हुन्छ ।’
यस्तै, पाटन अस्पतालका निर्देशक तथा वरिष्ठ मनोचिकित्सक डा. रवि शाक्यका अनुभवमा पनि गर्भावस्थामा भन्दा सुत्केरी भएपछि महिलामा धेरै मानसिक समस्या देखिने गरेका छन् । ‘गर्भावस्थामा भन्दा सुत्केरी महिलामा धेरै समस्या देखिन्छ । समस्याले ठूलै रुप लिएपछि चिकित्सकीय परामर्शका लागि आउने गरेका छन्,’ उनले भने, ‘यदि यस विषयमा गम्भीर हुने हो भने गर्भावस्थामा रहेका र सुत्केरी भएका महिलाको अनिवार्य रुपमा मानसिक स्वास्थ्य अवस्थाका बारेमा पनि मूल्यांकन गर्नु जरुरी भइसकेको छ ।’ डा. शाक्यका अनुसार गर्भधारण गर्नुअघि नै मानसिक स्वास्थ्यमा समस्या रहेका महिलालाई पनि गर्भावस्था वा सुत्केरी भएपछि मानसिक समस्या देखिने जोखिम रहन्छ ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत मनोचिकित्सक डा. सगुन वल्लभ पन्तका अनुसार नेपालको सन्दर्भमा कुरा गर्दा श्रीमान् वैदेशिक रोजगारमा गएका सुत्केरी महिलामा मानसिक स्वास्थ्य समस्या अन्य महिलामा भन्दा धेरै देखिने गरेको छ । ‘सुत्केरी अवस्थामा परिवारको सहयोग धेरै चाहिन्छ । त्यसबेला श्रीमान् साथमा नहुँदा महिलालाई धेरै नै दबाब महसुस हुन्छ र त्यसले मानसिक समस्या बढाउने जोखिम रहन्छ,’ उनले भने, ‘सहरी र ग्रामीण भेगका महिलामा भिन्नभिन्न खालको समस्या देखिन्छ । सहरी महिलालाई सुत्केरी भएसँगै आफ्नो करिअर लगायतको चिन्ताले समस्या भएको हुन सक्छ भने ग्रामीण भेगका महिलालाई छोरी जन्माएकोदेखि लिएर घरपरिवारको साथ–सहयोगमा कमी भएका कारण समस्या भएको हुन सक्छ ।’
उनका अनुसार नेपालमा यो विषयलाई लिएर बृहत् अध्ययन नभए पनि भएका स–साना अध्ययनले कम उमेरमा नै विवाह, धेरै छोरी जन्मिएका कारण, कुनै योजना बिना नै गर्भ रहँदा, नवजात शिशुमा स्वास्थ्य समस्या देखिएमा, परिवारमा किचलो, सुत्केरी हुँदाका बखत श्रीमान् साथमा नहुँदा पनि महिलाको मानसिक स्वास्थ्यमा समस्या देखिने गरेका छन् । उनका अनुसार यो समस्यालाई सम्बोधन गर्नका लागि पहिला त परिवारकै साथ सहयोगको आवश्यकता रहन्छ । ‘मानसिक स्वास्थ्यमा समस्या देखिएमा त्यसलाई नकारात्मक रुपमा लिने गरिन्छ । धेरैलाई कहाँ गएर कसरी उपचार लिन सकिन्छ भन्ने पनि थाहा नहुन सक्छ,’ उनले भने, ‘यस्तोमा साथीभाइसँग सरसल्लाह गर्ने, परिवारलाई भन्ने र चिकित्सकीय परामर्श लिने हो भने सहज हुन्छ ।’
उनका अनुसार कामकाजी महिलाहरूमा सुत्केरी भएपश्चात आफ्नो करिअरलाई लिएर पनि धेरै नै तनाव हुने गरेको र त्यसले पनि मानसिक स्वास्थ्यमा असर गर्ने गरेको देखिएको छ । ‘पुरुषहरु बुवा बनेपनि उनीहरूको करिअरमै खासै फरक पर्दैन । महिलाले भने बच्चाका लागि समय दिनुपर्ने हुन्छ । अफिसले बिदा दिँदैन । दिए पनि त्यो धेरैजसो अवस्थामा थोरै हुन्छ । अफिस गएपनि बच्चाको चिन्ता हुने नै भयो,’ उनले भने ।