११ माघ, बाँपीझ्याला, काठमाण्डौं । जाजरकोट नलगाड नगरपालिका–८ हलचौरकी ६३ वर्षीया डम्मरकुमारी खत्री एकल महिला हुन् । भूकम्पले घर भत्किएपछि झण्डै तीन महिनादेखि पालमुनि बसिरहेकी उनको बुढ्यौली ज्यान चिसोले बिरामी परेको छ । दमका रोगी उनका श्रीमान्को १३ वर्षअघि नै मृत्यु भयो । छोरा बिहे गरेर अलग्गै बस्न थाले । छोरीको पनि बिहे भयो । उनी एक्लै बस्न थालेको १२ वर्ष बढी भइसक्यो ।
एक्लै भएर आफूले अहिलेसम्म टहरा निर्माण गर्न नसकेको दुखेसो डम्मरकुमारीले पोखिन् । भनिन्, ‘मसँग टहरा बनाउने पैसा छैन । मैले कतैबाट पैसा पनि पाएकी छैन । भूकम्प गएको केही दिनमा पाएको त्रिपाल र केही ओढ्नेओछ्याउने बाहेक पाएकी छैन । टहरा बनाउन पैसा पाइन्छ भन्ने कुरा पनि मलाई कसैले भनेनन् । म कहीँ जान सक्ने अवस्था पनि छैन ।’ आधा भत्किएको घरमा बस्न डर लाग्ने भएकाले पालमै बसिरहेको उनले बताइन् । ‘मान्छेको डर पनि उस्तै छ । अरुले धमाधम टहरा बनाएका छन् । के गर्ने कसो गर्ने भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘अरुको जस्तै आफ्नो पनि टहरा बन्छ भन्ने लाग्यो । तर यहाँ त धेरै कुरा गर्नुपर्ने रहेछ । मलाई केही थाहै भएन, घरमा अरु कोही भएन । अहिले न पैसा आयो न टहरा बन्यो ।’ आफूले केही थाहा नपाएकाले सुरुमै आफ्नो नामै कसैले नटिपाइदिएको गुनासो उनले गरिन् ।
नलगाड–९ की ७५ वर्षकी दुर्गाकुमारी सिंह पनि एकल हुन् । श्रीमान्को मृत्यु भयो । छोराछोरी छैनन् । त्रिपालमा बसिरहेकी उनको टहरा बनाउने काम अघि बढ्न सकेको छैन । वडाध्यक्षले राहतबापतको २५ हजार दिने भनेर खबर पठाए पनि एक्लै भएकाले कसरी बनाउने चिन्ता भइरहेको उनले बताइन् । ‘म काम गर्न सक्ने अवस्थामा छैन । अहिलेसम्म त पैसा पनि पाएकी छैन । छिमेकका सबै टहरा बनाएर बसिसके, म अहिलेसम्म पालमै छु,’ उनले भनिन्, ‘कसरी टहरा बनाउने भन्ने चिन्ता छ । पैसा दिएपछि अरुले सहयोग गर्छन् कि भन्ने आशा छ ।’
नलगाड–९ घरङ्गाकी ४० वर्षीया लक्ष्मी सिंहका घरमा बालबच्चा र बुढ्यौली उमेरका सासू–ससुरामात्रै छन् । अफिम बोकेको आरोपमा पक्राउ परेका उनका श्रीमान् तीन वर्षदेखि कारागारमा छन् । लक्ष्मीले आधा भत्किएकै घरमा बालबच्चा र बुढापाकाको जेनतेन स्याहार पुर्याएकी छन् । घरमा बालबालिका र वृद्धवृद्धा मात्र भएकाले टहरा बनाउन नसकेको लक्ष्मीले बताइन् । ‘त्रिपालको चिसो थेग्न नसकेपछि हामी आधा भत्किएकै घरमा बसिरहेका छौं । हातमा सीप भएकाले टहरा बनाए । मेरो घरमा सीप भएको कोही छैन,’ उनले भनिन्, ‘राहत पाएको २५ हजारले टिन र काठ पनि किनेकी छु । सबै आ–आफ्नो काम गरिरहेका छन् । बनाइदिने मान्छे कोही छैन ।’ अरुले बनाइसकेपछि ज्याला दिएर आफ्नो टहरा बनाइ माग्ने सोचेको उनले बताइन् । समयमै टहरा बनाउन नसक्दा डरैडरमा चर्किएको घरमा बस्न बाध्य भएको उनले सुनाइन् ।
एकल महिलालाई मात्र होइन, घरमा काम गर्न सक्ने पुरुष नभएको घरमा पनि टहरा बनाउन समस्या भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक मात्र भएको परिवारले पनि अहिलेसम्म टहरा बनाउन सकेका छैनन् । पुरुष नभएका घरमा अझै पनि टहरा निर्माण हुन नसकेको नलगाड–८ हलचौरका रामप्रसाद खत्रीले बताए । ‘मेरै गाउँमा १० देखि १२ जनासम्म एकल महिला छन्,’ उनले भने, ‘कसैका श्रीमान्को भारतमा मृत्यु भयो । कसैको यार्सागुम्बा टिप्न गएको बेला डोल्पामा मृत्यु भयो । कसैको बिरामीले घरमै मृत्यु भयो । एकल महिला आफैं टहरा बनाउन नसक्दा उनीहरू अझैसम्म पालमा बस्न बाध्य छन् ।’ उनीहरूले सरकारले दिएको पहिलो किस्ताबाट गाउँलेमार्फत जस्ता किनेर ल्याइदिएका छन् । धेरैजसोले ज्याला दिएर काठ पनि चिराएका छन् । कसैले टहरा बनाइदिने मान्छे पाएका छैनन् भने कसैसँग ज्यालामा मिस्त्री खोज्ने पैसा पनि छैन,’ खत्रीले भने ।
नलगाड–९ का वडाध्यक्ष भबिन्द्रबहादुर सिंहले एकल महिला र घरमा काम गर्ने पुरुष नभएकाहरूले पहिलो किस्ताबापत २५ हजार रुपैयाँ पाए पनि टहरा बनाउन सुरु गर्न नसकेको बताए । उनले भने, ‘मेरो वडामा श्रीमान्, छोराछोरी कोही पनि नभएका तीन जना महिला त्रिपालमै बसिरहेका छन्,’ उनले भने, ‘घरमा काम गर्ने पुरुष नभएका ३०/३५ परिवारले पनि टहरा बनाउन सकेका छैनन् ।’ राष्ट्रिय जनगणना २०७८ अनुसार नलगाड नगरपालिकामा ७ सय १२ एकल महिला छन् । जाजरकोटमा ३ हजार ९ सय ४९ जना एकल महिला छन् । रुकुम पश्चिममा ४ हजार ७९ एकल महिला छन् । घर भत्किएपछि तिनै तहका सुरक्षाकर्मीले एकल महिला, असहाय परिवारलाई प्राथमिकतामा राखेर सहयोग गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिषचन्द्र शर्माले बताए । उनले केही संस्थाले उनीहरूलाई सहयोग गरेको खबर पाए पनि कतिलाई कसरी सहयोग भयो भन्ने तथ्यांक नभएको बताए ।
जाजरकोटमा भूकम्प प्रभावित लाभग्राहीको संख्या ४२ हजार ५ सय २४ पुगेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार २८ हजार ६ सय ८२ लाभग्राहीसँग अस्थायी आवासको सम्झौता भएको छ । अहिलेसम्म १० हजार ३ सय ४१ अस्थायी टहरा निर्माण भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिबाट १ अर्ब ३४ करोड १ लाख ७५ हजार रकम निकासा भएको छ । पालिकाबाट ६९ करोड ३३ लाख ७५ हजार रकम पहिलो किस्ताबापत भूकम्प प्रभावितलाई बाँडिएको छ । स्थानीय तहबाट रकम प्राप्त गर्ने लाभग्राहीको संख्या २७ हजार ७ सय ३५ रहेको छ ।
जिल्ला प्रशासन रुकुम पश्चिका अनुसार अहिलेसम्म जिल्लामा लाभग्राहीको संख्या २९ हजार ४ सय ६ पुगेको छ । जिल्लामा १६ हजार ३ सय ४६ टहरा निर्माण भएका छन् । ७ हजार ४ सय ९७ टहरा निर्माणका क्रममा छन् । जिल्ला विपद् कोषबाट स्थानीय विपद् कोषमा ७३ करोड ५१ लाख ५० हजार रकम गएको छ । स्थानीय विपद् कोषबाट २६ हजार ५ सय ७३ लाभग्राहीले राहत पाएका छन् । अहिलेसम्म ६६ करोड ४३ लाख २४ हजार रुपैयाँ स्थानीयको खातामा गएको सहायक प्रजिअ प्रवेश बडुवालले बताए । उनका अनुसार प्रहरीले अझै मुचुल्का उठाउने काम गरिरहेको छ । लाभग्राहीको संख्या अझै बढ्न सक्ने उनले बताए ।