Search

काठमाडौं महानगरपालिकाले राजस्व वापत दुई अर्ब ३० करोड रुपियाँ बक्यौता उठाउन बाँकी

काठमाडौं महानगरपालिकाले राजस्व वापत दुई अर्ब ३० करोड रुपियाँ बक्यौता उठाउन बाँकी

११  माघ, बाँपीझ्याला, काठमाण्डौं । महानगरले गत असार मसान्तसम्म नियमित र असुरउपर गर्नुपर्ने राजस्व दुई अर्ब ३० करोड रहेको जनाएको छ । चालू आर्थिक वर्षमा थपिएको रकमको भने बक्यौता रकमको प्रारम्भिक लेखा परीक्षणको क्रममा छ ।  महानगरका राजस्व विभागका निर्देशक ध्रुवकुमार काफ्लेका अनुसार महानगरले बक्यौता रकमा जरिवाना छुट दिँदा पनि करदाताहरु कर तिर्न आएका छैनन्

उहाँले भन्नुभयो, “महानगरले असार मसान्तसम्म राजस्वको बक्यौता दुई अर्ब ३० करोड सङ्कलन गर्न बाँकी छ । पुस मसान्तसम्म महानगरले जरिवानामा शतप्रतिशत छुट दिँदा पनि करदाताहरु कर तिर्न आउनुभएन ।” चालू आर्थिक वर्षमा सम्पत्ति, घरबहाल र व्यवसाय करमा १० प्रतिशत छुटको व्यवस्था  रहेको जानकारी उहाँले दिनुभयो ।

गोपीकृष्ण सिनेमा हललाई महानगरको ताकेता  
पटक–पटक आग्रह गर्दा पनि गोपीकृष्ण सिनेमा हलले कर नतिरेपछि महानगरको टोली सिनेमा हलमै पुगेर कर तिर्न ताकेता गरेको छ । महानगरको टोली गत माघ ३ गते सिनेमा हलमै पुगेर महानगरलाई तिर्नुपर्ने मनोरञ्जन कर बापतको विवरण उपलब्ध गराउन आग्रह गरिएको काफ्लेले बताउनुभयो । टोलीले माघ १० गतेभित्र मनोरञ्जन करका विवरण महानगरको राजस्व शाखामा दाखिला गर्न आदेश दिएको थियो । तर अहिलेसम्म सिनेमा हलले विवरण दाखिला नगरेको राजस्व विभागका निर्देशक काफ्लेले बताउनुभयो ।

गोपीकृष्ण हलले सम्पत्ति र भूमि कर बापत २९ लाख ५० हजार तिर्न बाँकी छ । मनोरञ्जन कर पनि तिर्न बाँकी रहेकाले ताकेता नै गर्नुपरेको काफ्लेको भनाइ छ । सिनेमा हलले टिकट बिक्रीको पाँच प्रतिशत रकम मनोरञ्जन कर वापत महानगरलाई तिर्नुपर्ने हुन्छ । महानगका राजस्व विभागका निर्देशक काफ्लेले भन्नुभयो, “गोपीकृष्ण हलले सम्पत्ति र भूमिकर वापतको रकम २९ लाख ५० हजार रकम तिर्न बाँकी छ । मनोरञ्जन कर वापतको रकम तिर्न पनि आग्रह गरेका छौँ । विवरण दिएको छैन । प्राप्त भएपछि मनोरञ्जन वापत कति कर उठाउनुपर्छ यकिन गछौँ ।”

महानगरमा बढे करदाता
काठमाडौं महानगरमा करदाता बढेका छन् । गत आर्थिक वर्ष तीन लाख २४ हजार १२० करदाता रहेकोमा चालू आर्थिक वर्षमा बढेर तीन लाख ४३ हजार ३४० पुगेका छन् । उहाँका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार नौ सय १६ व्यवसाय करदाता र ५२ हजार चार सय ८६ सम्पत्ति करदाता छन् । अन्य शीर्षकमा पनि करदाता बढेका छन् । यसवर्ष करदाताको सङ्ख्या तीन लाख ४३ हजार तीन सय ४० पुगेको छ । काफ्लेले भन्नुभयो, “गत आवको अन्त्यसम्ममा कर तिरेका करदाताको सङ्ख्यालाई चालू आबका लागि करदाताको सङ्ख्या मान्ने गरिएको छ ।”

उल्लेखित करदातामध्ये अहिलेसम्म कर तिर्नेको सङ्ख्या एक लाख ९१ हजार आठ सय ८६ छ भने एक लाख ३२ हजार दुई सय ३४ कर नतिर्ने रहेको उहाँले जानकारी दिनुभयो । करदाता बढेपछि उल्लेख्य रुपमा कर सङ्कलन भएको छ । चालू आवको अर्धवार्षिक अवधिमा करिब पाँच अर्ब राजस्व सङ्कलन भएको काफ्लेले जानकारी दिनुभयो ।

महानगरले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ । निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएको बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्दछ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य र अभिवृद्धिसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । निर्देशिका जारी भएसँगै करदाता बढेको कामपाले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!